

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताए । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए ।
‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमासमेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौँ, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौँ, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौँ,’ उनले भने ।
एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भने,‘अहिले हामी सरकारमा छौँ, जनताकाबिच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।’ ‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन, हाम्रो लक्ष्य समाजवादतर्फ हो, अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ, देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौँ,’ उनले भने ।
अध्यक्ष ओलीले भने,‘हामी निर्णायक राष्ट्रिय शक्तिका रुपमा पुगेका छौँ, हाम्रो नीतिहरु नै राष्ट्रिय नीति हुन्, आज नेता तथा आमकार्यकर्ताले नेतृत्वप्रति विश्वास गरेका छन् । एमाले पार्टीमा ठूलो जमात महिलाको छ र पार्टीलाई जोगाउने काममा महिला साथीहरूको भूमिका विशेष छ । सबै मिलौँ, पार्टीलाई अझ सुदृढ, सशक्त र लोकप्रिय बनाऔँ ।’
उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्नसक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यसअघि २०७८ सालमा विधान महाधिवेशन भएको थियो ।
सङ्गठित सदस्य संख्या ३० प्रतिशतले वृद्धि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको छ । विधान महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले १० औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य संख्या वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य संख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साङ्गठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् । शुक्रबार दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेन जारीे छ ।