हरियाली यातायातको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२० भाद्र २०८२, शुक्रबार
8 shares

बुटवल। हरियाली यातायात प्रालि बुटवलको सातौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको रिक्सा व्यवसायी संघ तथा रिक्साधनी चालक भलाई कोषका पूर्वअध्यक्ष इन्द्रध्वज मल्लले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले संस्थामा आबद्ध भएका व्यवसायी तथा चालकहरुको हकहितसँगै, सानाठूला दुर्घटना र आइपर्ने समस्या समाधानमा अभिभावकीय भूमिका खेल्नुपर्ने बताए । सबै व्यवसायीहरुलाई संस्थामा आबद्ध हुन आग्रह गर्दै उनले अनुशासनमा रहेर नियम पालना गरी व्यवसायलाई अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना तथा कार्यक्रमहरुबारे जानकारी गराए । बुटवल उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापनमा सक्रियताका साथ चासो नदिँदा दर्ता गरेका भन्दा दुई गुणा बढी ई–रिक्सा सञ्चालन भइरहेको अध्यक्ष तिवारीले बताए । यसले दुर्घटनाको जोखिम बढाएको र वर्षौ अघिदेखि दर्ता गरी नियमअनुसार सञ्चालनमा रहेका व्यवसायीहरुलाई समस्या सिर्जना गरेको उनको भनाइ थियो । ई–रिक्सा व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले सम्बन्धित संस्था र व्यवसायीहरुसँग समन्वय नगरी एकलौटी रुपमा अघि बढ्न खोज्दा लामो समयदेखि समस्या समाधान हुन नसकेको अध्यक्ष तिवारीले बताए । ई–रिक्सामा यात्रा गर्ने क्रममा यात्रुका छुटेका लाखौँ रुपैयाँका बहुमुल्य सामान तथा नगद सम्बन्धित यात्रुलाई खोजेर हस्तान्तरण गर्दै आएको उनले बताए ।

कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष बज्राचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पारीत गरेको छ । यस्तै हरियाली यातायात प्रालिका सञ्चालम गोपालप्रसाद रिजालले सरकारले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्न लागेको भन्दै बुटवलमा नारायणी र राप्ती अञ्चलका धेरै ई–रिक्सा सञ्चालन भइरहेकोले अञ्चलीकरण गरी लुम्बिनीमा ल्याउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रालिका सञ्चालक देवानन्द चापागाईं, सल्लाहकार कृष्णबहादुर कार्की,लगायतले आआफ्नो भनाइ राखेका थिए । सोही अवसरमा संस्थाका पूर्व कर्मचारी व्यवस्थापक कमल पोखरेललाई सम्मान गर्दै विदाई गरिएको थियो । प्रालिका सदस्य नेत्रप्रसाद गैरेको स्वागत तथा कोषाध्यक्ष प्रज्वलशेखर बज्राचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाल हरियाली यातायात प्रालिमा ३ सय बढी व्यवसायी आबद्ध रहेका छन् ।