भैरहवा क्षेत्रका हाटबजारलाई व्यवस्थित गरिने

मेचीकाली संवाददाता

१ पुष २०८२, मंगलवार
31 shares

भैरहवा । सिद्धार्थनगर नगरपालिकाअन्तर्गत वडा नं. ५ र १३ मा लाग्दै आएको हाटबजारलाई फागुन मसान्तसम्म सोही स्थानमा व्यवस्थित रूपमा सञ्चालन गर्ने सहमति भएको छ । हाटबजार व्यवसायी संघ, भैरहवाले नगरपालिकासँग छलफलपछि खानेपानी र शौचालयको व्यवस्था गर्ने तथा अनावश्यक पर्खालहरू पुस मसान्तभित्रै हटाउने सहमति भएको जनाएको छ ।
हाटबजार व्यवसायी संघका अनुसार व्यापारीहरूलाई कुनै पनि हालतमा अन्यत्र जान बाध्य नबनाइने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ । संघले नगर प्रमुखको ध्यानाकर्षण गराउँदै हाल सञ्चालनमा रहेका हाटबजारहरूलाई व्यवस्थित गरी न्यूनतम मानवीय आवश्यकता पूरा गर्न माग गरेको थियो ।

संघका भैरहवा अध्यक्ष क्यामुद्दिन मुसलमानले हाटबजारको दीर्घकालीन समाधानका लागि स्थायी स्थल खोजी गर्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।
उनका अनुसार हाटबजार व्यवसायीका तर्फबाट मनोज जयसवाल, हाटबजार व्यवसायी संघ भैरहवाका संरक्षक प्रकाश खनाल तथा नगरपालिकाका प्रतिनिधि सम्मिलित समितिले उपयुक्त स्थायी स्थानको खोजी गरी सम्बन्धित निकायमा प्रस्ताव पेश गर्नेछ ।
ध्यानाकर्षण पत्रमा हाटबजार क्षेत्रको उचित व्यवस्थापन, फोहर व्यवस्थापन, सडक तथा सार्वजनिक स्थलमा अवरोध नहुने व्यवस्था र राजमार्ग तथा मुख्य सडक क्षेत्रमा आवतजावत सहज बनाउने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।
हाटबजार स्थानीय अर्थतन्त्र र दैनिक जीविकोपार्जनसँग जोडिएको विषय भएकाले समस्या समाधानमा नगरपालिकाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन् । संघले चाँडोभन्दा चाँडो समस्या समाधान गरी व्यवस्थित, सुरक्षित र मर्यादित हाटबजार सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ ।

ज्ञापन पत्रमार्फत हाटबजार व्यवसायी संघले हाटबजार सञ्चालन हुने क्षेत्रलाई स्थायी बजार क्षेत्रका रूपमा विकास गर्नुपर्ने, अस्थायी संरचना हटाउँदा व्यवसायीको रोजीरोटी प्रभावित नहुने गरी चरणबद्ध व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।
साथै वर्षौंदेखि सञ्चालनमा रहेका हाटबजारहरूलाई अव्यवस्थित भन्दै एकाएक हटाउनेभन्दा पनि व्यवस्थापन, पूर्वाधार सुधार र नियमनमार्फत सुधार गर्नुपर्नेमा संघले जोड दिएको छ । हाटबजारले स्थानीय उत्पादनको बजारीकरण, न्यून आय भएका वर्गको जीविकोपार्जन र उपभोक्तालाई सस्तो मूल्यमा सामग्री उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा सडक, नाली, बिजुलीका पोल, सरकारी कार्यालय र निजी संरचनाका कारण साँघुरो बनेका हाटबजार क्षेत्रहरूलाई व्यवस्थित गर्न नगरपालिका, जिल्ला प्रशासन र सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको औंल्याइएको छ । साथै प्रमुख राजमार्ग र मुख्य सडकमा अनावश्यक अवरोध नहुने गरी हाटबजार व्यवस्थापन गर्न तथा कर प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन पनि माग गरिएको छ । संघले नगरपालिकाको सक्रियतामा समस्या समाधान भए हाटबजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै लैजान सकिने हाटबजार ब्यवसायी संघ भैरहवाका संयोजक प्रकाश खनालले बताए ।