बुटवल–नारायणगढ सडक: फेरि एक वर्ष म्याद थप

मेचीकाली संवाददाता

२० श्रावण २०८२, सोमबार
10 shares

रमेश पराजुली

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणधीन बुटवल–नारायणगढ सडक विस्तारका लागि चौथो पटक म्याद थपिएको छ । निमार्ण कम्पनीले सम्झौताअनुसार काम नसकेपछि फेरि एक वर्ष म्याद थप गरिएको हो । विसं.२०८३ साउन ७ गतेसम्म म्याद थपिएको बुटवल–नारायणगढ सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

‘चौथोपटक थप भएको म्याद अन्तिम हो’, उनले भने, ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।’ हालसम्म पूर्वीखण्डमा दाउन्नेबाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एकवर्षभित्र सकिने बताए ।

‘पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ’, उनले भने ‘अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन् ।’ थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बिचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ । सडक विस्तारको काम अहिलेसम्म ७० प्रतिशत हाराहारी मात्रै सकिएको छ । चौथोपटक म्याद थपिए पनि सडक निर्माणको लागत रकम भने नबढ्ने खनालले बताए ।

यो सडक विस्तारका लागि तेस्रोपटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म थियो । बुटवल–नारायणगढ सडकखण्डलाई दाउउन्नेदेखि पूर्व गैंडाकोटसम्म (६५ किलोमिटर) क्षेत्रलाई पूर्वी खण्ड र दाउन्नेदेखि पश्चिम बुटवलसम्म (४९ किलोमिटर) सडक क्षेत्रलाई पश्चिम खण्ड तोकेर विस्तारको काम भइरहेको छ । बुटवल–नारायणगढ कूल ११४ किलोमिटर सडक विस्तारका लागि विभागले २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनसँग १७ अर्ब लागतमा ठेक्का सम्झौता गरेको थियो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो । सुरुको सम्झौता अनुसार २०७९ साउन २२ गते काम सम्पन्न गर्नुपर्ने थियो ।

निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै पटकपटक ठेक्का सम्झौताको म्याद थप गर्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । सुरुमा कोभिडका कारण काम प्रभावित भएको भन्दै म्याद थप्ने काम भयो । त्यसपछि पनि निर्माण कम्पनीले कामलाई गति दिएन । निर्माण कम्पनीले बिभिन्न कारण देखाउँदै दोस्रो र तेस्रो पटक एकएक वर्ष म्याद थप्दासमेत राजमार्ग विस्तारको काम नसकिएका कारण फेरि चौथोपटक एक वर्षका लागि थप्नुपरेको हो । चिनियाँ ठेकेदार कम्पनी र कन्सल्ट्यान्टले २०८३ माघसम्मको समय मागेका थिए । आयोजना कार्यालयले २०८३ साउनभित्र काम सक्ने सर्तमा एक वर्ष म्याद थपेको हो । निर्माण कम्पनीले अब एक वर्षमा बाँकी काम पूरा गर्नुपर्नेछ । कम्पनीले काम सम्पन्न गर्ने प्रतिवद्धतासहित कार्ययोजना पेस गरेको छ । निर्माण कम्पनीले आगामी चैत वैशाखसम्ममा कालोपत्रे गरिसक्ने योजना बनाएको छ । त्यसपछि अन्य काम गर्ने भनिएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार आयोजनाको गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । दाउन्नेदेखि पश्चिम बुटवलसम्मको लागत ७ अर्ब ८६ करोड ३४ लाख छ । कुल ११४ किलोमिटर सडकमध्ये २९ किलोमिटर क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । बुटवल–नारायणगढ क्षेत्रमा पर्ने ७० किलोमिटर सडक बजार क्षेत्रमा ६ लेनको हुनेछ । दाउन्नेको करिब १४ किलोमिटर क्षेत्रमा तीन लेन बनाउने गरी सडक स्तरोन्नतिको काम भइरहेको छ । दाउन्नेको सडक १३ मिटर फराकिलो हुनेछ । यस्तै ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर क्षेत्रमा नाली निर्माण हुनेछ ।

राजमार्ग विस्तारको महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । निर्माण कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । अहिले सबैभन्दा धेरै समस्या दाउन्ने क्षेत्रमै छ । दसैँअगाडि दाउन्ने क्षेत्रमा कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । अहिले कामले केही गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको भए पनि दाउन्ने खण्डमा समस्या यथावत् रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत सडक चिप्लो भएर घण्टौँसम्म जाममा पर्नुपर्ने बाध्यता कायम छ । यो सडक बनेपछि बुटवल–नारायणगढ सडकको यात्रा डेढ घण्टामा छोटिने छ ।

चीनको सरकारी स्वामित्वमा रहेको चाइना स्टेट कम्पनीले नारायणगढ–बुटवल सडक खण्डबाहेक नेपालमा अन्य आयोजनामा पनि काम गरिरहेको छ । पछिल्लो समय सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ ।