स्वास्थ्य क्षेत्रमा जागेका आशा

मेचीकाली संवाददाता

४ पुष २०८२, शुक्रबार
48 shares

टोपलाल अर्याल

गुल्मी । यद्यपि बसाइसराइले बस्ती खाली हुँदै गएका छन् । बसाइसराइको कारणमध्ये स्वास्थ्य क्षेत्र प्रमुख हो । गाउँ नजिक राम्रो स्वास्थ्य सुविधा नहुँदा सहर खोजेका फर्किएनन् । अहिलेपनि शिक्षा र स्वास्थ्यकै लागि जन्मथलो छोड्नेहरु कैयन् छन् । तर, देश संघीय संरचनामा गएपछि स्वास्थ्य क्षेत्रभित्र थुप्रै आशा देखिएका छन् । बिरामी परे जाँज गर्ने ल्याब थिएनन्, बल्लतल्ल पाउने सिटामोलमा पनि स्वार्थ थियो । घारा, डोका र स्टिचरमा बोकेर सदरमुकाम हिँडेका कैयन् बिरामी अस्पताल पुग्न पाएनन् । धामीझाँक्री र जडीबुडीकै भरमा रोगले गालेर मर्न बाध्य व्यक्तिहरुमा दर्दनाक कथा छन् ।

स्थानीय तहपछि स्थानीय सरकारले स्वास्थ्यचौकीलाई पूर्वाधार सम्पन्न बनाएका छन् । स्वास्थ्यचौकीको पहुँच नपुगेको ठाउँमा सामुदायिक र शहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रबाह गरिरहेका छन् । धेरै स्थानीय तहले स्वास्थ्यचौकीहरुमा ल्याव र बर्थिङ्ग सेवा सञ्चालन गरेका छन् । सकेसम्म स्वास्थ्यचौकी नभए पालिकाको केन्द्रमा एम्बुलेन्स छन् । अहिले घरघरमा पुगेका कारण सार्वजनिक वा प्राइभेट गाडीहरुले पनि ठुलो अस्पतालसम्म पुग्न सजिलो बनाएको छ । अहिले टोलटोलमा स्वास्थ्य जनचेतना र अभियानमा सहजीकरण गर्ने महिला स्वास्थ्य स्वयसेविका छन् । पोषण, खोप, सरसफाइ, मातृशिसु, प्रसूति लगायतका क्षेत्रमा विशेष कार्यक्रम र अभियानहरु सञ्चालन भइरहेकाले स्वास्थ्य क्षेत्रमा सचेतना र उत्साह जागेको छ ।

गुल्मी अस्पतालः सेवा प्रवाहमा अब्बल, पूर्वाधारले सास्ती
अहिलेको अवस्थामा गुल्मी अस्पताल तम्घासले जीर्ण पूर्वाधारमा सेवा प्रवाह गरिरहेको छ । पुरानो भवनभित्र नयाँ सेवा बिस्तारका कैयन् चुनौति छन् । तर, पनि नजिकै बन्दै गरेको आधुनिक सुविधा सम्पन्न भवनको प्रतिक्षामा जसोतसो गरेर काम चलेको छ । सुरुमा जनशक्ति र उपकरण कम थिए । बिस्तारै समयअनुसारका उपचार प्रविधिको विकास र जनशक्तिहरुको वृद्धि हुँदै जाँदा गुल्मी अस्पतालमा सेवाग्राहीको निकै ठुलो भिड लाग्ने गरेको छ । अस्पतालबाट गुल्मी पश्चिम र अर्घाखाँचीका दुई स्थानीय तहका गरेर दैनिक सरदर २५० जनाले सेवा पाउँछन् । अहिले डाक्टरको कक्षमा कोचिएरभित्र छेरेपछि फर्किने उपाय खोज्नुपर्ने अवस्था छ ।

गुल्मी अस्पतालले पूर्वाधार नपाएको होइन् । नजिकै आधुनिक अस्पताल भवन निर्माण भइरहेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने भवन साढे चार वर्षसम्म तेस्रो पटक थपिएको समय सकिन थालेपनि अधुरै छ । चौतर्फी आलोचना र ताकेता हुँदा पनि रङ्गरोगन, विद्युतीय काम तथा फिनिसिङ्गको काममा निर्माण व्यवसायी अल्झिरहेका छन् । अन्तिमपटक थपिएको समय आगामी पुस १६ गतेसम्म छ । तर, कामको लयले बेलैमा काम हुने संभावना छैन । भारत सरकारको पूर्ण आर्थिक सहयोगमा अहिले सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट योजना कार्यान्वयन भइरहेको छ ।

अस्पताल भवन निर्माणको काम २०७८ असार १८ गते स्वच्छन्द/बानिया जेभी मकवानपुरले सम्झौता गरेको थियो । यो योजनाको रकम भ्याट बाहेक कुल २५ करोड ९४ लाख रुपियाँ रहेको सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवले बताए । उनका अनुसार गुल्मी अस्पतालको ८८ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति भएको छ । पछिल्लो समय गुल्मी अस्पतालले सेवा प्रबाहमा आर्जन गरेको शाख पूर्वाधारको कारण जोगाइरहन सकस देखिएको छ । अस्पताल भवन समयमै निर्माण नभएका कारण सेवा प्रवाहमा असहजता मात्रै नभएर सेवा प्रवाह बिस्तारमा समस्या भइरहेको गुल्मी अस्पतालका निमित्तले मेडिकल सुपरिटेडेण्ट विभव बस्यालले बताए ।

भवन अभावकै कारण आइसियु सञ्चालन र मिर्गौलाको डाइलाइयसिस सेवा बिस्तार हुन सकेको छैन् । भिडियो एक्सरे गर्न आउने बिरामीका कुरुवा बस्ने ठाउँ छैन् । त्योबाहेक इलेक्ट्रोनिक हेल्थ रेकर्डमा समय पुराना संरचना र वाइरिङ्गका कारण समस्या भइरहेको बस्यालले बताए । विशेषज्ञ र उपकण थपेर सेवा बिस्तार गर्न नयाँ भवन अपरिहार्य भएकाले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि भवन निर्माणले पूर्णता नपाएको गुनासो गरे ।
अस्पताल भवन समयमै निर्माण गर्न अस्पताल विकास समिति, प्रशासन र रेसुङ्गा नगरपालिकाले पनि सक्रियता पनि देखाएको छ । तर, काममा परिणाम आउन सकेको छैन ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आफूहरुले नागरिकको सेवा प्रवाहलाई सरल, सहज र सुविधायुक्त बनाउन लगानी गरिरहेको भएपनि निर्माण व्यवसायीले ढिला गरेर सास्ती दिइरहेको बताए । उनले भने,‘हामीहरुले जनताको लागि बिशेषज्ञ सेवा थप गरिरहेका छौँ तर बसेर सेवा सेवा प्रबाह गर्न मुस्किल परेको छ । निर्माण व्यवसायीसँग न्यूनतम नैतिकता पनि देखिएको छैन ।’
पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको संख्या २०८१÷०८२ मा ७८ हजार २५४ पुग्यो । यो एउटा स्वास्थ्य क्षेत्रमा पलाएको नयाँ आशा हो । कुनै समय बल्लतल्ल मेडिकल अधिकृत पाउने अस्पातलमा अहिले विशेषज्ञसहित १८ जना चिकित्सक छन् ।

गुल्मी अस्पतालको सफलतासँग स्थानीय सरकार रेसुङ्गा नगरपालिकाको ठुलो सहयोग रहेको छ । जसले नागरिकलाई गुल्मी अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्न छ जना विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ । यो पहिलो निर्णय भने पक्कै होइन् । सरकारले दरबन्दीअनुसारको जनशक्ति नपठाउँदा पहाडी जिल्लाहरुमा विशेषज्ञ चिकित्सकहरु बस्दैनन् । गुल्मी अस्पतालमा पनि १० जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी छ तर कहिल्यै दरबन्दीअनुसारका विशेषज्ञ नुहने भएकाले सेवाका लागि गुल्मेली नागरिक जिल्ला बाहिर जार्नुपर्ने समस्या रहेको थियो ।
यो बाध्यता बुझेकै कारण रेसुङ्गा नगरपालिकाले समुन्नतिको पहिलो आधार स्वास्थ्य क्षेत्रको विकाससँगै ‘गुल्मी अस्पताल मेरो अस्पताल’ बनाउने उद्देश्यका साथ अस्पतालमा लगानी गरिहरेको छ । प्रोत्साहन सुविधामार्फत एक जनाबाट छ जना विशेषज्ञहरुसम्म पु¥याएकाले आगामी दिनमा १० जनानै चिकित्स उपलब्ध गराएर सुविधासहित सेवा प्रदान गर्ने लक्ष्य नगरको रहेको छ ।

विशेषज्ञ सेवा, मिर्गौलाको हेमोडाइलोसिस सेवासहित उपकरणहरुमा समेत आफूहरुले सहयोग गरिरहेकाले भवनको काम सकिएपछि देशभरकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्न गुल्मी अस्पताल प्रशासनलाई रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीले आग्रह गरे ।
गुल्मी अस्पतालमा कार्यरत आन्तरिक चिकित्सा विशेषज्ञ डाक्टर विभव बस्याल, डाक्टर अर्जुन केसी, डाक्टर सुरेन्द्र क्षेत्री, हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटी, स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा र बाल रोग विशेषज्ञ प्राज्ञ शाक्यलाई नेपाल सरकारको तलब सुविधा बराबरको प्रोत्साहन रकम प्रदान गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । यसअघि हाडजोर्नी विशेषज्ञ डाक्टर शिवाकोटीले नगरपालिकाबाट प्रोत्साहन रकम पाउँदै आएका थिए ।

रेसुङ्गा नगरपालिकाकै सहयोग र समन्वयमा गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा प्रभावकारी बन्दै गएको छ । रेसुङ्गा नगरपालिकाले डेढ वर्षदेखि मेसिनहरु उपलब्ध गराएर मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ । १९ जनाले पाइरहेको सेवालाई आवश्यकता र प्रभावकारिता हेरेर बढाउन तीन मेसिन थपेर मिर्गौलाको डायलाइसिस गरिएको गुल्मी अस्पतालले जनाएको छ । अब ४० जनालाई सेवा प्रदान गर्न सकिने लक्ष्य अस्पतालको रहेको छ ।

दुर्गमदेखि गरिबसम्म आँखा उपचारको पहुँच
संसार चिहाउने आँखाको ज्योति नभए जीवन कस्तो होला । सचेतना र उपचार पहुँमा नभएका कारण अझै पनि कैयन्ले आँखाको ज्योति गुमाएर बिस्तारामै कष्टपूर्ण जीवन कटाएका छन् । तर, स्थानीय सरकार आएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको छ । सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेपेकी कुँवर गाउँपालिकाले सञ्चालन गरेको निशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने भइन् । उनले भनिन्,‘मैले आँखा देखौँला भनेर कल्पना पनि गरेकी थिइनँ । बाँचेपछि सबै देख्न पाइने रहेछ । भगवानसँग आँखा देख्दा–देख्दै मर्न पाइयोस् भनेर कामना गरेकी छु ।’

चन्द्रकोटको आँखा शिविरमा आएर बरेङ्ग गाउँपालिका–५ बाग्लुङ्गका ८६ वर्षीय लालबहादुर क्षेत्रीले पनि आँखाको शल्यक्रिया गरे । आँखाको उपचारले जीवन सहज मात्रै भएन । टाढाको यातयातको कष्ट र खर्च झेल्नुपरेन । मोतियाबिन्दुको कारण दुवै आँखा बन्द भएर कष्टकर दिन बिताएकी इस्मा गाउँपालिका–३ दर्लामचौरकी ९७ वर्षीया रत्नकला खरालले समेत शल्यक्रियापछि आँखा देख्न थालिन् । दाहिने आँखा बन्द भएको लामो समयपछि देब्रे आँखा पनि नदेख्ने रत्नकला उपचारको लागि अस्पताल पुगिन् ।

मोतियाबिन्दुको शल्यक्रिया गरेको रकम गाउँपालिकाले उपलब्ध गराउने भएकाले कुनै खर्च नभएको रत्नकलाका छोरा केशवराज खरालले बताए । उनले जिल्लामै हुने उपचार र शल्यक्रिया तथा स्थानीय तहले दिने सहुलियले बास्तवकै गाउँगाउँमा सिंहदरवारको अनुभूति गराएको बताए ।
गुल्मीका आठ स्थानीय तहले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियाको उपचार निशुल्क गर्ने गरेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रमा मासिक रुपमा नियमति ११ र १२ गते शल्यक्रिया हुँदै आएको छ । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा अनुन्धान केन्द्रका डाक्टहरुमार्फत बिरामीहरुको उपचार र शल्यक्रिया हुने गरेको छ ।

अहिलेसम्म रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, गुल्मीदरवार, छत्रकोट, धुर्कोट, सत्यवति, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाले मोतियाबिन्दुको शल्यक्रिया हुँदा लाग्ने नागरिकको सात हजार रुपैयाँ बेहोर्ने गरेको नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार मुसिकोट नगरपालिकाले आँखा उपचारको बिलका आधारमा भुक्तानी गर्ने गरेको छ । त्यस्तै मालिका, मदाने, रुरु, कालीगण्डकी र मुसिकोट नगरपालिकाले आँखा उपचार केन्द्रहरुमा जनशक्ति व्यावस्थापन र कार्यालय व्यवस्थातर्फ सहयोग गर्दै आएको कार्कीले बताए ।
जिल्लामा स्याथी रुपमा २०४५ सालबाट आँखा उपचार सेवा र २०४९ सालबाट शाखा स्थापना भएको नेपाल नेत्रज्योति संघका अहिले सदरमुकामदेखि गाउँगाउँमा उपचार केन्द्रहरु रहेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रले सदरमुकाममा नियमित सेवा दिएको छ भने दुर्गम गाउँहरुमा समेत मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरहरु गर्ने तथा प्राविधिक सहयोग गर्ने गरिरहेको नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताए ।

जिल्लाका १२ वटै स्थानीय तहले आँखा उपचार केन्द्रसँग समन्वय गरेर शिविर सञ्चालन गर्दा दुर्गममा वर्षाँैसम्म आँखाको समस्या झेलेर बसेकाहरु पनि उपचारको पहुँचमा आउन थालेको नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेले बताए । उनका अनुसार नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका अनुसार वार्षिक ३३ हजारको आँखा परीक्षण तथा पाँच सय बढी मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । २०८१ साउन १ गतेबाट नेपाल नेत्र ज्योति संघ पनि स्वास्थ्य बिमामा आबद्ध भएको छ । जसले आँखा उपचारमा स्वास्थ्य बिमाले धेरै नागरिकलाई सहज भएको संस्थाका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए ।

स्थानीय तहले नागरिकको पक्षमा सानो निर्णय गर्दा पनि ठुलो प्रभाव पर्ने गरेको छ । त्यसैकारण गाउँगाउँमा सिंहदरबारको परिकल्पना भएको हो । धुर्कोट गाउँपालिका आँखा उपचारको क्षेत्रमा भर्खरै जोडिएको छ । धुर्कोट गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियामा लाग्ने नागरिकको रकम एकमुष्ठ बुझाउने र हरेक महिनाको पहिलो शनिबार आँखा जाँच शिविर गर्ने गरेर नेत्र ज्योति संघसँग सम्झौता गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । यो कामले नागरिकको आँखाको उपचार सेवालाई सहज बनाउने भएकाले पीडा खेपेर घरमा नवस्न नागरिकलाई पोख्रेलले आग्रह गरे । यो वर्ष धुर्कोट, छत्रकोटसँगै चन्द्रकोट गाउँपालिकाले नेत्रज्योति संघसँग सम्झौता गरेका छन् ।