बुटवलमा रमाइलो मेला आयोजना

मेचीकाली संवाददाता

१६ भाद्र २०८२, सोमबार
28 shares

बुटवल, भदौं १६ । बुटवलमा प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देवीनगर रंगशालामा सो मेला सञ्चालन हुने भएको हो । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाकारी गराएको छ । सो अवसरमा बोल्दै रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षकको रुपमा रहने बताए ।
साथै मेलामा विष्णुमतिको मन्दिरको दर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुने बताए । क्लब स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै अध्यक्ष भण्डारीले सामाजिक कार्य गर्नका लागि नै मेलाको आयोजना गरिएको बताए । अहिलेसम्म २०० स्टल बुक भइसकेको र केही स्टल थप गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।
मेलाको अवलोकलनका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको सचिव शंकर काफ्ले बताए । साथै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपियाँ एवं ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र असक्त तथा अपाङ्गहरुलाई प्रवेश शुल्क नलाग्ने बताए । मेलामा स्थानीय तथा राष्टिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताए । प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको सहआयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ ।