

रमेश पराजुली
बुटवल । पराजुली समाज नेपाल, रुपन्देहीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर शुक्रबार कार्यक्रम आयोजना गरिएको हो । तीज पर्वको अवसरमा बन्धुहरु बिचमा शुभकामना आदानप्रदान गर्ने तथा समाजलाई थप सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार चन्द्रबहादुर पराजुलीले बताए ।
कार्यक्रममा बोल्दै पराजुली समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष बद्रीरमण पराजुलीले हरितालिका तीजको शुभकामना व्यक्त गरे । तीज पर्व केवल महिलाको मात्र पर्व नभई सम्पूर्ण नेपाली समाजको साझा चाडका रूपमा विस्तार भएको उल्लेख गर्दै यस पर्वलाई सामाजिक विभेदविरुद्ध, अधिकार, समानता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने अवसरका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । रुपन्देहीमा छरीएर रहेका पराजुली बन्धुहरुलाई एकतावद्ध गरी तीज मिलन गरेर संस्कृतिको जर्गेना गर्दै आएकोमा संस्थालाई धन्यावाद ज्ञापन गरे ।

पराजुली समाज नेपाल रुपन्देहीका पूर्व अध्यक्ष खेमनारायण पराजुलीले तीज पर्वको शुभकामना दिँदै वर्षको एकपटक आउने तीज पर्वमा मात्र नभएर समाजले वर्षभरी गर्ने बिभिन्न कार्यक्रममा सक्रियताका साथ सहभागि हुन सम्पूर्णलाई आग्रह गरे । पराजुली बन्धुहरुको सुख दुःखमा पनि समाज साथमै रहनुपर्नेमा उनले जोड दिए ।
पराजुली समाज नेपाल रुपन्देहीका अध्यक्ष गोविन्दराज पराजुलीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बसाइँसराइँ गरी तथा बिभिन्न पेशा व्यवसायका शिलशिलामा रुपन्देहीमा बसोबास गर्दै आएका पराजुली बन्धुहरुलाई एकीकृत गर्ने उद्देश्यले समाजले प्रत्येक वर्ष तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै उनले समाजले रक्तदानलगायतका विभिन्न रचनात्मक कार्यक्रमहरुसमेत गर्दै आइरहेको बताए ।

समाजकी उपाध्यक्ष रमा पौडेल पराजुलीले तीज सम्पूर्ण नारीहरुको अधिकार समानता र संघर्षको प्रतिक भएको बताइन् । चलिआएको रीतिरिवाजलाई संरक्षण गरेर अगाडि बढ्दा नेपालीहरुको अस्तित्व बच्ने भन्दै उनले पराजुली समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
कार्यक्रममा जीवनारायण पराजुलीले पराजुली दैलेख जिल्लाको ‘पराजुल’ भन्ने ठाउँबाट उद्गम भएर देशका विभिन्न जिल्लामा फैलिएर बसोबास गर्दै आएको बताउँदै पराजुली वंशबारे जानकारी गराएका थिए । सयौँको संख्यामा कार्यक्रममा सहभागि भएका महिला दिदीबहिनीहरुले पुरानो मौलिकता र संस्कृति झल्किने तीज गीत आफैँ गाएर नाचेर मनोरञ्जन गरेका थिए । कार्यक्रम समाजका सचिव घनश्याम पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।