

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भएको बताउँदै त्यसको डटेर सामना गर्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । एमालेलाई खण्डित पार्ने र कमजोर बनाउने गतिविधिहरुप्रति सचेत रहन उनले आग्रह गरे ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरतावादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे । एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे ।
मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनहरुसँगै सबै जाति, धर्म तथा समाजका व्यक्तिलाई समान अधिकार हुनुपर्छ भन्ने मान्यताकासाथ एमाले अघि बढेको जानकारी गराए । मुलुकमा कुनै एक जाति विशेष संगठन वा पार्टी निर्माण गर्ने कुरालाई जनताले अस्विकार गर्ने बताउँदै उनले उनले सबै जातजाति, भाषा, धर्म र परम्पराको सम्मान गर्दै समान पहुँच र सहभागिताको पक्षमा एमाले रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ सेर्पाले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्नका लागि एमालेले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लोकतान्त्रिक आदिवासी महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचिव हिरु राना भूमी आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा लगायतले बोल्दै संठनलाई थप सदृढ बनाउँदै पार्टीको मार्गनिर्देशनअनुसार गतिशिल रहने आग्रह गरे ।
अधिबेशनले सोहन चौधरीको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा सुदीप थापा, महिला उपाध्यक्षमा सीता जोसी, सचिबमा चेतन गुरुङ्ग, महिला उपसचिबमा सुनीता राजकोटी, उपसचिबमा टेकबहादुर राना, कोषाध्यक्षमा क्या. हेमबहादुर थापासहीत ३२ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको हो ।