प्राकृतिक नियममा आधारित बौद्ध न्यायशास्त्रः धर्म र कानुनको संगम

मेचीकाली संवाददाता

१८ श्रावण २०८२, शनिबार
511 shares

चन्द्रिका आचार्य

सारा ब्रह्माण्ड प्राकृतिक नियमद्वारा सञ्चालित छ । हामीलाई कहिलेकाहीं नियम भन्ने शब्दले कठोरता वा नियन्त्रणको अर्थ दिने गर्छ, तर प्राकृतिक नियमले हामीलाई बाँध्न होइन, सहजीकरण गर्न खोजेको हो । यो कुनै लिखित कानुन होइन; यसले कानुनी र भौतिक नियमहरू मात्र होइन, नैतिक चेतना र आत्मिक अनुशासन पनि सिकाउँछ । यस्ता नियमहरू सार्वभौमिक, अपरिवर्तनीय र स्वतः स्फूर्त हुन्छन् ।

जब मानव सभ्यता चेतनाको उचाइतर्फ आरोहण गर्न थाल्यो, त्यसबेलादेखि धर्म, न्याय र कानुनबीचको सम्बन्धबारे गहन विमर्श सुरु भयो । संसारका विभिन्न सभ्यताहरूले न्यायको आफ्नै आधारहरू विकास गरे। जहाँ पश्चिमी दर्शनमा न्याय प्राकृतिक अधिकार, सामाजिक सम्झौता वा कानुनी प्रक्रियामा आधारित हुन्छ, त्यहाँ पूर्वीय चिन्तनमा न्याय र धर्मबीच घनिष्ठ सम्बन्ध पाइन्छ । यही सन्दर्भमा, बौद्ध दर्शनले विकास गरेको न्यायको अवधारणा आज पनि मानव सभ्यताका लागि बहुमूल्य वैचारिक सम्पत्ति बनेको छ । बौद्ध न्यायशास्त्रले प्राकृतिक नियमलाई आत्मसात् गर्दै सामाजिक न्याय, नैतिकता र वैधानिक संरचनाको आधार निर्माण गरेको छ । जसले धर्म र न्यायबीचको समुपयुक्त सम्योजन प्रस्तुत गर्छ ।

बौद्ध दर्शनको अवधारणा अनुसार प्राकृतिक न्याय कुनै बाह्य वा थोपिएको नियम होइन, बरु धर्म नामको एक जीवन्त र सक्रिय सिद्धान्त हो, जसले व्यक्ति र समाज दुवैको व्यवहारलाई समुचित नियमन गर्छ । मानव जगतको सुव्यवस्था, सामाजिक समानता र न्याय स्थापनाका लागि धर्म र कानुनलाई दुई प्रमुख आधार मानिन्छ । यी दुवै सैद्धान्तिक प्रणालीले मानव व्यवहारलाई मार्गदर्शन गर्ने विविध नियमहरू प्रदान गर्छन् । धर्म र कानुनी दर्शनको सम्मिलन नै बौद्ध न्यायशास्त्रको केन्द्रबिन्दु हो । यसले करुणा, आपसी निर्भरता, र नैतिक आचरणमा आधारित न्यायको साझा दृष्टिकोण प्रस्तुत गर्छ। बौद्ध दर्शन र न्यायशास्त्रबीचको सम्बन्ध अत्यन्तै गहिरो छ । उदाहरणका लागि, बौद्ध दर्शनको पञ्चशील सिद्धान्तले व्यक्तिलाई हिंसा, चोरी, असत्य, अनुचित यौनाचार, र मादक पदार्थ सेवनबाट टाढा रहन प्रेरित गर्छ, जसले समाजमा कानुनी र नैतिक शान्ति कायम गर्न सहयोग पु¥याउँछ । यस प्रकारको नैतिक शिक्षाले मानिसलाई जिम्मेवार, अहिंसात्मक, र आत्मानुशासित बनाउँछ। त्यसैले बौद्ध दर्शनले धार्मिक विश्वासको उल्लंघन, र सामाजिक असन्तुलन उत्पन्न गर्ने क्रियाकलापहरूबाट विमुक्त रहने आधार निर्माण गर्छ, जसले परस्परमा शान्ति, सुरक्षा, र आपसी समझदारीमा आधारित सम्बन्धहरूको विकासमा योगदान पु¥याउँछ ।

धर्म र कानुन दुवैको अन्तिम उद्देश्य मानव कल्याण र सामाजिक शान्तिको स्थापना हो । प्राकृतिक नियम र बौद्ध न्यायशास्त्रको समानताको संगम मुख्यतः मानव चेतना, नैतिक अनुशासन र करुणामा आधारित विधिको प्रणाली हो । प्राकृतिक नियमले मानव चरित्र, विवेक र साझा नैतिक मान्यतामा आधारित न्यायको समीक्षा गर्दछ, जसले व्यैयत्तिक समानता, र स्वतन्त्रता जस्ता मानव अधिकारहरूको संरक्षण गर्दछ । भने बौद्ध न्यायशास्त्रले सम्यक दृष्टि, करुणा र धर्ममा आधारित न्याय प्रणालीको परिकल्पना गर्दछ, जुन मानव सभ्यताको स्थायित्व र शान्तिको आधारस्तम्भ हो ।

प्राकृतिक नियम र बौद्ध न्यायशास्त्रलाई प्राकृतिक न्यायसँग पनि सशक्त रूपमा जोड्न सकिन्छ । प्राकृतिक न्यायका मूल सिद्धान्तहरू जस्तैः निष्पक्ष सुनुवाइ, पक्षपातरहित न्यायाधीश, र तर्कसंगत निर्णय, यी सबै बौद्ध दर्शनका मध्यम मार्ग, करुणा र प्रज्ञाका सिद्धान्तहरूसँग पूर्ण रूपमा मेल खान्छन् । बौद्ध परम्पराका अनुसार न्याय केवल कानुनी प्रक्रिया मात्र होइन; यो एक नैतिक कर्तव्य पनि हो, जसले समाजमा सद्भाव र शान्ति स्थापनामा योगदान पु¥याउँछ । बौद्ध न्यायशास्त्रले कर्मको सिद्धान्तलाई न्यायको आधार मानेको छ, जसअनुसार प्रत्येक व्यक्तिले आफ्ना कार्यहरूको उत्तरदायित्व लिनुपर्छ । यसले प्रतिशोधमूलक न्यायको सट्टा सुधारात्मक न्यायलाई प्राथमिकता दिन्छ, जुन प्राकृतिक न्यायको निष्पक्षताको भावनासँग अनुरूप हुन्छ । उदाहरणका लागि, बौद्ध दर्शनले दण्डभन्दा स्व–स्वीकार, पश्चाताप र क्षमालाई प्राथमिकता दिन्छ, जसले न्याय प्रणालीमा सुधारात्मक दृष्टिकोणको विकास गर्दछ ।

बौद्ध न्यायशास्त्र र प्राकृतिक न्याय दुवैले सामाजिक समानतालाई महत्त्व दिन्छन् । बौद्ध धर्मले जात, वर्ग र लिङ्गका आधारमा हुने भेदभावलाई अस्वीकार गर्छ, र प्राकृतिक न्यायले पनि सबै व्यक्तिलाई कानुनी रूपमा समान दृष्टिले हेर्ने सिद्धान्तलाई समर्थन गर्छ । नेपालको संविधानले पनि प्रत्येक व्यक्तिको स्वतन्त्रताको रक्षा गर्ने स्पष्ट प्रत्याभूति दिएको छ। नेपाल अधिराज्यको संविधान २०१५ को धारा ३(१), नेपालको संविधान २०१९ को धारा ११(१), नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२(१), र नेपालको अन्तरिम संविधान २०६३ को धारा १२(२) मा प्राकृतिक न्यायका सिद्धान्तहरूलाई संवैधानिक संरक्षण प्रदान गरिएको छ । प्राकृतिक न्यायका सिद्धान्तहरू मुख्य रूपमा तीन तत्वमा आधारित हुन्छन्ः (क) निष्पक्ष सुनुवाइको अधिकार, (ख) पूर्वाग्रहरहित न्यायाधीश र (ग) उचित र तर्कसंगत निर्णय। प्राकृतिक न्यायको सिद्धान्तलाई विभिन्न समयमा विभिन्न नामले व्याख्या गरिएको पाइन्छ । जस्तैः प्राकृतिक कानून, सार्वभौमिक न्याय, दैवीक नियम, शाश्वत विधि आदि। यद्यपि यी सबै अवधारणाहरूको मूल उद्देश्य एउटै होः न्यायको संरक्षण, प्रवद्र्धन र सुनिश्चितता गर्नु । वास्तवमा, प्रत्येक कानुनको अन्तिम लक्ष्य नै न्यायको स्थापना हो ।

प्राकृतिक न्याय र बौद्ध न्यायशास्त्रको अन्तर्सम्बन्धमा तीन प्रमुख सिद्धान्तहरू
प्राकृतिक नियममा आधारित बौद्ध न्यायशास्त्रले धर्म र कानुनबीचको सन्तुलित, समन्वयात्मक र अर्थपूर्ण सम्बन्ध देखाउँछ । यसले व्यक्तिलाई करुणा, नैतिकता र निष्पक्षताको बाटोमा अघि बढ्न उत्प्रेरित गर्छ । बौद्ध दर्शनका मूल्यहरू कानुनी सोचसँग मेल खाँदा समाजमा शान्ति, सद्भाव र समानताको स्थापना गर्न सहज हुन्छ । यस परिप्रेक्ष्यमा, प्राकृतिक न्यायका तीन मूलभूत सिद्धान्तहरूः पूर्वाग्रहविरुद्धको सिद्धान्त, सुनुवाइको सिद्धान्त, र आधारयुक्त निर्णयहरु बौद्ध दर्शनसँग कसरी सम्बन्धित छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

१. पूर्वाग्रहविरुद्धको सिद्धान्त
यस सिद्धान्तले सबै व्यक्तिलाई समान र निष्पक्ष व्यवहार गर्नुपर्ने मान्यतालाई जोड दिन्छ, जुन विशेषतः पूर्वीय दर्शनमा बलियो देखिन्छ । बुद्धका शिक्षाअनुसार, व्यक्तिको मूल्याङ्कन जात, लिङ्ग वा धर्मको आधारमा होइन, उसले गरेका कर्मका आधारमा हुनुपर्छ । त्यसैले बौद्ध दर्शनले पूर्वाग्रहलाई अस्वीकार गर्छ र सबैप्रति समान दृष्टिकोण राख्न प्रेरित गर्छ । बुद्धले सम्यक दृष्टि, मैत्री र करुणाको अभ्यासद्वारा पूर्वाग्रह हटाउने शिक्षाहरू दिएका छन्, जसले घृणा र विभेदको अन्त्य गरी निष्पक्ष समाजको निर्माणमा सहयोग पु¥याउँछ ।

२. सुनुवाइको सिद्धान्त
सुनुवाइको सिद्धान्त भन्नाले उजुरी वा अभियोग लागेका व्यक्तिहरूलाई आफ्ना पक्ष राख्न पाउने अवसर दिनु आवश्यक हुन्छ भन्ने मान्यता हो । यो सिद्धान्त प्रसिद्ध उक्ति ‘बगमष् बतिभचबm उबचतझ’ (अर्को पक्षलाई पनि सुन्ने) मा आधारित छ। बौद्ध दर्शनमा पनि सम्यक वचन, करुणा र मैत्री जस्ता गुणहरूले एउटै सन्देश दिन्छन्। यसले पक्षपातरहित रूपमा सबैका विचार र आवाज धैर्यता र ध्यानपूर्वक सुन्नुपर्ने र तटस्थबहेर न्यान सम्पादनमा जोड दिन्छ । अतः बौद्ध दृष्टिमा पनि सुनुवाइको सिद्धान्तलाई मौलिक मानिन्छ ।

३. आधारयुक्त निर्णय
आधारयुक्त निर्णयले कुनै पनि निर्णय तर्क, प्रमाण र नैतिक विवेकमा आधारित हुनुपर्छ भन्ने कुरालाई जोड दिन्छ । प्राकृतिक न्याय अनुसार, निर्णयहरू स्पष्ट कारणसहित र पारदर्शिताका साथ गरिनु पर्दछ, जसले विश्वास र जवाफदेहिता सुनिश्चित गर्छ । बौद्ध अष्टाङ्गिक मार्गको सम्यक दृष्टि तथा चार ब्रह्मविहारको मैत्रि, करुणा, मुदिता र उपेक्षा जस्ता अवधारणाले पनि पक्षपातरहित र विवेकपूर्ण निर्णय प्रक्रियामा जोड दिन्छ । यसरी बौद्ध शिक्षाले आधारयुक्त, तर्कसंगत र नैतिक निर्णयलाई प्राथमिकता दिन्छ, जुन प्राकृतिक न्यायको आत्मासँग मेल खान्छ ।

नेपालको संविधान र कानुनी संरचनामा यसको प्रासंगिकता
नेपालको संविधानमा प्राकृतिक न्यायका यी सिद्धान्तहरूलाई औपचारिक मान्यता दिइएको छ। नेपालको संविधान, २०७२ को धारा १६ (१) मा जीवनयापनको अधिकार प्रत्याभूत गरिएको छ, जुन प्राकृतिक न्यायको मूल मान्यता हो । त्यस्तै, धारा २४ मा निष्पक्ष सुनुवाइको अधिकार सुनिश्चित गरिएको छ । “लझय वगमभह ष्ल अबगकब कगब” (कोही पनि आफ्नै मुद्दामा न्यायाधीश हुन सक्दैन) र “बगमष् बतिभचबm उबचतझ” (अर्को पक्षलाई सुन्ने अधिकार) जस्ता सिद्धान्तहरूलाई पनि नेपालको कानुनले आत्मसात् गरेको छ । फौजदारी कार्यविधि संहिता, २०७४, मुलुकी ऐन र अन्य कानुनी दस्तावेजहरूमा पनि अभियुक्तलाई बयान दिने, वकिल राख्ने र अपिल गर्ने अधिकार दिइएको छ। जुन सबै प्राकृतिक न्यायको अङ्ग हुन् ।

निष्कर्ष: यसरी हेर्दा, बौद्ध दर्शनमा आधारित न्यायशास्त्र र प्राकृतिक न्यायबीच गहिरो सामञ्जस्य पाइन्छ । बौद्ध दर्शन र कानुनको समुचित सम्मेलबाट नागरिकलाई आत्मअनुशासित, जिम्मेवार र विवेकी बनाउने सघन प्रयास गर्छ । प्राकृतिक न्यायका सिद्धान्तहरूसँग बौद्ध शिक्षाहरूको समन्वयले न केवल न्यायपूर्ण समाज निर्माण गर्न सम्भव बनाउँछ बल्कि नागरिकमा अधिकार र कर्तव्यप्रति चेतनाको विकास पनि गराउँछ । धर्म र कानुनको यो अन्तरसम्बन्धले न्यायलाई केवल कानुनी अवधारणामा सीमित नराखी मानवीय मूल्य, करुणा र विवेकसँग जोड्दछ । जसले दीगो, समतामूलक र शान्तिपूर्ण समाजको आधार तयार पार्दछ । भवतु सब्ब मंगलम् ! (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल.एल. बि.दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)