डा.लेखजंग थापा बने रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार

मेचीकाली संवाददाता

१६ भाद्र २०८२, सोमबार
20 shares

बुटवल । आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् ।

सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाई पछि पारेर उम्मेदवार छनोट हुन सफल भएका हुन् ।

उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकांक्षी रहेका थिए । उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका हुन् ।

को हुन् डा.लेखजंग थापा ?
सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामीको उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

अनुसन्धानकर्मी समेत रहेका उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् । उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ ।

डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिँदै आएका छन् । उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको सेवा गर्दै आएका छन् । साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोष समेत स्थापना गरेका छन् ।

मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।