

तिलोत्तमा । पहाडबाट बसाइसराइ गरेर तराईमा आएका नागरिकलाई लक्षित गरेर वडाको टोली तराई आएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, बाट वडाअध्यक्षको नेतृत्वमा सचिव र प्राविधिकको टोली रुपन्देही आएको हो ।
रुरुक्षेत्र गाउँपालिका–५ बम्घाबाट बसाइसराइ गरी रुपन्देही र आसपासमा बसोबास गरिरहेका नागरिकका लागि तिलोत्तमामा विशेष प्रशासनिक सेवा शिविर सञ्चालन गरिएको वडाअध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित वडा कार्यालयमा आयोजित एकदिने शिविरमा जन्म, मृत्यु, नाता प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रदान गरिएको अध्यक्ष ज्ञवालीले बताए । शिविरबाट ७३ जना नागरिकले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् । शिविर रुरुक्षेत्र गाउँपालिका–५ को पहलमा, गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजको समन्वयमा र तिलोत्तमा नगरपालिका–१ को सहकार्यमा सञ्चालन गरिएको समन्वयकर्तामध्येका एक अगुवा प्रकाशलाल श्रेष्ठले जानकारी दिए ।

धेरै नागरिक रोजगार, पढाइ र व्यापारका सिलसिलामा शहरमै बस्न बाध्य भएको अवस्थामा सामान्य प्रशासनिक कामका लागि गाउँ जानुपर्ने बाध्यता हटाउन यो पहल गरिएको वडा अध्यक्ष ज्ञवालीको भनाइ छ ।
बम्घाबाटै तराई झरेर तिलोत्तमा–१को जननिर्वाचित प्रतिनिधिसमेत बनेका युवा नेता तथा वडाध्यक्ष फर्शुराम गिरीले जन्मस्थलबाट आएका नागरिकलाई लक्षित गरेर सेवा प्रवाह गर्ने काममा समन्वय गर्न पाउँदा खुशी लागेको बताए ।
यस प्रकारको समन्वयले सेवा गाउँ मात्र होइन, शहरमा रहेका नागरिकलाई पनि दिन सकिन्छ भन्ने उदाहरण पेश गरेको अध्यक्ष गिरीले उल्लेख गरे । सम्पर्क समाजका अगुवाहरु प्रकाशलाल श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, रुद्रप्रसाद ज्ञवाली तथा सरोज ज्ञवालीलेलगायतले शिविरका लागि समन्वय गरेका थिए ।
यो शिविरले जनसेवामा स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाएको मात्र होइन, बसाइँसराइले छुटेका नागरिकसमक्ष सेवा पु¥याउने नयाँ मार्ग पनि देखाएको सेवा लिन गएका सैनामैनाका युवा नवराज पुरीले बताए । उनले खासगरि ज्येष्ठ नागरिकलाई लक्षित गरेर यसप्रकारका सेवाहरुलाई बेलाबेलामा सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिए ।