राजपुर खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

मेचीकाली संवाददाता

१२ श्रावण २०८२, आईतवार
97 shares

–स्वच्छ र प्रयाप्त पानी वितरणको प्रतिवद्धता
–हरियाली प्रबद्र्धन र पानीका स्रोत संरक्षणमा ध्यान दिन अर्थमन्त्रीको आग्रह

बुटवल । २०७६ सालमा शिलान्यास भइ २०७७ माघ २५ गते निर्माण सम्पन्न भएको तामनगर राजपुर खानेपानी आयोजनालाई थप संरचना निर्माणसंगै पाँच वर्षपछि विधिवत् रुपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा र प्रदेश एवम् पालिकाका जनप्रतिनिधिको उपस्थितिमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगिकुटीले हालै विधिवत् रुपमा आयोजनाको हस्तान्तरण गरेको हो ।

त्यसक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सामाजिक विकास र भौतिक विकासका कार्यहरु गर्दा दलीय र राजनैतिक चिन्तनभन्दा माथि उठेर काम गर्न जोड दिए । बुटवल–१२ तामनगरमा करिब ५ करोडको लागतमा निर्माण भएको राजपुर खानेपानी आयोजनाको स्वामित्व ग्रहण गरेका उपभोक्ता समितिलाई अर्थमन्त्री पौडेलले पानीका स्रोतको संरक्षण, सरसफाई, हरियाली प्रबद्र्धन र उपभोक्ता हीत लक्षितका कार्यक्रममा ध्यान दिन आग्रह गरे ।

उपभोक्ता समितिका तर्फबाट अध्यक्ष जितबहादुर राहाडीले उपभोक्तालाई सहज, स्वस्च्छ, सफा र प्रयाप्त पानी उपलव्ध गराउने र सरसफाईमा अनुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरे । २०७३ सालमा केही अगुवा स्थानीयहरु मिलेर पानीको जोहो गरि सञ्चालनमा ल्याइएको यो संस्थाको दर्ता भने २०६३ साल असोज २४ गते भएको थियो ।

विसं.२०७५ पुस २२ गते समिति गठन गरि व्यवस्थित टंकी निर्माणका काम सुरु भएका थिए । प्रदेश सरकारका प्रथम भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले २०७६ साल जेठ १४ गते पानी टंकीको शिलान्यास गरेका थिए ।
करिब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न सो आयोजना नेपाल सरकारको सशर्त अनुदानअन्तर्गत लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा सुरु भएको सो आयोजना गत आर्थिक २०८१/०८२ मा सम्पन्न भएको प्राविधिक ईश्वरी आचार्यले जानकारी गराए ।

कुल १ लाख लिटर क्षमताको १ सय घनमिटर ठुलो ट्यांकीसहित वितरण प्रणाली आदी निर्माण सम्पन्न भई १३३५उपभोक्तालाई सहज तरिकाले पानी वितरण गरिएको अध्यक्ष राहाडीले जानकारी दिए । संस्थाका कोषाध्यक्ष कल्पना आचार्यले पानी वितरणका साथै सरसफाई, मुहान र पानीका प्राकृत्तिक स्रोतको संरक्षण, चारपाला सामुदायिक वनसंगको सहकार्यमा हरियाली प्रबद्र्धनका समेत कार्यक्रम निरन्तर जारी रहेको बताइन् ।

स्वामित्व हस्तान्तरणका लागि आयोजित समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, समाजसेवी उदयराज काफ्ले, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीलगायतले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व रहेको उल्लेख गर्दै यसको उचित व्यवस्थापनका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव यमकान्त चापागाइँले गरेका थिए ।