बुटवल । नेकपा (एमाले)को ११औं महाधिवेशनमा घनश्याम कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक न्याय, समानता र शोषणमुक्त समाज निर्माणका लागि ४० वर्ष अघि कम्युनिस्ट आन्दोलनमा होमिएका कोइरालाको जन्म नवलपरासी जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा भएको हो । सामान्य परिवारमा जन्मीएका कोइराला सानै उमेरमा संस्कृत शिक्षा अध्ययनका लागि भारतको हरिद्वार पुगे । हरिद्वारमा संस्कृत व्याकरण, नेपाली र साहित्यको अध्ययनसँगसंगै माक्र्सवादी विचारधाराबाट प्रभावित भएका उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । सानै उमेरदेखि जिज्ञासु र अध्ययनशील स्वभावका कोइरालाले पढाइसँगै विद्यार्थी–आन्दोलनलाई संस्थागत स्वरूप दिन महत्वपूर्ण योगदान पु¥याए ।
कोइराला प्रवासी नेपाली संघ, भारतमा ११ वर्षसम्म महासचिव बने । प्रवासमा रहँदा तत्कालीन नेकपा (माले) को भारत प्रवास समन्वय कमिटी सदस्यदेखि सचिवालय सदस्य र सचिवसमेतको जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थिए । नेकपा एमालेको पाँचौ, छैटौँ र आठौँ महाधिवेशनमा प्रतिनिधि भएर सहभागी हुँदा उनि कुनै जागिर–पेसा नगरी पूर्णकालीन संगठनकर्मीको रुपमा खटिए ।
भारतबाट प्रकाशित हुने पार्टीको समाचार बुलेटिन सिमानापारीको प्रधान सम्पादक तथा युगपुकार, प्रवासी नेपाली आवाज,चासो आदि पत्रिकामा सम्पादकको जिम्मेवारी कुशलता पूर्वक सम्हालेका कोइरालाले कलम र संगठन—दुवैबाट नेपाल र नेपाली समाजका मुद्दा निरन्तर उठाइरहे ।
प्रवासमा रहँदा प्राप्त जिम्मेवारी सम्पादनमा अब्बल देखिएका कोइरालाले पुर्णकालीन राजनीतिकर्मीको रुपमा आफुलाई समर्पित गरे । अध्ययनसँगै पार्टीको जिम्मेवारी पूरा गरेर उनि २०५९ सालमा नेपाल फर्किए । नेपाल फर्किएपछि नेकपा (एमाले) नवलपरासी जिल्ला कमिटी सदस्य, उप–सचिव, संगठन विभाग प्रमुख— जस्ता जिम्मेवारीमा रहदै निरन्तर संगठन निर्माणमा केन्द्रित ररे ।
२०६५ सालमा पार्टीको राष्ट्रिय परिषदमा निर्वाचित भएका कोइराला लुम्बिनी अञ्चल समन्वय कमिटी, अञ्चल पार्टी स्कुल विभागको उपप्रमुख, मानव अधकार एलायन्स फाँटको प्रमुख, मानव अधिकार एलायन्सको पश्चिमाञ्चल विकास क्षेत्रीय कमिटीको उपाध्यक्ष रहेर काम गरेका छन् ।
२०६८ सालदेखि पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दासम्म नेकपा(एमाले) केन्द्रीय स्कुल विभागमा रहेर काम गरे । हाल उनि केन्द्रीय पार्टी स्कुल विभागको सचिवको जिम्मेवारीमा रहेका छन् । गुरुकुलीय जीवनबाटै एमालेको पुर्णकालीन राजनीतिक यात्रामा सहभागी कोइराला नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । ४ दशकभन्दा बढी एमालेको पुर्णकालीन राजनीतिमा सक्रिय उनको संगठनात्मक व्यवस्थापनमा कुशल भुमिका रहँदै आएको छ ।
अध्ययन, प्रशिक्षण, वैचारिक मार्गदर्शन र लेखन मार्फत राजनीतिक यात्रालाई अघि बढाइरहेका कोइराला पूर्वीय दर्शन, धर्म–संस्कृति, सुशासन, विकास अवधारणा, मानवअधिकारका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । प्रवासदेखि स्वदेशसम्मका नेता, कार्यकर्ता, विद्यार्थीहरुले उनलाई एक जिम्मेवार, अनुभवी, विकास अवधारणा भएको मार्गदर्शकका रूपमा मान्ने गर्छन् ।
एघारौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यका लागि उनको उम्मेदवारी विचार, विधि, विश्वास र विवेकको सूचक हो । पुर्वीय दर्शन, धर्म–संस्कृति, सुशासन, विकास अवधारणा, मानवअधिकारका विषामा निरन्तर अभ्यास र अध्ययन गर्नुभएका कोइराला पत्रपत्रिकामा नियमित सोच, सामाजिक जागरण, सांस्कृतिक चेतना र मानवमूल्यबारे उनले निरन्तर आवाज उठाइरहेका छन् ।
आस्था र संस्कृति, आँसुको भल, श्रद्धाञ्जलि, सामाजिक सचेतना तथा नेतृत्व विकास, बन्छ नेपाल, कोलकातादेखि बुटवलसम्म, श्यामबजारदेखि सौराहासम्म र अन्य धेरै सह–लेखन, अनुवाद, सम्पादन उनको बौद्धिक अभ्यासका प्रमाणहरू हुन् । समर्पण, जिम्मेवारी, वैचारिक स्पष्टता र संगठनप्रतिको निष्ठाको प्रतीक बनेर उभिएका कोइराला केन्द्रीय कमिटी सदस्यका लागि योग्य पात्र रहेको एमालेका नेताहरु बताउँछन् ।
