

प्रकाश आचार्य
बुटवल। ‘मिनी जनमत संग्रह’ र विशेष अर्थको रूपमा हेरिएको रूपन्देही क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा उपचुनावमा प्रमुख ठूला दललाई उम्मेदवार टुंगो लगाउन सकस परेको छ । सबै दलले प्रतिष्ठाको विषयसमेत बनाएको उपचुनावको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका प्रमुख राजनीतिक दलले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । प्रमुख दलमा आकांक्षी धेरै हुँदा मनमुटावको जोखिमको डरले उम्मेदवार टुंगाउन हम्मेहम्मे परेको छ ।
आमचुनाव विसं.२०८४ को परिणामसमेत कस्ता आउँछ भन्ने उपचुनावले संकेत तर्क/बहस चलिरहेको बेला प्रमुख पाटी अहिलेसम्म उम्मेदवारबारे निर्णय लिन अलमलमा देखिएका हुन् । मतदाताले रूचाएको भन्दा नेतृत्वसँग निकट पक्षधरले टिकट पाउनसक्ने अवस्थाप्रति कतिपय आकांक्षीहरु नंै सशंकित छन् । नेताले जनतालाई कसरी हेर्दैछन्, जनता कस्को पक्षमा छन् भन्ने प्रभाव र जनमत परीक्षण गर्ने अवसरका रुपमा उपयोग गर्ने रणनीतिका साथ मोर्चाबन्दी गर्न चुनावी गतिविधिलाई भने तिब्रता दिएका छन् ।
उपचुनावको माहोल हेर्दा जनतामा नयाँ र सक्षम उम्मेदवारको माहोल देखिन्छ । आगामी कार्तिक १७ गते हुने उपचुनावको निर्वाचन आयोगले मनोनय दर्ता असोज २१ को कार्यतालिका सार्वजनिक गरिसकेको छ । गएको चैत २५ गते यस क्षेत्रमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधन भएपछि उपचुनाव हुन लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ जना आकांक्षीबाट भैरहवा निवासी डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेर चुनावी अभिायन जुटिसकेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने टुंगो लगाइसकेको छ । त्यस्तै राप्रपा छाडेर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका अजयकुमार गुप्ता र अर्को स्वतन्त्र लेखनाथ गैरेलगायत घरदैलामा जुटिसकेका छन् ।
एमालेबाट ५ जना आकांक्षी देखिए पनि अहिलेसम्म ‘फाइनल नाम’ कस्को हुन्छ भन्नेमा अन्यौल छ । पूर्व राष्ट्रिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, पार्टीका प्रदेश सदस्य तथा सिद्धार्थनगर (भैरहवा) का पूर्व मेयर हरि अधिकारी, व्यवसायी शशि पौडेल, अमृता गुरूङ र यज्ञजित शाह आकांक्षी छन् । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको विधान महाधिवेशनपछि मात्र उम्मेदवार टुंगो लाग्ने बताउँछन् । ‘चुनावी गतिविधि जारी छन,’अध्यक्ष कंडेल भन्छन्, ‘पार्टीबाट ५ जना आकांक्षी हुनुहुन्छ, त्यसमध्येबाट एक जना उम्मेदवार बन्नुहुन्छ । जनताको मन र मत दुवै जित्ने व्यक्ति उम्मेदवार बन्नुहुन्छ । चुनाव पनि हामी नैं जित्छौं, कुनै तालमेल पनि गर्दैनौं ।’ पार्टीले चुनावी गतिविधिलाई टोलटोलसम्म पु¥याएको अध्यक्ष कंडेललको भनाइ छ ।
गत निर्वाचनमा पराजित कांग्रेस पनि पार्टीका विभिन्न भेला, छलफल र चुनावी अवस्थाको अध्ययन गरिरहे पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँणले भुटानी शरणार्थी मुद्दाको अन्तिम किनारा लागे उनी फेरि उम्मेदवारको रुपमा अघि सर्ने कार्यकताहरु बताउँछन् । खाँणको मुद्दाको फैसला नआएको अवस्थामा पार्टीका वरिष्ठ नेता शेखर कोइराला र खाँणको पनि नजिक रहेका रामचन्द्र ढकाल उम्मेदवार हुने चर्चा कांग्रेसभित्र छ । यद्यपि कांग्रेसमा एमाले र अन्य पार्टीमा जस्तो आकांक्षीहरू को–को हुन् भन्ने सचेत अहिलेसम्म खुलेका छैनन् । खाँण, ढकालसँगै भरतकुमार शाह र प्रमोद यादव र सुशील गुरूङको पनि चर्चा छ । यादव यसअघि क्षेत्र नम्बर–४ र शाह क्षेत्र नम्बर ५ मा पराजित भएका नेताहरु हुन् ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले कांग्रेसले प्रायःजसो चुनावमा अन्तिम समयमा उम्मेवार टुंगो लगाउने गरेको बताए । म अहिले पनि चुनावी क्षेत्रमै खटिएको छु, महामन्त्री विश्वप्रकाश शर्मा पनि पटक–पटक आउनुभएको छ । कांग्रेस पुरानो विरासत फर्काउनेछ । हामी अहिलेको फरक परिस्थिति र माहोल बुझेको र क्षमतावान् उम्मेदवार अघि सार्नेछौं ।’ बाहिर हल्ला भएजस्तो जनमत त्यति तरल नआएको सभापति पुनको भनाइ छ ।
एक्लै चुनाव लड्ने बताउँदै आएको माओवादी केन्द्र पनि उम्मेदवार विषयमा अलमल छ । पार्टीबाट चार जना सोनिया यादव, फौज अहमद खाँ, मनिषकुमार जोशी र तीरबहादुर रोका चुनावी मैदानका आकांक्षी हुन् । तीमध्ये कस्लाई अघि सार्नेबार छलफल भइरहेको पार्टी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । हामी अहिले मजबुद अवस्थामा छौं, पार्टी अध्यक्षले पनि बुटवल आएर एक्लै चुनाव लड्ने बताउनुभएको छ । आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेपछि उम्मेदवार टुंगो लाग्छ ।’
माओवादीसँगै नेकपा एकीकृत समाजवादी पनि एक्लै चुनाव लड्ने कि तालमेल गरेर जाने ठोस निर्णय लिन सकेको छैन । यो नेकपा एसका महासचिव घनश्याम भुसालले २०७४ मा तत्कालीन एमालेमा रहँदा चुनाव जितेका थिए ।
एमालेसँग चुनावी तालमेल गरी चुनाव जितेको राप्रपाले पनि अहिलेसम्म उम्मेदवार फाइनल गर्न सकेको छैन । स्व.बोहोरा परिवारबाट तीन जनासहित ६ जना आकांक्षीको नाम केन्द्रमा एक महिनाअघि सिफारिस गरे अहिलेसम्म टुंगिएको छैन । अहिले आएर आन्तरिक चुनावबाट उम्मेदवार टुंगाउने बताएको राप्रपालाई चुनौती दिँदै जिल्लाका नेताहरु इन्टरनल इलेक्सन बहिरस्कार गर्ने बताएका छन् । यसले राप्रपामा पनि उम्मेदवार छनौट जटिल बनेको छ । राप्रपाबाट स्व. बोहोराका छोराहरु, प्रज्वल, गौरव, स्वाति थापा, सागरप्रताप राणा, बसन्तविक्रम शाही र दिलीप मल्लिक आकांक्षी छन् ।
यता जनमतबाहेकका मधेश केन्द्रित राजनीतिक दलले रेशम चौधरीले अघि सार्ने उम्मेदवारलाई सघाउने निर्णय गरिसकेका छन् । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दल दर्ता नहुँदा चुनावमा भाग लिन नपाउने भएको छ । नाउपाको आन्तरिक विवादले रेशम र अध्यक्ष रञ्जित श्रेष्ठले छुट्टाछुट्टै उम्मेदवार स्वतन्त्र उम्मेदवार बनाउने गरी तयारी गरेको बताइएको छ । चुनावमा अहिलेसम्म प्रमुख दलहरु एक्लाएक्लै जनमत परीक्षण गर्ने तयारीमा देखिन्छ । यो चुनाव ठूला दलहरुबिच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
रुपन्देही क्षेत्र कांग्रेस प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण गृहक्षेत्र पर्छ । २०७९ को चुनावमा कुनै भाषणविनै एमालेको साथले बहालवाला गृहमन्त्री खाँणलाई स्व.बोहोराले पराजित गर्नु सामान्य कुरा थिएन । खाँणलाई माओवादी केन्द्रसहितका गठबन्धनको साथ थियो । अहिले रूपन्देहीको उपचुनावको महौल अस्थिर देखिन्छ । अहिले पनि युवा र दक्ष नेताहरु आवश्यक पर्ने मतदाता बताउँछन् । यता कांग्रेसले आफ्नो पुरानो विरासत फर्काउनुपर्ने र सरकारको नेतृत्व गरेको एमालेले पनि चुनाव आफ्नो पोल्टामा पर्ने दबाबमा देखिन्छ । यता रास्वपाले भने पुरानाभन्दा योपटक जनताले आफूहरुलाई रोज्ने भन्दै चुनाव जित्ने बताउँदै आएको छ । राप्रपाले पनि बोहोराको विरासत जोगाउन बताउँदै आएको छ । एमालेले बोनस निकाल्ने दाउमा रहेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुबिचको चुनावी गतिविधि तीब्र बनेका छन् । दलहरुको तयारी र आम चासोलाई हेर्दा रुपन्देहीको उपचुनाव पूरा ध्यान केन्द्रित छ । उपचुनावमा कांग्रेस, एमाले, रास्वपा र बिच प्रतिस्पर्धा हुने देखिन्छ । तनहुँ र चितवनको उपचुनावले उत्साहित देखिएको रास्वपा इलाममा सन्तोषजनक मतसमेत ल्याउन सकेको थिएन । रुपन्देहीमा भने रास्वपाको प्रचार र अभियान आक्रामक देखिन्छ । तर, एमाले कांग्रेससहित दलले अझै पनि प्रभावकारी चुनावी अभियानमा जुट्न सकेका छैनन् ।
२०७९ सालको चुनावमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार मत ल्याएका थिए । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए । रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।