डिजिटल क्रान्तिः युवाका लागि अवसर वा जोखिम ?

मेचीकाली संवाददाता

१५ श्रावण २०८२, बुधबार
267 shares

अनिल पाण्डे

नेपाल अब सूचना र प्रविधिको क्रान्तिमा प्रवेश गरिरहेको मुलुक हो । आज नेपाली युवाको हातमा स्मार्टफोन, घरमा वाइफाइ र मनमा स्टार्टअपको सपना पलाइरहेको छ । यही प्रविधिको सहायताले अब एक जना युवा काठमाडौँमै बसेर अमेरिकी कम्पनीका लागि कोड लेख्न सक्छन् ।

अर्कोतर्फ, त्यही प्रविधिको दुरुपयोग गर्दा सरकारी वेबसाइट ह्याक गरेर जेल जान पनि सकिन्छ । प्रविधि नै सम्भावना हो र चुनौती पनि । आजको डिजिटल युग नेपालका युवाहरूलाई स्वर्णिम भविष्यतर्फ डो¥याउँछ कि डिजिटल अराजकतातर्फ, यस प्रश्नको उत्तर अब हाम्रो सोच र कार्यशैलीमा निर्भर छ ।

नेपालमा पछिल्ला केही वर्षमा डिजिटल सेवाको पहुँच उल्लेखनीय रूपमा बढेको छ । अब नागरिकहरूले पासपोर्ट आवेदन, सवारी चालक अनुमतिपत्र, बिजुली बिल, बैंकिङ सेवा जस्ता कामहरू घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत गर्न थालेका छन् । टेलिमेडिसिनको माध्यमबाट दुर्गम गाउँका बिरामीहरूले काठमाडौँका विशेषज्ञहरूसँग परामर्श लिन सक्ने व्यवस्था बनिसकेको छ । यसले शहरी केन्द्रमा मात्र सीमित सेवा अब गाउँसम्म विस्तार गर्ने संकेत दिन्छ ।

युवाहरूका लागि डिजिटल प्रविधिले रोजगारीको नयाँ संसार खोलिदिएको छ । फ्रीलान्सिङको माध्यमबाट नेपालीयुवाहरूले Fiverr, Upwork, Freelancer जस्ता प्लेटफर्ममा काम गरेर महिनामा सयौँ डलर आम्दानी गर्न थालेका छन् । यसैगरी Foodmandu, Khalti, SastoDeal  जस्ता स्टार्टअप कम्पनीहरूले प्रविधिमा आधारित व्यवसायिक सम्भावना नेपालमै पनि सम्भव छ भन्ने प्रमाणित गरेका छन् । यस्तो “ल्यापटप इकोनमी“ ले नेपालमा बसेरै विदेशी मुद्रा आर्जन गर्ने युवाको संख्या बढाउँदै छ ।

यसका अतिरिक्त प्रविधिको क्षेत्रमा AI, Web Development, App Design, Cyber Security जस्ता नयाँ विधामा हजारौँ युवा आकर्षित भइरहेका छन् । Huawei, Fusemachines ​​​​​​​ जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमै निःशुल्क तालिम दिने जस्ता पहल सुरु गरेका छन् । अब Python, JavaScript, Machine Learning जस्ता सीप भएका नेपाली युवाहरूले स्वदेशमा नै बसेर घरमै बसेर काम गर्न सक्ने स्थितिमा छन् ।

तर, प्रविधिको उज्यालो छायाँसँगै केही गहिरा अन्धकार पनि लुकेका छन् । हालै सरकारी वेबसाइटहरू, विश्वविद्यालयको डाटाबेस र बैंकिङ पोर्टलहरूमा साइबर हमला भएका खबरहरूले सम्पूर्ण राष्ट्रलाई झस्काएका छन् । हैकर समूहहरूले नेपाललाई ‘कमजोर डिजिटल सुरक्षा भएको देश’का रूपमा हेर्न थालेका छन् । साइबर अपराधको बढ्दो संख्या र कानुनी संरचनाको कमजोरीले गर्दा डिजिटल नेपाल अहिले जोखिमपूर्ण बिन्दुमा उभिएको छ ।

अर्को गम्भीर समस्या भनेको डिग्री र सीपको गहिरो अन्तर हो । CSIT, BCA, BIM जस्ता कोर्सहरू पढेका सयौँ युवाहरू बेरोजगार छन्, किनकिउनीहरूसँग व्यवहारिक सीप छैन । धेरै फर्जी तालिम केन्द्रहरूले ‘६ महिनामा सफ्टवेयर इन्जिनियर बनाइदिन्छौँ’ भन्दै युवाहरूलाई भ्रममा पारेका छन् । तिनको शिक्षा सतही, अभ्यासविहीन र झुठको भरमा सञ्चालित हुन्छ । जसकाकारण युवाहरू डिग्री त बोक्छन्, तर कुनै वास्तविक ज्ञान वा दक्षताबिना रोजगारीको बजारमा संघर्ष गर्न विवश हुन्छन् ।

डिजिटल क्रान्तिले ल्याएको अर्को चुनौती भनेको गाउँ -शहर बीचको असमानता हो । काठमाडौं उपत्यकामा 5G नेटवर्क परीक्षण सुरु भइसकेको छ भने देशका अन्य ग्रामीण भेगहरूमा अझै मोबाइल सिग्नलसमेत नपुग्ने अवस्था विद्यमान छ । धेरै सरकारी विद्यालयहरूमा कम्प्युटर राखिए पनि शिक्षकहरूलाई चलाउन आउँदैन । यसले डिजिटल विभाजनलाई झनै फराकिलो बनाउँदै लगेको छ ।

प्रविधि प्रयोगसँगै सामाजिक र मानसिक असरहरू पनि देखा पर्न थालेका छन् । सामाजिक सञ्जाल, गेमिङ, यूट्युब, र अनलाइन लततिर युवाहरूको समय, ध्यान र ऊर्जा बर्बाद भइरहेको अवस्था छ । धेरै युवाहरू समयको सदुपयोग गर्ने सट्टा डिजिटल प्लेटफर्महरूमा लट्पटिएर निरर्थक प्रतिस्पर्धा र आभासी जीवनमा अल्झिएका छन् । यसले न त उनीहरूको भविष्य बनाउँछ, न समाजलाई केही दिन्छ ।

यसैबीच संसदमा पनि डिजिटल नीति र साइबर अपराध सम्बन्धी बहसहरू देखिन थालेका छन् । गगन थापाले सार्वजनिक रूपमा साइबर अपराध ऐन तत्काल सुधार गर्नुपर्ने आवाज उठाएका छन् भने प्रविधि विश्लेषक राजेन्द्र पाण्डेले युवालाई कलेज डिग्रीभन्दा पहिले Python ​​​​​​​ जस्ता कोडिङ भाषा सिक्न आग्रह गरेका छन् । सरकारले पनि ‘डिजिटल नेपाल फ्रेमवर्क’, “æIT Policy ​​​​​​​२०७६” र æNational Cyber Security PolicyÆ जस्ता नीति कागजातहरू निर्माण गरिसकेको छ । तर, ती नीति कागजमा सीमित भएर बस्नुको साटो व्यवहारमा लागु हुने समय अब आएको छ ।

अहिलेका युवाहरूका लागि यो समय निर्णयको घडी हो । उनीहरूले चाहँदा GitHub मा आफ्नो प्रोजेक्ट बनाउने, फ्रीलान्सिङ काम सुरु गर्ने, Ethical Hacking जस्ता वैध तरिकाबाट कमाउने वा प्रविधिको माध्यमबाट उद्यमी बन्ने बाटो रोज्न सक्छन् । चाहिँदा त्यही प्रविधिको गलत प्रयोग गरेर सामाजिक अव्यवस्था, अपराध र निराशाको सिकार बन्न पनि सक्छन् ।

नेपाल अहिले प्रविधिको दोबाटोमा छ -जहाँबाट हामी चाहिँ उभो लाग्न सक्छौँ, वा अल्झिएर पछाडि पर्न सक्छौँ । हाम्रो देशको भविष्य प्रविधिमा निर्भर छ, तर त्यो प्रविधि कसरी प्रयोग हुन्छ भन्ने प्रश्न अझै खतरनाक छ । सहीनीति, व्यावहारिक शिक्षा र जिम्मेवार प्रयोगका साथ नेपाल डिजिटल एशियाको केन्द्र बन्न सक्छ । तर एक चेतावनी स्पष्ट छ- प्रविधि आफैँले राष्ट्र बिगार्दैन प्रयोगकर्ताको नियत र सोँचले बनाउँछ वा बिगार्छ ।