रवि लामिछानेलाई नख्खु कारागारमा स्थानान्तरण गरिने

मेचीकाली संवाददाता

३१ श्रावण २०८२, शुक्रबार
8 shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गरिने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि उनको स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।

कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेको नख्खु कारागारमा स्थानान्तरणका लागि रुपन्देही कारागारलाई पत्र लेखेको छ । ‘नक्खु कारागारमा ल्याउनका लागि निर्णय गरेर पत्र पठाएका छौं,’ विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । शर्माका अनुसार लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो ।

‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं ।,’ शर्माले भने । शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई थिए । उनलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए । महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ । ‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले उहाँ (रवि लामिछाने) लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउँछ ।,’ शर्माले भने ।