

सामना के.सी.
वृक्ष अर्थात् रुख प्रकृतिको एक अनुपम र अनमोल उपहार हो । रुख रोप्नु भनेको जीवन रोप्नु हो । वृक्ष रोप्नु केवल पर्यावरणीय काम मात्र नभई आध्यात्मिक, पौराणिक र कर्मिक हिसाबले पनि महत्वपूर्ण कार्य हो । हामीलाई बाँच्नका लागि अक्सिजन, खाना, जल, छायाँ, काठ, औषधी र वातावरणीय सन्तुलन आवश्यक पर्छ । अनि यि सबै कुराको मूल स्रोत रुख नै हो । त्यसैले वृक्षारोपण मानव जीवनका लागि अत्यन्त आवश्यक कार्य हो । बौद्ध दर्शन अनुसार, वृक्ष रोपण गर्दा जीवनमा सकारात्मक ऊर्जा, मानसिक शान्ति, र आध्यात्मिक उन्नति प्राप्त हुने विश्वास गरिन्छ । बौद्ध दर्शनले “कर्म” को सिद्धान्तमा विश्वास गर्छ । वृक्षरोपण एक शुद्ध कर्म साथै अहिककसा, करुणा र परोपकार मुख्य सन्देश हो । अष्टाङ्गिक मार्गमा रहेको “सम्यक आजीविका” र “सम्यक कर्म” सँग पनि रूख रोप्ने कार्य मेल खान्छ , वृक्ष रोप्नु एउटा ठूलो परोपकारी कार्य हो जसले अनगिन्ती प्राणीलाई लाभ पुर्याउँछ ।
प्रत्येक रूखमा आत्मिक कम्पन हुन्छ । जब हामी रूख रोप्छौं र त्यसको सेवा गर्छौं, हामी प्रकृतिसँग, आफ्नो आत्मासँग, र ब्रह्माण्डीय ऊर्जासँग मिलन गर्छौं । जसरी बोधिवृक्षले भगवान बुद्धलाई ज्ञान प्राप्त गरायो, यो बौद्ध दृष्टिकोणबाट रूखको गहिरो महत्व प्रमाणित गर्छ ।
रुखहरूको जीवन चक्रसँग मानव मात्र होइन, सम्पूर्ण जीवधारी गहिरो रूपमा सम्बन्धित छन् । रुखले कार्बनडाइअक्साइड सोस्छन् र अक्सिजन उत्पादन गर्छन् । एउटा पूर्ण विकसित रुखले दिनभरि पाँचदेखि सात मानिसलाई चाहिने अक्सिजन दिन सक्छ । जीवनको अस्तित्वको आधार अक्सिजन भएकाले रुख प्रत्यक्ष रूपमा जीवनदाता हुन् । फलफूल, काठ, जडिबुटी तथा अन्य वनस्पतिहरूले मानिसको जीवनयापनमा आर्थिक सहायता पुर्याउँछन्। ग्रामीण क्षेत्रमा धेरै मानिसहरूको जीविका रुखसँग जोडिएको हुन्छ। साथै रुख वातावरणीय सौन्दर्य र मानसिक स्वास्थ्यका लागि पनि उपयोगी छन् । साथै रुखहरूले पृथ्वीको तापमान सन्तुलनमा राख्न ठूलो भूमिका खेल्दछन्। तिनीहरूले ‘ग्रीनहाउस’ ग्यासहरू अवशोषण गरी जलवायु परिवर्तनको असर कम गर्छन् । आज विश्वमा तापक्रम तीव्र रूपमा बढ्दै गएको छ, विकासको नाममा भएको क्षतिले वातावरण सन्तुलनलाई विगार्नको साथै वृक्षहरु नष्ट हुदै गएका छन् । उदाहरणका निम्ति हाल ‘हाइवे’ विस्तारका नाममा सदियौंदेखि बाटोको किनारमा लगाइएका बोटविरुवाहरुको करुणाविहीन ढङ्गबाट बिनास गरिएको छ । जसले गर्दा एकैपटक हजारौँ संख्यामा बोटविरुवाहरु नष्ट भएका छन् । ति वृक्षहरुले विश्राम गर्न होस् या गाडिको पर्खाई केहि क्षण भएपनि आन्नदित पुराएका थिए।तर वृक्षको कटाईसँगै ति पनि नष्ट भएको पाईन्छ ।
पूर्वीय सभ्यता अनुसार प्रकृति र मानवको सम्बन्ध आध्यात्मिक थियो । जसमा मानिसहरुले धर्मको नाममा भए तापनि आफ्नो जीवनशैली रुखसँग समाहित गरेका थि शए । मठ, मन्दिर, पाटी, पौवा र घर आसपास रुख लगाउने चलन थियो । पञ्चवटी अर्थात् पाँच पवित्र वृक्षहरू लगाउने संस्कार थियो । पीपल, बर, बेल, अशोक र आमला जसको आफ्नै महत्व छ भने वातावरण कायम राख्न होस् या जीवन आर्जन गर्न, त्यो शिक्षाले आजका दिनसम्म महत्व भुमिका रचेको पाईन्छ । पुराण र वेदहरूमा उल्लेख छ “एक वृक्ष दश पुत्र समान” अर्थात् एक रूख दस सन्तान बराबर पुण्यदायी हुन्छ । ब्रह्माण्डमा रहेका सबै ग्रहहरू लगातार पृथ्वीमा प्रभाव पारिरहेकै छन् । हाम्रो शरीर र मनमा पनि सूक्ष्म रूपमा ती ग्रहहरूको ऊर्जा चलिरहन्छ । जस अनुसार, हाम्रो जन्मको समयमा ग्रहहरूको स्थिति अनुसार नै हाम्रो रासि तय हुन्छ । जसको माध्यमबाट ती ग्रहहरूले हाम्रो जीवनमा प्रभाव पार्छन् । जब हामी रासि अनुसार रूख रोप्छौं, त्यो रूखमा रहेको ऊर्जा त्यसै ग्रहसँग सम्बन्धित हुन्छ । यसरी रूख–ग्रह–व्यक्ति–ब्रह्माण्ड बीच एक ऊर्जात्मक सन्तुलन बन्छ ।
बौद्ध दर्शन र वैदिक चिन्तन दुवैका अनुसारः “हामी पृथक होइनौं, हामी ब्रह्माण्डकै अंश हौं । जब हामी रूख रोप्छौं, हामी आफूलाई प्रकृतिसँग जोड्छौं । प्रकृति भनेको ब्रह्माण्डको अभिव्यक्ति हो।यसरी रूख रोप्नु ब्रह्माण्डीय चेतनासँग आत्मा मिलाउने कार्य हो । रूखमा बस्दा, ध्यान गर्दा, वा सेवा गर्दा, तपाईं त्यो विशेष कम्पनमा सामेल हुनुहुन्छ । त्यो कम्पन तपाईंको चक्र प्रणालीसँग मेल खाएर तपाईंसँग ब्रह्माण्डीय ऊर्जा प्रवाह बनाउँछ । बौद्ध धर्मका पाँच मूल सिद्धान्तहरू अर्थात पन्चशील मध्ये एक होः अहिंसा । जसको अर्थ हो कुनै पनि जीवलाई हानि नगर्ने प्रतिज्ञा । वृक्ष रोप्नु भनेको जीवनको संरक्षण गर्नु हो । बौद्ध शिक्षामा करुणा सबैभन्दा उच्च मूल्य हो । वृक्ष रोप्दा हामी सारा प्राणीका लागि अक्सिजन, खाना, बासस्थान, छायाँ प्रदान गर्छ । बुद्धले भन्नुभएको छः “इदं अस्ति तस्मिं सति; इदं नास्ति तस्मिं न सति ।” अर्थात् हरेक एक चीज अर्कोमा निर्भर भएर उत्त्पन्न हुन्छ। यदि वृक्ष छन् भने वर्षा हुन्छ; यदि वर्षा हुन्छ भने अन्न फल्छ; यदि अन्न फल्छ भने जीवन चल्छ । त्यसैले वृक्षारोपण प्रतीत्यसमुत्पादको वास्तविक अभ्यास हो । रुख नष्ट गर्नु भनेको लाखौँ सूक्ष्म जीवको बासस्थान नष्ट गर्नु हो । यो हिंसा हो भन्ने तथ्य पनि देख्न सकिन्छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधिवृक्ष बौद्ध धर्ममा पवित्र्ताको प्रतीक हो । यो “ज्ञान”, “साक्षात्कार”, र “मुक्ति” को बिम्ब हो । यसले वृक्षको आध्यात्मिक महŒव पुष्टि गर्छ ।
आजको २१ औँ शताब्दी प्रविधि, विकास र शहरीकरणको युग हो । तर, तीव्र विकासको नतिजा स्वरूप पृथ्वीले प्रदूषण, जलवायु संकट, प्राकृतिक विपत्ति र जैविक विविधताको ह्रास भोगिरहेको छ । शहरहरूमा धुलो, धुँवा, सवारीको चाप, र कम अक्सिजनले गर्दा स्वासप्रश्वास र छाला सम्बन्धी समस्याहरू बढेका छन् । साधै नेपालको संबिधान २०७२ को धारा ३० मा पनि व्यवस्था गरेको छ कि सम्पुर्ण नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । वृक्षहरू æNatural Air Purifier हुन् जसले PM २.५ कण सोस्छन्, हानिकारक ग्यासहरू घटाउँछन् । नेपाल जैविक विविधता र वनस्रोतमा धनी राष्ट्र हो । देशको करिब ४५% भूभाग वन क्षेत्रले ढाकेको छ । तर पछिल्ला वर्षहरूमा अवैध वन फडानी, आगलागी, जलवायु परिवर्तनका कारण वन विनाश भएको छ । जमिन सुक्खा, बाँझो र मरुभूमी बन्न थाल्छ, जसले कृषि उत्पादनमा गिरावट ल्याउँछ । यस्तै, बाढी, पहिरो र अत्यधिक तापमानका घटनाहरू बढ्ने खतरा रहन्छ । यसको प्रत्यक्ष असर जनजीवनमा पर्छ ,मानिसको स्वास्थ्य, खाद्य सुरक्षासँगै आर्थिक अवस्था पनि कमजोर हुँदै जान्छ । त्यसैले २१ औँ शताब्दीको सन्दर्भमा वातावरण जोगाउन र भावी पुस्ताको सुरक्षाका लागि वृक्षारोपण अत्यावश्यक र अविलम्ब गर्नुपर्ने कार्य हो । यस्ता समस्याको समाधानका लागि सरकारी, गैरसरकारी तथा स्थानीय स्तरमा वृक्षारोपण कार्यक्रमहरू चलाउन उत्तिकै आवश्यक छ । मधेश प्रदेशमा पानी नभएका कारण कृषकहरु मर्कामा परेका छन ज्सको मुल कारण सिधा वातावरणसककग जोडिएको छ । वृक्ष नभएकै कारण जल स्रोतमा कमि भएको हो र अन्नवाली उब्जाउनमा कठिनाई आएको पाईन्छ । भिर पखेरामा झन बढी पहिरो जाने जस्ता समस्या सिर्जना भएका छन् । परिवर्तन र विकासको नाममा भएका कार्यले वातावरणमा समस्या तुल्याएको छ, जसले गर्दा मानिसको ज्यान जाने सम्म भएको हामी सबैले देख्न सक्छौं । गतबर्ष काठमाडौंमा गएको बाढीले अनेकौं मानिसको ज्यान गएको थियो ।
तसर्थ वृक्षरोपण केवल हरियालीको लागि मात्र नभई, सम्पूर्ण वातावरण र मानव अस्तित्वको लागि अनिवार्य छ । स्वस्थ वातावरण चाहन्छौँ भने वृक्ष रोप्नुपर्छ, संरक्षण गर्नुपर्छ । रोपण मात्र नभई संरक्षण गर्नु उत्तिकै आवश्यक छ । एक वृक्ष काट्दा दस वृक्ष बराबरको वृक्षरोपण गर्नुपर्छ। त्यसैले सबै एकजुट भई रोपण गरौं, जिवन बचाऔं । “वृक्ष रोपौं, सुख शान्ति प्रदान गरौं ।” (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल अन्तर्गत बि.ए.एल्.एल्.बि.चौथो सेमेस्टरमा अधय्यनरत विद्यार्थी हुन् ।)