

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले कार्यक्रमको उद्घाटन गरिन् । सोही अवसरमा बोल्दै उनले कर्मचारी आन्दोलनमा शहिदहरुले दिएको योगदानको चर्चा गर्दै ट्रेड युनियनको भूमिका र महत्वबारे स्पष्ट पारिन् ।

संघीय निजामती सेवा ऐनमा रहेका केही बुँदाहरुलाई मिलाएर भएपनि तत्काल ऐन आउने बताइन् । तीन तहलाई नै छुने गरी संघीय निजामती सेवा ऐन आउने उनको भनाइ थियो । लामो समय (कम्तीमा १० वर्ष) एउटै पदमा रहेका कर्मचारीहरुलाई एक श्रेणी वृद्धि हुने गरी ऐन ल्याउन सुझाव दिएको उनले बताइन् । दैनिक ज्यालादारी कर्मचारीहरुलाई वैज्ञानिक आर्थिक सुविधा दिएर बिदाई गर्नुपर्ने र नयाँ कर्मचारी भर्ना गर्न नहुनेमा उनले जोड दिइन् । सबै तहका कर्मचारीहरुलाई निजामतीको परिभाषामा समेट्नुपर्ने उनको भनाइ थियो । संगठनले पुस्तकालय सञ्चालनमा ल्याएको जानकारी गराउँदै उनले वेभसाइट व्यवस्थित गर्नेलगायतका अन्य कामहरु भइरहेको बताइन् ।

यस्तै कार्यक्रमका प्रशिक्षक त्रिभुवन विश्व विद्यालयका उ–प्राध्यापक वाइपी आचार्यले सूचना प्रविधिः जन अपेक्षा र निजामती सेवासम्बन्धि सहजीकरण गरेका थिए । उनले अहिलेको यूवा पुस्ता नयाँनयाँ प्रविधिसँग जोडिनुपर्ने तथा प्रविधिमैत्री नभई अघि बढ्न नसकिने कुरा औँंल्याउँदै अबको युग सूचना र प्रविधिको रहेको बताए । पछिल्लो समय नयाँनयाँ प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा फैलिने भ्रामक सुचनाबाट बच्न सचेत हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले संगठनको वार्षिक कार्यक्रमअनुसार प्रशिक्षण कार्यक्रम आयोजना हुने भएपनि स्मृति दिवसका अवसरमा विशेष उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरिएको बताए । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कार्यसम्पादन मूल्यांकनमा रूपन्देही शाखा उत्कृष्ट शाखा घोषणा भएकोमा उनले साथ र सहयोग गर्ने सबै कर्मचारी सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । साथै उनले आगमी दिनमा पनि संगठनको उचाइलाई माथि उठाउने गरी रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले निजामती सेवा ऐन तत्काल आउनुपर्ने बताए । कर्मचारीमुखी ऐन कानुन बनेमा मात्रै सेवा प्रवाहलाई थप शसक्त बनाउन सकिने उनले बताए । कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रूपन्देही ईन्चार्ज प्रेमप्रसाद खनालले संघीय निजामती सेवा ऐन समयमा नआउँदा समस्या भएको बताए । प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा गएको अबस्थामा केही बँुदा संसोधन गरेर भएपनि तत्काल ऐन ल्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कर्मचारी संगठन लुम्बिनी प्रदेश सह–ईन्चार्ज नारायणप्रसाद भणडारी, कर्मचारी संगठन नीति अनुसन्धान आयोगका सचिव काशीराम आचार्य, विज्ञान प्रविधि आयोग सदस्य खगराज उपाध्यक्ष, केन्द्रीय सदस्य रमेश पाण्डे, अन्जली पन्थी, नेकपा एमाले रूपन्देहीका सदस्य तथा पेशागत ईन्चार्ज मेघदेव पन्त, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कल्पना थापालगायतको उपस्थिति रहेको थियो ।

निजामती कर्मचारीहरुको हकहितका लागी संघर्षका क्रममा ज्यान गुमाएका खोटाङका मनोज जोशी, पोखराका झपेन्द कार्की तथा मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारको २०६४ माघ २२ को निर्णयबाट सहिद घोषणा गरिएपछि प्रत्येक वर्ष उनहिरुको स्मृतिमा कर्मचारी संगठनले साताव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दे आएको छ ।
कर्मचारी संगठन रुपन्देहीमा करिब १ हजार ७ सय कर्मचारीहरु आबद्ध रहेका छन् । कार्यक्रम कर्मचारी संगठन रूपन्देहीका उपाध्यक्ष जीवन पौडेलको स्वागत तथा सचिव पदम थापाको सञ्चालनमा सम्पन्न भएको थियोे ।