

अमृत गिरी
बुटवल । समाज परिवर्तनका कुरा सुन्न र भन्न धेरै सजिलो लाग्छ । तर, त्यसलाई व्यवहारमै उतार्ने साहस गर्ने युवाको संख्या भने थोरै हुन्छ । यस्ता थोरैमध्ये एक हुन् २६ वर्षीय भरतजंग क्षेत्री । असल स्वभाव, अनुशासित जीवनशैली र सेवाभावका कारण उनी आज युवा पुस्ताका लागि प्रेरणाको प्रतिमूर्ति बनेका छन् भने अरूका लागि ‘आहा’ भन्ने बनिसकेका छन् ।
जीवनको यात्रा र समाजसेवामा प्रवेश
गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–६ रजस्थलमा जन्मिएका भरत हाल बुटवल–११ देवीनगरमा बसोबास गर्छन् । बुबा खडक केसी र आमा मिना केसीका सन्तान उनी स्वास्थ्यकर्मीको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा कार्यरत छन् । परिवारका दिदीबहिनी पनि स्वास्थ्य क्षेत्रमा सक्रिय छन् ।
बाल्यकालदेखि नै चन्चले, चुलबुले र जे गर्छु त्यही पूरा गरेरै छाड्छु भन्ने स्वभावका भरतमा समाजसेवाको हुटहुटी पनि उस्तै बलियो थियो । अहिले कार्यालयको दैनिकी सकेपछि उनी सामाजिक अभियन्ताका रूपमा निस्कन्छन्–बेसहारा, दीनदुःखी वा असहायका लागि सहयोग जुटाउन ।

सेवाभाव र समाजपरिवर्तनको प्रेरणा
‘समाजलाई केही फर्काउन सकिन्छ भने त्यो केवल सेवाभाव र कर्मठताबाट सम्भव हुन्छ,’ भरतको जीवन दर्शन हो यो । शिक्षा, स्वास्थ्य, वातावरणदेखि जनसहयोगसम्मका धेरै अभियानलाई उनले आफ्नो कर्तव्य ठानेका छन् । निराशा, बेरोजगारी र भौतिक लोभमा डुबिरहेको आजको पुस्तालाई कर्मठता र परोपकारको बाटो देखाउने भूमिका उनी निर्वाह गरिरहेका छन् ।
प्रेरणादायी गतिविधिहरू
निःशुल्क खाना भण्डारः बुटवलमा निःशुल्क खाना भण्डार स्थापना गरेर भोकाहरुलाई आशाको दियो बाल्ने काम उनकै पहलमा सुरु भयो । यो अभियान मुलुकमै पहिलोपटक भएको उनको दाबी छ । यस्तो अभियानबाट सडक आश्रित मानव मात्रै नभई धेरै भोका र बेसहाराहरुको पेट भरिएको थियो । ‘त्यसबेलाको त्यो अभियान सुरुमा त गाह्रो हुन्छ कि जस्तो लागेको थियो, पछि धेरैले आशिष दिँदा मन आनन्दित भयो’ क्षेत्रीले यो अभियानमा त्यसबेला साथ दिने उनका अग्रज भरत पुरी विवेशलाई स्मरण गर्छन् । विवेश अहिले बुटवल–९, का जनप्रतिनिधि बनेका छन् ।

बुटवल तिनाउ सरसफाइ अभियानः ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले हालसम्म १५० हप्ताभन्दा धेरै पार गरिसकेको छ । यो अभियानमा भरत आफैँ सामेल भए र अरु युवालाई पनि जुटाए । सरसफाइको यो अभियान अहिले पनि निरन्तर छ ।
शिक्षा अभियानः विभिन्न जिल्लाका गाउँसम्म पुगेर विपन्न परिवारका बालबालिकालाई सहयोग गरे, सहयोग जुटाए, मनकारीमार्फत छात्रवृत्ति दिलाउने कामको सुरुआत गराए । शैक्षिक सामग्री वितरण गर्नेदेखि विभिन्न खालका प्रेरणादायी काममा उनी अहिले पनि उत्तिकै सरिक छन् ।
लागुऔषधविरुद्धको अभियान र दुर्घटना न्यूनीकरणमा सचेतना: लागुऔषधमा फस्ने जोखिममा रहेका युवा पुस्तालाई लक्षित गरेर विद्यालय तहमै पुगेर उनले विज्ञहरुसहितको टोलीका साथमा सचेतनाका कार्यक्रम चलाए । किशोरकिशोरी लक्षित सचेतनाका कामलाई प्रभावकारी बनाउन थप कार्यक्रम बनाए । नयाँ पुस्तालाई गलत बाटोमा लाग्नबाट जोगाउने उनको अभियानमा धेरैले साथ दिए ।
यस्तै दुर्घटना न्यूनीकरणको अभियानलाई पनि उनले प्रभावकारी बनाए । सार्वजनिक सवारीका चालक, सहचालक लक्षित स्वास्थ्य शिविर, पैदलयात्रू लक्षित सचेतना र सडक उपभोक्तामैत्री अभियान चलाए । यस्ता अभियानलाई उनले सुरक्षित यात्राको अधिकारसँग जोडेर थप प्रभावकारी बनाउने तयारीमा छन् ।
रक्तदान र रक्तव्यवस्थापनः उनी आफैँ नियमित रक्तदाता पनि हुन् । त्यतिमात्रै होइन, उनले आपत्कालीन अवस्थाका कैयन मेडिकल केशमा तत्कलै रक्त व्यवस्थापनको काममा पनि सहकार्य गरिरहेका छन् । अगुवा कृष्ण चौहान क्षेत्रको अगुवाईमा उनीजस्ता केही युवाहरुको रक्तदानको अभियान अहिले बुटवल मात्र नभई मुलुकमै लोकप्रिय र उदाहरणीय बनेको छ । रगत नपाएर अस्पतालमा छटपटिरहेका बिरामीका लागि अहोरात्र रगत व्यवस्थापन गर्ने ‘रक्तसेवी’का भरतजस्ता केही युवाहरुको पंक्ति छ बुटवलमा ।
स्वास्थ्य शिविरः लुम्बिनी प्रदेशका सबै जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै विशेषज्ञ चिकित्सकमार्फत उपचार गर्ने काममा पनि भरतले अगुवाई र सहकार्य गर्दै आएका छन् । उनकै पहलमा धेरैवटा शिविरमा निशुल्क औषधीको समेत जोहो भइरहेको छ ।
कपडा बैंकः ‘हुनेले दिने नहुनेले लिने’ भन्ने उद्देश्यसहित बुटवलमा भरत र उनका केही अग्रज एवम् अनुजहरु मिलेर कपडा बैंक स्थापना गरे । उनीहरुले यो अभियानलाई पनि मुलुकमै पहिलो भन्छन् । त्यो अभियानले बेसहाराको आङ ढाकियो, न्यानो कपडाको जोहो भयो । त्यसबेलाको त्यो अभियान अहिले पनि विभिन्न ठाउँमा चलिरहेको छ । अभियानले कैयौं नाङ्गाहरुको आङ छोपियो, जाडोमा न्यानोको अनुभूति भयो र हुनेहरुले दिने संस्कार, नहुनेहरुले नलजाई लिने संस्कारको थालनी भयो । यस्तो अभियानमा नयाँ नयाँ कपडा दिनेहरु मनकारी पनि थपिइरहेको भन्दै प्रशन्नता प्रकट गर्छन् भरत ।

सम्मान र कदर
उनका यी योगदानलाई विभिन्न संस्थाले कदर गरेका छन् । दुबईमा गुल्मी सेवा समाज, युएइमार्फत सम्मान, रुपन्देही हिरोज अवार्ड र राष्ट्रिय युवा परिषद्, लुम्बिनी प्रदेशको प्रतिष्ठित युवा सम्मानले उनलाई अझ ऊर्जा दिएको छ ।
प्रेरणाका स्रोतः परिवार र अनुकरणीय व्यक्तित्व
भरतका स्व.हजुरबुबा नरबहादुर खत्री गाउँकै समाजसेवी थिए । उनी र उनका बाबा–आमा नै भरतका प्रेरणाका आधारस्तम्भ हुन् । ‘अरुको दुःखमा हात बढाउनु नै मेरो आवश्यकता पूरा भएको अनुभव हुन्छ,’ भरत भन्छन् । फ्लोरेन्स नाइटिङ्गेल वा दयावीर सिंह कसाकारजस्तै सेवाभावलाई जीवन बनाउन सकिन्छ भन्ने विश्वासमा उनी अगाडि बढिरहेका छन् ।
युवाहरुलाई सन्देश
आजको पुस्तामा निराशा, बेरोजगारी र भौतिक मोह बढ्दो छ । कतिपय युवा कुलतमा फसिरहेका छन्, सजिलो धन–दौलतको मोहमा लागिरहेका छन् । उनीहरूको लागि भरतजंग क्षेत्रीको सन्देश स्पष्ट छ,‘कुलतमा होइन, कर्म र सेवामा लागौं, देशलाई केही फर्काउने संकल्प गरौं ।’ यसरी भरतजंग क्षेत्री आजका युवाबीच एउटा प्रेरणादायी नाम बनेका छन्–निस्वार्थ सेवाभाव, कर्मठता र परोपकारको बाटोमा उभिएको एउटा बलियो उदाहरण । कतिपय युवा कुलतमा फसिरहेका छन् भने कतिपयले काम गर्नुभन्दा सजिलो धन–दौलत खोजिरहेका छन् । कुलतमा होइन, देशलाई केही दिन सकिन्छ भनेर लाग्न युवाहरुलाई भरतको सुझाव छ ।