वालिङ भकुण्डेममा श्रीमद भागवत महापुराण सुरु, भगवतीको रथ बजार परिक्रमा

मेचीकाली संवाददाता

६ आश्विन २०८२, सोमबार
213 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा आज असोज ६ देखि १५ गते सम्म हुने श्रीमद् भागवत् महापुराण ज्ञान यज्ञ सञ्चालन्को लागि देवी भगवतीको रथ वालिङ बजार परिक्रमा गराइएको छ ।

वालिङ–१० भकुण्डेमा रहेको शिव पार्वती मन्दिरमा श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ—२०८२ आजदेखि सन्चालन हुने आयोजकले जनाएको छ । कथा वाचन पण्डित प्रकाश तिवारीले गर्नेछन् । यज्ञ १५ गतेसम्म नवदुर्गा अवधीमा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

नवदुर्गामा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खनालले बताए ।

अध्यक्ष खनालले भने धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि दशैंको आज घटस्थापनादेखि नवदुर्गा अवधीभर दुर्गा भवानीको आराधना एवम् महायज्ञको आयोजना गरिएको अध्यक्ष खनालले बताए । हाम्रो संस्कारसँग जोडिएको छ, नवदुर्गा भगवतीको आराधना पूजापाठ गर्ने, त्यही अन्तर्गत यसपटक वृहतरुपमा श्रीमद्देवी भागवत महापुराणम् ज्ञान यज्ञ—२०८२ को आयोजना गरिएको उनले भने । यो शुभ कार्यमा सहभागी भई पुण्यलाभ लिनका लागि अध्यक्ष खनालले आग्रह गरेका छन ।

युवा पण्डित प्रकाश तिवारीबाट कथा वाचन हुने र नारायण गौतमलगायतका राष्ट्रिय लोक भजन गायकहरुबाट दैनिक सङ्गीतमय हुने उनले बताए।
असोज ६ गते घटस्थापनाका दिन कलशयात्रासहित सुरु हुने यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ । दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवतमहापुराणम् झाँकीसहितको सङ्गीतमय कथा वाचन हुने छ । साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतमसहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ ।

नवदुर्गा पूजा व्यवस्थापन समितिको आयोजनामा हुने यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्वल सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।