राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा ९ करोडभन्दा बढीको अवैध कारोवार गर्ने विरुद्ध मुद्दा दायर

मेचीकाली संवाददाता

१० श्रावण २०८२, शुक्रबार
42 shares

बुटवल। राजस्व अनुसन्धान विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवलले अवैध तस्करी तथा करछलीको विरुद्धमा अर्को ठूलो कारबाही गरेको छ । पछिल्ला केही महिनायता जारी कारबाहीले तस्कर र कर छल्नेहरूको मनोबल कमजोर बनाउने संकेत देखिएको छ। कार्यालयले गरेको अनुसन्धानको आधारमा, स्थानीय व्यवसायी अजय बैंगल स्टोरले पशुपंक्षी आहाराका नाममा गलत विवरण पेश गरी करोडौँ रुपैयाँ बराबरको कर छलि गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ ।

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छली सम्बन्धी अभियोेगपत्रअनुसार, अजय बैल्बस स्टोरले भारतबाट पशुपंक्षी आहाराको नाममा गलत विवरणमा सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको थियो।
अनुसन्धानका क्रममा कूल ९, करोड ९९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ बराबरको कारोबारमा कर छुटाउन खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु. ४ करोड ८३ लाख २५ हजार ८ सय ८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो र जरिवाना गरि उक्त रकम असुल गर्न र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले सम्बन्धित व्यवसायी अजय बैंगल स्टोर विरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोगपत्र शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल ईजलासमा दर्ता गराएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

गैरकानुनी रूपमा व्यापार गर्दै आएका समूहहरूको खोजी, निगरानी र कानुनी कारबाहीका लागि कार्यालयले विशेष अभियान नै चलाउँदै आएको छ ।
तस्करी र करछली गर्नेहरू कानुनी दायरामा ल्याउनेगरि अनुसन्धान भइरहेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको भनाइ छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार,`राजस्व सुरक्षाका निम्ति हाम्रो टोली निरन्तर सक्रिय छ र यस्ता कारबाही अझ तीव्र बनाईनेछ ।’