रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

मेचीकाली संवाददाता

२४ भाद्र २०८२, मंगलवार
12 shares

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सोमबार बिहानदेखि जेन–जीले सुरु गरेको आन्दोलन मंगलबार पनि नराकिएपछि सम्भावित घटना र क्षति हुन नदिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान जारी गरेको सूचनामा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ । यसअघि हिजो सोमबार दिउसो ४ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा आदेश जारी भएको थियो ।