

मिलन गाहा
बुटवल । भारतीय सीमावर्ती कपिलवस्तुको विजयनगर गाउँपालिका तराईको दुर्गम र पिछडिएको क्षेत्र भनेर पनि भनिन्छ । पिछडिएको विजयनगरमा सम्भावना खोज्ने, साकार पार्ने काममा अहिले जनप्रतिनिधि सक्रिय छन् ।
पालिका अध्यक्ष गोपाल थापा मगरको नेतृत्वमा पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक चेतनामा उल्लेख्य उपलब्धि हासिल गरिरहेको छ । पालिकाले सम्भावनाको खोजी मात्रै होइन, त्यसलाई साकार पार्न पनि उत्तिकै दत्तचित्त भएर केन्द्रित छ ।
समानता ल्याउन र छोराछोरीका बिचमा कतिपयले गर्ने लैंगिक विभेदको अन्त्य गर्न छोरी जन्मिँदा प्रोत्साहन, अस्पतालमै सुरक्षित सुत्केरी र पोषण सामाग्री प्रदान जस्ता सामाजिक सुरक्षाका कार्यक्रम जारी छन् ।
यस्तै विद्यालय भर्ना अभियान, १०० किलोमिटर सडक निर्माण, कृषि र पर्यटनमा जोड र कुरीतिविरुद्धको अभियानले विजयनगरलाई पछाडि परेको गाउँपालिकाबाट अघि बढाउने बाटोमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये पछाडि परेका गाउँपालिकामध्ये विजयनगर गाउँपालिका पनि एक हो । साविकका गुगौली, पत्थरदेइया, खुरुहुरिया र गणेशपुर गाविसहरू गाभेर बनेको यो गाउँपालिका १७३.१९ वर्ग किमी क्षेत्रमा फैलिएको छ ।
पूर्वमा शिवराज नगरपालिका, पश्चिम र उत्तरमा दाङ जिल्ला तथा दक्षिणमा कृष्णनगर नगरपालिका र भारतसँग सीमाना जोडिएको यस गाउँपालिकामा २०७८ सालको जनगणनाअनुसार ४३,२९१ जनसंख्या र ७,०५९ घरधुरी छन् ।
यहाँ मुसलमान, मधेसी, थारुलगायतका सिमान्तकृत समुदायको बसोबास छ । स्थानीय तहको पुनर्संरचना र संघीयताको कार्यान्वयनसँगै विकासलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष थापा मगर बताउँछन् ।
कुरीतिविरुद्ध अभियान र सामाजिक चेतना
विजयनगरमा चर्पी प्रयोग नगर्ने परम्परा, छोरीलाई नपढाउने प्रवृत्ति जस्ता सामाजिक कुरीतिहरू विद्यमान थिए । गाउँपालिकाले ६ करोड रुपैयाँ लगानीमा शौचालय निर्माण गरे पनि प्रयोगमा अझै चुनौती छ । यसलाई समाधान गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
छोरी जन्मिँदा १५ हजार रुपैयाँ प्रोत्साहन दिने योजनामार्फत सकारात्मक विभेदको एउटा कार्यक्रम सुरु गरिएको र यसले सकारात्मक नै नतिजा दिने उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीको भनाइ छ ।
उपाध्यक्ष चौधरीद्वारा अघि सारिएको ‘कोसेली कार्यक्रम’ले अस्पतालमै सुरक्षित सुत्केरी गराउने संस्कृतिलाई बल पु¥याएको छ र सुत्केरीलाई पोषण सामाग्री उपलव्ध गराइएको छ । यसले मातृ तथा शिशु मृत्यु दरमा उल्लेख्य कमी ल्याएको पालिका अध्यक्ष मगरको दाबी छ ।
स्वास्थ्य क्षेत्रमा उपलब्धि
२०७४ सालमा निर्वाचित प्रतिनिधिहरू आएपछि सबै वडामा स्वास्थ्य चौकी स्थापना, बर्थिङ सेन्टर सञ्चालन, खोप सेवा, स्वयंसेविकालाई प्रोत्साहनजस्ता काम भएका छन् । २०७४ र २०७९ यी दुवैमा जनप्रतिनिधिले मन र मत दुवै जितेका छन् । यहाँ संघीय सरकारको सहयोगमा १५ शैयाको अस्पताल पनि सञ्चालनमा आएको छ । जुन अस्पतालको हालै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । मातृ–शिशु स्वास्थ्य, आधारभूत उपचार र सुरक्षित प्रसूति सेवामा ठूलो प्रगति भएको पालिकाको दाबी छ ।
शिक्षा क्षेत्रमा सुधार
पूर्वाधारको अभाव, अशिक्षा र अन्धविश्वासका कारण विजयनगर शिक्षा क्षेत्रमा निकै पछाडि थियो तर संघीयतापछि गाउँपालिकाले ‘शतप्रतिशत विद्यार्थी भर्ना अभियान’ सञ्चालन गर्दै विद्यालयमा छोरीको सहभागिता बढाएको छ । एमबिबीएस अध्ययनका लागि छात्रवृत्ति, गुणस्तरीय शिक्षक नियुक्ति, मदरसा तथा विद्यालय भवन सुधार र आफ्नै स्रोतबाट २५ जना शिक्षकलाई तलब दिने व्यवस्था गरिएको छ । यसले शिक्षा क्षेत्रमा सकारात्मक परिणाम दिन थालेको अध्यक्ष थापा बताउँछन् ।
भौतिक पूर्वाधार
अध्यक्ष गोपाल थापाका अनुसार, २०७४ सालअघि गाउँपालिकामा १ किलोमिटर कालोपत्रे सडक पनि थिएन । तर पछिल्ला दुई कार्यकालमा संघ, प्रदेश र पालिकाको संयुक्त लगानीमा करिब १०० किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । उनको यो विकास अभियानमा हालका प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेलको साथ छ । साथै जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने अरु सांसदहरुको पनि साथ र सहकार्य छ । यसैगरी झोलुंगे पुल, पक्की पुल, कल्भर्टलगायतका पूर्वाधार बनेका छन् । गाउँपालिकालाई ‘धुलोरहित’ बनाउने योजना पनि अघि बढाइँदै छ ।
कृषि र पशुपालन
विजयनगरको मुख्य पेसा कृषि हो । यहाँको उर्वर भूमिमा धान, गहुँ, मकैलगायत अन्नबाली उत्पादन हुन्छ । तालतलैया र चिरायु खोलाको पानी प्रयोग गरेर सिँचाइ प्रणाली सुधारिएको छ । कुखुरा, भैंसी, बाख्रा र माछापालन जस्ता गतिविधिले किसानलाई आत्मनिर्भर बनाएको छ । गाउँपालिकाले बिउबिजन, तालिम र अनुदानमार्फत कृषकलाई प्रोत्साहित गर्दै आएको छ । निकट भविष्यमा पालिकाले थप १,००० हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने योजना बनाएको छ ।
पर्यटनको सम्भावना
विजयनगरमा विभिन्न समुदायका संस्कृति, कला र परम्पराहरू संरक्षण गर्ने अभियान चलाइँदैछ । थारु संग्रहालय स्थापना, जगदिशपुर ताललाई पर्यटनस्थलका रूपमा विकास गर्ने प्रयासले आन्तरिक पर्यटनमा टेवा दिएको छ । शंकरपुर ताल, सनैया, पुरैया, सिसवा, कर्जा ताललगायतका प्राकृतिक स्रोतहरूले वातावरण संरक्षण र कृषिलाई मद्दत गरेका छन् । यिनलाई पर्यटन विकाससँग जोड्ने प्रयास भइरहेको छ ।
बजेट र रोजगारी
विगत आर्थिक वर्षमा गाउँपालिकाको बजेट ६७ करोड रुपैयाँ थियो । यसै सानो बजेटबाट स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार र मानवीय विकासका काम अघि बढाइएको छ । आन्तरिक आम्दानी स्रोत सीमित भए पनि पालिकाले तालिममार्फत वर्षेनी करिब १०० जनालाई सीप प्रदान गरी स्वरोजगार बनाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाएको प्रशासकीय अधिकृत शोभाराम रिजाल बताउँछन् । विजयनगरका सम्भावनालाई साकार पार्न जनप्रतिनिधि, कर्मचारी, नागरिक अगुवा र यहाँका सामाजिक संघसंस्था समेतको असल सहकार्य रहेको रिजालको भनाइ छ । अध्यक्ष गोपाल थापा मगर भन्छन्,‘संघीयताले जनताका समस्या घरदैलोमै समाधान गर्ने बाटो खोलिदिएको छ । जनताको साथले दश वर्ष काम गर्दा खुसी छु ।’