श्रावण महिना: सांस्कृतिक र धार्मिक पक्ष

मेचीकाली संवाददाता

२० श्रावण २०८२, सोमबार
9 shares

कमल पन्थी

श्रावण र भाद्र महिना वर्षा ऋतुका प्रतिनिधि महिनाहरू हुन् । चारैतिर हरियाली फैलिएको, वनस्पति ताजगीले भरिएको यो मौसम प्रकृतिको सुन्दर र जीवन्त प्रस्तुति हो । श्रावण महिना खोलानाला, नदीको सुसेली र वन–पर्वतको गुन्जनले विशेष बनाउँछ ।
रातहरू अँध्यारो, बादलले ढाकिएको आकास, तारा नदेखिने यो महिना हाम्रो पुर्खाहरूका लागि प्राकृतिक संकेतहरू बुझ्ने समय पनि थियो । यदि श्रावणको रातमा तारा देखिएमा भविष्यमा अनिकाल पर्छ भन्ने मान्यता थियो । अहिले त रातिमा तारा देखिन थालेका छन् । यसपालि तराईमा प्रयाप्त पानी नै परेन । लामो खडेरीले धानबाली प्रभावित भएको छ ।

आधुनिकताअघि निर्वाहमुखी कृषिमा आश्रित समाजमा श्रावण महिना निकै चुनौतीपूर्ण हुन्थ्यो । खाद्यान्नको पहुँच सीमित भएकाले यो महिनालाई ‘बुढो साउन काट्न पाए भोकमरीबाट बाँचिन्छ’ भन्ने मान्यता थियो । यो साउन सामाजिक, प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त समृद्ध र विशिष्ट महिना पनि हो ।

वण महिना किसान, सनातनी धर्मावलम्बी, उद्योगी–व्यवसायी, राष्ट्रसेवकदेखि राज्यसम्म सबैका लागि अर्थपूर्ण छ । वर्षा, व्रत, चाडपर्व, संस्कार र सामाजिक चेतनाको संगम भएकाले श्रावणलाई सांस्कृतिक सागर पनि भन्न सकिन्छ । यसका बारेमा लामो व्याख्या, विश्लेषण गरिएको पाइन्छ । यो लेखमा भने त्यसको सम्पादित अंश मात्रै उल्लेख गरिएको छ ।

आध्यात्मिक, वैज्ञानिक र सांस्कृतिक आयाम
साउन १ गते पर्ने साउने सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ, जसलाई कर्कट संक्रान्ति भनिन्छ । यही दिनदेखि सूर्य दक्षिणायन हुन्छ–दिन छोटा र रात लामो बन्दै जान्छन् ।

आरोग्य र परम्पराः ‘लुतो फाल्ने’ चलन
यस दिन रोग नलागोस् भनेर आगोको अगुल्टो चारै दिशामा फाल्ने, ‘मेरो लुतो लैजाऊ’ भनेर फाल्ने परम्परा छ । हिलो, फोहोर र कीटाणुका कारण हुने रोगप्रति पूर्वीय सतर्कता हो ।

सौन्दर्य र संस्कृतिः ‘तिउरी लगाउने’ चलन
महिलाहरूले तिउरीको लेदो हातमा लगाउने, जसले हल्का हरियो वा गुलाबी रङ दिन्थ्यो । यो सौन्दर्य, शुद्धता र प्रकृतिसँगको सम्बन्ध दर्शाउने चलन अहिले मेहन्दीले विस्थापित गरिसकेको भए पनि स्मृतिमा अझै जीवित छ ।

वनस्पति संरक्षण र विश्वासः पालीमा सिउँडी, कुरिलो र सिरु राख्ने
यी वनस्पति रोगप्रतिरोधक, किटनाशक गुणयुक्त मानिन्छन् । सिउँडी काँडायुक्त वनस्पति भएकाले घरको सुरक्षा प्रतीक मानिन्छ । आज पनि गाउँघरमा यो परम्परा जीवित छ । सिउँडी जस्तै प्रजातिबाट आजभोलि जताततै ड्रागन फ्रूट भनेर खेती गर्ने लहड छ । यद्यपि यो फलको बारेमा नेपाली माटो र मौसम त्यत्ति उपयुक्त मानिन्न ।

तीजको पूर्वसंकेत र गीत–सांस्कृतिक यात्रा
साउने सङ्क्रान्तिबाटै तीजको सांस्कृतिक र धार्मिक तयारी सुरु हुन्छ । तीज गीतहरू महिलाहरूको भावना, सामाजिक चेतना, धर्म र संघर्षको प्रतीक बनेका छन् । गाउँघरमा पहिले पहिले साउने संक्रान्तिका दिनमा टोलभरिका महिलाहरु भेला भएर तीजका गीत गाउन सुरु गर्थे । आजभोलि आधुनिकताका नाममा यस्ता चलन हराउँदै गएका छन् । त्यस्ता गीतहरु प्रायः भक्ति प्रधान हुन्थे । शिव–पार्वती, राम–सीता, कृष्णको भक्तिमा आधारित गीतहरू गाइन्थे ।

पीडाभाव र माइती सम्झना
पराई घर गएकी चेलीको पीडा, आमाको माया, सासूको हेपाइ आदिबारे गीतहरू मार्मिक हुन्थे । आजभोलि घरेलु हिंसाका अनेक रुपहरु देखिने, अपराध कुकर्म बढ्ने र संगसंगै हिंसाका घटनाहरु प्राय उजागार हुनेगरेको पाइन्छ । पहिले पहिले सञ्चारका माध्यमहरुको यस्तो विकास र विस्तार थिएन । यिनै पर्वहरुमा गीतमार्फत पीडा र सन्देश प्रवाह गरिन्थ्यो । सामाजिक सचेतना गीतहरू गाइन्थ्यो । समाज परिवर्तन, महिला अधिकार, अन्यायविरुद्धको आवाज गीतमार्फत उठ्थ्यो ।

भाइरल प्रवृत्ति र विकृति
आजभोलि तीज गीतहरूमा अश्लीलता, व्यापारीकरण र ‘भाइरल’ हुने होड देखिन्छ । मौलिकता गुमाउँदैछ भन्ने चिन्ता सान्दर्भिक छ । समाजमा आधुनिकताका नाममा एकप्रकारको छाडापन हावी भइरहेको छ ।

नयाँ आर्थिक वर्षको प्रारम्भ
नेपालमा आर्थिक वर्ष श्रावण १ गतेदेखि सुरु हुन्छ । वि.सं.२०१८ देखि सरकारी लेखापालना प्रणालीले यस दिनलाई नयाँ आर्थिक वर्षको सुरुआत मानेको हो ।

साउन १५–खीर खाने परम्परा
साउन १५ मा खीर खाएर रोपाइँको समाप्ति र वर्षा ऋतुको स्वागत गरिन्छ । खीर सात्विक भोजन हो, पितृकार्यमा पनि महत्वपूर्ण मानिन्छ । कृषिप्रधान समाजमा दुध र दुधजन्य परिकारको महत्व यो पर्वमा स्पष्ट झल्किन्छ ।

साउन १६ राष्ट्रिय कोदो दिवस
कोदो पहाडी भेगको परम्परागत अन्न हो, जसले पाचनमा सुधार र मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ । यसको संरक्षण र प्रवद्र्धन गर्न सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको छ । कोदोप्रति बढ्दो आकर्षण एक सकारात्मक संकेत हो ।

नागपञ्चमी–सांस्कृतिक र पर्यावरणीय पर्व
नाग देवताको पूजा मूल ढोकामा गरिन्छ । गाईको गोबर, नाग चित्र, सुपारी, लावा आदिले सजाइन्छ । नागलाई खेतिपाती र वातावरणका संरक्षकको रूपमा पूजा गरिन्छ ।

पर्यावरणीय सन्देश
नाग जल, माटो र पर्यावरण सन्तुलनका प्रतीक हुन् । नागपञ्चमीले मानिस र प्रकृतिबिचको सहअस्तित्व, जैव विविधताको महत्व र संरक्षणको सन्देश दिन्छ ।

श्रावणी पूर्णिमा–रक्षाबन्धन, जनै पूर्णिमा र ऋषितर्पणी
डोरी बाँधेर रक्षा कामनाको दिन । आजभोलि राखीले भाइ–बहिनीबिचको स्नेहको प्रतीक बनेको छ । हामीकहाँ राखी होइन, डोरो बान्ने र जनै लगाउने पूर्णिमाकै रुपमा मनाउने चलन हो । ‘यज्ञोपवीत’ अथवा ‘ब्रह्मसूत्र’ पुरुषहरूले धारण गर्ने वैदिक संस्कार हो । यसले ज्ञान, धर्म र अनुशासनको प्रतीक मानिन्छ ।

ऋषितर्पणी
सप्तऋषिहरूको तर्पण र स्मरण गरिने दिन । पितृ, देव र ऋषिलाई तर्पण दिइने दिनका रूपमा यो पर्व मनाइन्छ ।

बोलबम यात्रा–श्रद्धा र साहसको संगम
बोलबम यात्रा शिवको जलार्पण यात्राको रूप हो । भक्तजनहरूले टाढा–टाढाको नदीबाट जल ल्याई शिवलिंगमा चढाउँछन् । यसले सामाजिक एकता, सेवाभाव, सहनशीलता, अनुशासन र विश्वासको अभ्यास गराउँछ । रुपन्देहीको सैनामैनामा रहेको बोलबम धाममा श्रावणी मेला लाग्दै आएको छ । यहाँ वर्षेनी लाखौं भक्तजनले जलार्पण गर्दै आएका छन् ।

शिवलिङ्ग: भ्रम र यथार्थबीचको अन्तर
शिवलिङ्गलाई प्रजनन अंगसँग तुलना गर्ने भ्रम फैलाइएको छ । वास्तवमा शिवलिङ्ग ‘शिव’ अर्थात् परमात्माको चिन्ह हो–यो ब्रह्माण्ड, सृष्टि र प्रलयको प्रतीक हो । यसले अदृश्य, निराकार शक्तिको स्वरूपलाई दर्शाउँछ । शिवलिङ्ग पूजनलाई मूर्तिपूजा वा अङ्गपूजाको रूपमा हेर्नु गलत व्याख्या हो । शास्त्रमा भनिएअनुसार महादेवको पूजा सय वर्ष गर्नुको फल एक दिन शिवलिंग पूजाले बराबरी गर्दछ ।

श्रावण महिना केवल झरीको मौसम मात्र होइन, यो धार्मिक, सामाजिक, कृषि, सांस्कृतिक र आध्यात्मिक आयामको अद्भुत समन्वय हो । आधुनिकता र विकृतिबिच मूल मर्मको रक्षा गर्दै नयाँ पुस्तालाई यो सम्पदा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । समयअनुसार चल्नु आवश्यक छ, तर परम्पराका पवित्र पाटो गुम्नु हुँदैन । ‘गागरमा सागर’ झैँ श्रावणको विविध पक्षलाई आत्मसात् गरौं ।