एमाले केन्द्रीय सदस्यमा युवा नेता गोपाल रानाद्वारा उम्मेदवारी घोषणा

मेचीकाली संवाददाता

२७ मंसिर २०८२, शुक्रबार
85 shares

बुटवल । नेकपा (एमाले)को ११औं महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । रुपन्देहीका युवाहरुमाझ लोकप्रिय रानासँग एमालेका विभिन्न कमिटीमा रहेर काम गरेको करिब ३ दशक लामो अनुभव छ ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित निर्वाचित भएका रानाले युवा नतृत्वलाई जोड दिँदै आएका छन् । विभिन्न समयमा रुपन्देहीमा हुने युवा आन्दोलनलाई नेतृत्व तथा सहयोग गर्दै आएका राना यहाँका सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन् ।

युवाहरुलाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनु पर्छ भन्ने मान्यता राख्दै आएका उनी युवामाझ आदर्श र लोकप्रिय व्यक्तित्वका रुपमा परिचय बनाएका छन् ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य रहेका राना युवा र पार्टी नेतृत्व बीच समन्वयकारी भूमिकामा सफल रहँदै आएका छन् । उनीसँगै राजनीतिक यात्रा सुरु गरेका विभिन्न व्यक्तिहरु पटक(पटक लाभको पदमा पुगेर जिम्मेवारी सम्हाले पनि उनले भने हालसम्म कुनै लाभको पदमा नरही काम गरेका कारण रुपन्देहीको निश्कलंक व्यक्तिको रुपमा परिचय स्थापित गर्न सफल भएका छन् ।