सिद्धार्थ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः आचार्य

मेचीकाली संवाददाता

२१ भाद्र २०८२, शनिबार
11 shares

बुटवल । बुटवल मिलनचोकस्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः तिलकराम आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा दामोदर पौडेल, सचिवमा बिन्दु खनाल गौतम र कोषाध्यक्षमा कृष्णराज ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा शिवहादुर अधिकारी, सुमन भुसाल, इश्वरी अधिकारी, होमप्रसाद भुसाल र राधिका शाही चयन भएका छन् भने लेखा सुपरिवेक्षण समिति संयोजकमा लक्ष्मणबहादुर रायमाझी तथा सदस्यमा सीता आचार्य र बरुण पौडेल चयन भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष बाबुलाल नेपालले सहकारीलाई बचत गर्ने र ऋण दिने थलो मात्र नबनाएर उत्पादनमूलक क्षेत्रमा पनि चलायमान बनाउनुपर्ने धारणा राखे । उनले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्तअनुसार सञ्चालन भएका जोखिममा पर्ने खतरा न्यून हुने बताए । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएकोसमेत उनले बताए ।

संस्थाका अध्यक्ष तिलकराम आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अघि सारेका आगामी योजनाहरुबारे जानकारी गराए । उनले केही सहकारीहरु जोखिममा पर्दै गएकाले त्यो अवस्थाबाट सिद्धार्थलाई सुरक्षित बनाउनका लागि उत्पादनमूलक कार्यक्रममा लगानी र जोखिम कर्जालाई कम गर्दै जाने नीति लिएको समेत बताए । सहकारीको सेवालाई क्रमशः क्यासलेस, चेकलेस र पेपरलेस बनाउने उद्देश्यले ‘सिद्धार्थ स्मार्ट’ एप बनाएर एसएमएस र मोबाइल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष आचार्यले बताए ।

यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार डा.अजित खनाल, पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद पौडेल, सल्लाहकार तथा निर्वाचन उपसमिति संयोजक मोतिराज ज्ञवाली, शेयर सदस्य राधिका शाही, हरि ज्ञवाली र रामप्रसाद बश्याललगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक होमप्रसाद भुसाल, ऋण व्यवस्थापन उपसमिति संयोजक दामोदर पौडेल तथा व्यवस्थापक ओमप्रकाश भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

संस्थामा हाल १ हजार ६८९ जना शेयर सदस्य रहेका छन् । शेयर पुँजी ४ करोड ७१ लाख ५७ हजार २ सय, बचत ३० करोड ७१ लाख ६३ हजार, कुल कर्जा २७ करोड ४८ लाख ८४ हजार रहेकोे संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गैडहवा गाउँपालिका–७ शान्तिबजारमा सेवाकेन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबसरमा कक्षा १२ मा सर्वोकृष्ट नतिजा ल्याउन सफल भएका शेयर सदस्यका छोराछोरी शुभेक्षा भट्टराई र सुप्रिम बेलबासेलाई सम्मानसमेत गरिएको थियो ।