प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

मेचीकाली संवाददाता

१६ भाद्र २०८२, सोमबार
14 shares

काठमाडौं । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका थिए ।

के हो शांघाई सहयोग संगठन ?

शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य छन् ।

यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।

भदौ १५ र १६ गते आयोजना गरिएको यस सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता भएको पहिलोपटक हो । यस सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने

पाँचदिने चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता पनि गर्दै आएका छन् ।

चीन पुगेलगत्तै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक हुँदै व्यापार गर्न चीनले भारतसँग गरेको सहमतिप्रति आपत्ति जनाएको भनेर उनको प्रशंसा भइरहेको छ ।

परराष्ट्रसचिव अमृतबहादुर राईले ‘ओलीले सुगौली सन्धि उद्धृत गर्दै नेपाली भूभाग प्रयोग गर्ने गरी भएको सम्झौता पालना नगरोस्’ भनेको उल्लेख गरेका छन् ।

तर, चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको भेटबारे सार्वजनिक गरेको विवरणमा त्यो विषय उल्लेख छैन । बरु नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको त्यसमा उल्लेख भएपछि यसमा प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री ओलीले आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, लाओस जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग पनि भेटवार्ता गर्ने तयारी छ ।

आइतबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रात्रि भोजको अवसरमा अनौपचारिक भेटवार्ता भएको थियो ।