चुनाव घोषणापछि थपिए ८ लाख ३७ हजार मतदाता

मेचीकाली संवाददाता

८ मंसिर २०८२, आईतवार
19 shares
फाइल तस्वीर

बुटवल । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा झन्डै साढे ८ लाख जनाले पहिलोपटक मतदान गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार यसपालि आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताको समय कार्तिक मसान्तसम्म रहेकोमा आयोगले समय थप गरी शुक्रबार (कार्तिक ५ गते) सम्म मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम चलाएको थियो । शुक्रबार राति १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार यसपालि फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

थपिएका कुल मतदातामध्ये ४ लाख ७३ हजार २५५ पुरूष र ३ लाख ६३ हजार ७८० जना महिला र ६१ जना अन्य छन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिन मात्रै ७ हजार ८६२ जनाको विवरण दर्ता भएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या थप बढेको हो । गत कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो । योसँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार देशभरबाट संकलित मतदातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ । प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निवाएचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेको भन्दै आयोगले विज्ञप्ति नै निकालेर भनेको छ,‘संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने व्यहोरा जानकारी गराइन्छ ।’

यसैबिच निर्वाचनको लागि गुल्मीमा २ हजार ८०० सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म गुल्मी जिल्लामा २८ सय २३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लामा नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य भएको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसका अनुसार आन्तरिक मतदाता र वाह्य गरी सो संख्यामा मतदाताको नाम दर्ता भएको हो ।

जसमा महिला एक हजार १४३ र पुरुष एक हजार ६०९ जना गरी आन्तरिक मतदाता नयाँ दुई हजार ७५२ जना रहेका छन् । महिला ३१ र पुरुष ४० जना गरी वाह्य मतदाता नयाँ ७१ जनाको नाम दर्ता गरिएको छ । यस जिल्लामा मतदान स्थल परिवर्तन गरेका महिला ४७३ र पुरुष ३५७ गरी ८३० जना मतदाता छन् भने महिला ८३ पुरुष १२५ गरी २०८ जना मतदाताको त्रुटि सच्याइएको छ । नयाँ थपिएका मतदाता अधिकांश युवा पुस्ता छन् । नयाँ दर्ता एका अधिकांश मतदाताले आफैँ मोबाइल वा कम्प्युटरबाट फाराम भरेर कार्यालयमा बायोमेट्रिक गरेका थिए ।
त्यसैगरी, राष्ट्रिय परिचयपत्रबाट लिङ्क गरेर मतदाता नामावलीमा चार हजार ४९६ जनाले नयाँ नाम दर्ता गराएको सूचना अधिकारी श्रीसले जानकारी दिए । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहेका थिए । जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहेका थिए । यस जिल्लामा २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान स्थल रहेका निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकामा दुई लाख २३ हजार ८४७ जना रहेको बताइएको छ ।

चुनावका लागि ३५ दल दर्ता
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १० गतेसम्म दल दर्ता गर्नुपर्ने भनेको छ । आयोगका अनुसार शुक्रबारसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

हालसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल, चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा, अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले दल दर्ता गरेका छन् ।
त्यस्तै डोलप्रसाद (डिपी) अर्याल कार्यवाहक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले दल दर्ता गरेको छ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले एकता गरी गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि दल दर्ता गरेको छ ।