श्रीमतीको हत्या गरेर श्रीमानले भान्छा कोठामै गाडे शव

मेचीकाली संवाददाता

१७ भाद्र २०८२, मंगलवार
20 shares

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेर श्रीमानले भान्छा कोठामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव फेला पारेको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा बस्दै आएका थिए । उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । तर पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै भदौ १६ गते प्रहरी चौकी बल्कोटमा मौखिक जानकारी गराएका थिए ।

त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । अनुसन्धानको क्रममा भदौ १२ गते बिहान १२ बजेतिर श्रीमान्–श्रीमतीबीच सामान्य विवाद भएको र त्यसपछि हत्या गरिएको खुलेको हो । विवाद भएपछि किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको हो । हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । प्रहरीले भदौ १६ गते राति साढे ८ बजेतिर शव उत्खनन् गरेर निकालेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्बाट ३ छोरी रहेको पाइएको छ ।

श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । बुवाले आमालाई कुटपिट गरी हत्या गरेको देखे पनि सरूले कसैलाई भनेकी थिइनन् । प्रहरीका अनुसार आमाको हत्या गरेकोबारे कसैलाई भने उनलाई पनि त्यस्तै बनाउने भन्दै किरणले डर धम्की दिएका थिए । सोही कारण हत्याको पाँच दिनसम्म पनि घटनाबारे कसैले पत्तो पाउन सकेका थिएनन् ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा, सानो कोदालो, मदिराका बोत्तलहरु बरामद गरेको छ । पक्राउ परेका किरणविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।