

विष्णु भगवती रिसाल
नेपालकै केही ग्रामीण क्षेत्र विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम जिल्लाहरूमा अझै पनि महिनावारीलाई अशुद्ध मान्ने र महिलालाई घरपरिवारबाट अलग्गै राख्ने प्रचलन कायम छ । ‘छाउपडी’ भनेर चिनिने यो कुप्रथा कानुनले प्रतिबन्ध लगाए पनि व्यवहारमा उस्तै छ । अन्धविश्वास, धार्मिक अन्धभक्ति र पुरानो सोचका कारण महिलाहरूले आफ्नो जीवन नै जोखिममा पार्नुपरेको पीडा आज पनि समाप्त भएको छैन । हालैको एउटा घटनामा महिनावारीको समयमा अलग्गै बस्न बाध्य भएकी एक युवतीको सर्पदंशका कारण मृत्यु भएको समाचारले फेरि यो प्रथाले कति ज्यान लिइसकेको छ भन्ने प्रश्न उब्जाएको छ । यसअघि पनि छौपडी प्रथाका कारण दमघुटिएर, चिसोले ज्यान गएको र सर्पदांशका घटनाहरू बारम्बार दोहोरिएका छन् ।
महिलाहरूको अधिकार र मानव अधिकारको दृष्टिले छाउपडी प्रथा तथा पूर्णरूपमा अमानवीय छ । महिनावारी प्राकृतिक प्रक्रिया हो, तर यसलाई अपवित्र मान्ने सोचले महिलाहरूलाई समाजबाट बहिष्कृत बनाएको छ । कतिपय ठाउँमा महिलाहरूले विरोध गर्न खोज्दा परिवार र समाजको दबाबले चुप लाग्नुपर्ने अवस्था छ । पुरुष प्रधान सोच र धार्मिक अन्धविश्वासले महिलाहरूको आवाज दबाइरहेको छ । महिनावारीलाई अझै पनि गाउँघरमा अशुद्ध र अपवित्र मानिन्छ । महिलाहरूलाई घरको भान्सा, मन्दिर, दूधजन्य खानेकुरा र पवित्र ठानिने वस्तु छुन निषेध गरिन्छ । कतिपय ठाउँमा त उनीहरूलाई पशुगोठ, पर्खालको कुनो, वा झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तै अलग्गै बसाइको क्रममा उनीहरूले मुसा, सर्प, जङ्गली जनावर जस्ता जोखिम झेल्नुपर्छ । सर्पदंश, ज्वरो, चिसो र सङ्क्रमणले गर्दा धेरै महिलाहरूको ज्यान गएको तथ्याङ्क खुलेको छ । तर यस्ता घटनामा दोष कसलाई दिने? समाजलाई के पुरानो सोचलाई ?
महिला अधिकारका बारेमा प्रायः महिलाहरूले मात्र लेख्दै आएका छन् । तर, पुरुषहरूले पनि यसमा चासो दिन र आफ्नो समुदायको कमजोरीहरू माथि निर्मम हुन आवश्यक देखिन्छ । सन् १९१५ मा गरिएको अध्ययनअनुसार कैलाली र बर्दिया जिल्लाका करिब २१ प्रतिशत महिलाहरू अझै छौपडी प्रथामा बस्छन् । विद्यालय जाने उमेरका कोशोरीहरूले मासिक धर्मको समयमा हप्ता दिनसम्म पढाइ छुटाउनुपर्ने बाध्यता छ । कतिपय किशोरीहरूले लाज र अपमानको डरले विद्यालय जानै छोड्ने गरेका छन् । मासिक धर्मको समयमा पोषणयुक्त खाना खान नपाउने, चिसोमा बस्नुपर्ने र कुनै आपतकालीन स्वास्थ्य सेवा उपलब्ध नहुनुले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ । यसका साथै एक्लै असुरक्षित गोठमा बस्दा महिलाहरू यौन दुव्र्यवहार र बलात्कारको सिकार बन्ने जोखिम पनि उत्तिकै हुन्छ ।
नेपालको सर्वोच्च अदालतले २००५ मा छाउपडी प्रथालाई गैरकानुनी घोषणा गरेको थियो । त्यसपछि मुलुकी अपराध संहिता, २०७४ ले छाउपडी प्रथालाई अपराधको रूपमा परिभाषित गर्दै यस्तो व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा ३००० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर कानुन बनेको लामो समय बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन जनचेतनाको कमी, गहिरो सांस्कृतिक विश्वास र राजनीतिक इच्छाशक्तिको अभावका कारण कानुन कार्यान्वयनमा चुनौती देखिएको छ ।
चिन्ताजनक विषय त यो छ कि छाउपडी प्रथाको अन्धविश्वास नयाँ र शिक्षित पुस्तामा पनि कायमै रहेको पाइएको छ । गाउँका व्यक्ति र जागिरे महिलाहरू समेत महिनावारी हुँदा आफै संस्कार उन्मुलनमा थप चुनौती थपिएको छ । यसले छौपडी प्रथा केवल अशिक्षा र गरिबीको माथि नभई यसको जरो सामाजिक र सांस्कृतिक मान्यतामा गहिरोसँग गाडिएको देखाउँछ । ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको पहुँच कमजोर छ र पीडित महिलाहरूले उजुरी गर्न डराउँछन् । परिवार र समाजको डरले कसैले कानुनी प्रक्रिया अगाडि बढाउन सक्दैन । यसकारण कागजमा मात्रै कानुन भएको र व्यवहारमा अझै पुरानै अन्धविश्वास चलेको यथार्थ छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कि २८ वर्षीय कमला औँची दमाईको ज्यान महिलावारीको गोठमै सुत्दा गएको छ । गत आइतबार राति गोठमै सुतिरहेकी कमलालाई सर्पले टोकेपछि अस्पताल लैजाने प्रयास गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कमलाको श्रीमान् भारतको सुरतमा मजदुरी गर्छन् भने उनका सासूससुरा रोपाइमा व्यस्त थिए । महिनावारी भएको कारण उनलाई घरभन्दा करिब २०–३० मिटर टाढा रहेको गोठमा बस्न बाध्य पारिएको थियो । मृतककी छिमेकी जानकी चौधरी भन्छिन्, ‘हामीले त धेरैपटक भनेका थियौँ, गोठमा नबस, यो कुप्रथा हो । तर गाउँको चलन, समाजको डर र पुरानो बानीका कारण उनी बसिरहिन् ।’ यो घटना सुनेपछि गाउँकै रामबहादुर थापाले भने, ‘हामीले वर्षौंदेखि यसलाई परम्परा भनेर मान्दै आएका छौं । तर अब समय बदलिएको छ, यस्ता बारम्बार हुन थालेपछि यो चलन अन्त्य गर्नुपर्छ ।’ कमलाको मृत्यु यसअघि पनि पटकपटक देखिएको यस्तै घटनाको पुनरावृत्ति हो । २०१७ मा दैलेखकी १९ वर्षीय तुलसी शाहीको पनि यस्तै गरी गोठमै सर्वदंशले मृत्यु भएको थियो । त्यसबेला उनले अस्पताल पुग्नुअघि ७ घण्टा पीडा सहेर ज्यान गुमाउनु परेको थियो ।
महिनावारी महिलाको प्राकृतिक प्रक्रिया हो, तर यसलाई लिएर समाजमा अझै पनि अनेकौं गलत धारणाहरू जीवित छन् । प्राचीन सांस्कृतिक ग्रन्थहरूले यसबारे फरक दृष्टिकोण दिएका थिए । चरकसंहिता र सुश्रित संहिता जस्ता आयुर्वेदिक ग्रन्थहरूले महिनावारीलाई प्राकृतिक र स्वास्थ्यसँग सम्बन्धित प्रक्रिया मानेका छन् । चरकसंहितामा महिलाको महिनावारीलाई ‘स्वभाविक धर्म’ भनिएको छ भने सुश्रित संहितामा आराम, स्वच्छता र पौष्टिक खानामा जोड दिइएको छ । यी ग्रन्थहरुले महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएका थिए ।
तर धर्मशास्त्रहरू जस्तै मनुस्मृति र याज्ञवल्क्य स्मृतिले भने महिनावारीका बेला महिलालाई ‘रजस्वला’ भन्दा अलग बस्नुपर्ने, पूजास्थल नछुनुपर्ने र अरुले नछुनु पर्ने नियमहरु बनाए । यी नियमहरूले महिलालाई महिनावारीका बेला ‘अशुद्ध’ ठान्ने सामाजिक धारणा बलियो बनाए, जसको विकृत रूप अहिले पनि ग्रामीण समाजमा छाउपडी प्रथाका रूपमा जीवित छ । कञ्चनपुर, दैलेख र अछाम जस्ता स्थानमा महिलाहरू महिनावारीका बेला गोठमा बस्न बाध्य पारिदा सर्पदंश, चिसो र संक्रमणले ज्यान गुमाउने घटना अझै पनि भइरहेको छ । आधुनिक युगमा शिक्षा र प्रविधिको विकाससँगै सहर र सचेत वर्गमा यस्ता कुप्रथाहरूलाई चुनौती दिन थालेको छ ।
महिलाहरू महिनावारी बारे खुलेर बोल्न थालेका छन्, स्कुल र सामाजिक संस्थाहरूले स्वास्थ्य सम्बन्धी सचेतना फैलाइरहेका छन् । यसरी प्राचीन ग्रन्थहरूबाट उत्पन्न गलत व्याख्याले आधुनिक समाजमा पनि महिलाहरूको जीवन जोखिममा परेको छ । अब शिक्षा, चेतना र सही जानकारीको माध्यमबाट मात्र यो कुप्रथा अन्त्य गर्न सकिन्छ । महिलालाई सम्मान र सुरक्षित वातावरण दिनु समाजको नैतिक कर्तव्य हो । महिनावारी कुनै अशुद्ध होइन, यो प्रकृतिले महिलालाई दिएको जीवनदायी उपहार हो ।
तर दुःखको कुरा के छ भने, आज पनि हाम्रो समाज पुरानो अन्धविश्वास र कुप्रथामा जकडिएको छ, जसको प्रत्यक्ष परिणाम महिलाहरूको ज्यान जानु हो । कञ्चनपुरकी कमला औँजी दमाई, दैलेखी तुलसी शाही जस्ता निर्दोष महिलाहरूले केवल महिनावारीका कारण गोठमा बस्न बाध्य पारिदा ज्यान गुमाउनु परेको तथ्य अत्यन्त पीडादायी र लज्जास्पद छ । अब समय अन्धविश्वास र पुरानो परम्परालाई प्रश्न गर्ने हो। आयुर्वेदले नै हजारौं वर्षअघि महिनावारीलाई र स्वास्थ्यसँग सम्बन्धित प्रक्रिया भनेको थियो, तर धर्मशास्त्रको गलत व्याख्याले महिलालाई अपवित्र ठान्ने सोच जन्मायो। यस सोचले नै छाउपडी जस्तो अमानवीय कुप्रथालाई जरा गाड्न मद्दत गर्यो ।
हामी सबैको जिम्मेवारी छ, राज्यले कानुनलाई कठोरताका साथ लागू गर्नुपर्छ, स्थानीय तह र समुदायहरूले शिक्षा र चेतना फैलाउनुपर्छ, र परिवार र समाजका हरेक सदस्यले महिलालाई सम्मान र सुरक्षित वातावरण दिनुपर्छ । एउटा सानो सोचको परिवर्तनले सयौं महिलाको ज्यान बचाउन सक्छ । कमला र तुलसी जस्ता निर्दोष महिलाहरूको बलिदान व्यर्थ जान नदिन हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । यसरी मात्र हामी आधुनिक, वैज्ञानिक र मानवतावादी समाज निर्माण गर्न सक्षम हुनेछौं । भबतु सब्ब मङ्गलम ! (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफलको बि.ए.एल्.एल्.बि. चौथोे सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)