भुमिकास्थानका नागरिकलाई अब निःशुल्क रक्त सेवा

नगर प्रमुख झबिलाल थापा र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायद्धारा सम्झौतामा हस्ताक्षर

मेचीकाली संवाददाता

२ पुष २०८२, बुधबार
104 shares

बुटवल । स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको भुमिकास्थान नगरपालिकाले निःशुल्क रक्त सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब नगर भित्रका बासिन्दालाई रगतका लागि कुनै प्रकारको शुल्क तिर्नु नपर्ने भएको छ । बुधबार एक कार्यक्रमकाबीच भुमिकास्थान नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाबीच निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा भुमिकास्थान नगरपालिकाका तर्फबाट नगर प्रमुख झबिलाल थापा र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले हस्ताक्षर गरेका छन् ।

अब भुमिकास्थान नगरपालिकाका बासिन्दाले नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) बाट निःशुल्क रगत तथा रक्ततत्व प्राप्त गर्न सक्ने नगर प्रमुख थापाले बताए । उनले यो सम्झौताले नगरवासीको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘भुमिकास्थान अब रक्त सेवा शुल्क मुक्त नगर भएको छ । रगत अभावका कारण कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’ नगरप्रमुख थापाले भने, ‘यो सेवाले बिरामीलाई राहतका साथै स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’ आगामी दिनमा रक्तदान संस्कृतिलाई अझ सशक्त बनाउँदै लैजाने उनले बताए ।

निःशुल्क सेवा उपलब्ध गराएवापत नगरपालिकाले प्रति युनिट ९५० रुपैयाँ सेवा शुल्क नेपाल रेडक्रस सोसाइटीलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ सालसम्म लागू हुनेछ । निःशुल्क रक्त सेवा लिन नगरपालिकाका बासिन्दा भएको प्रमाण खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । आकस्मिक अवस्थामा कागजात तत्काल पेश गर्न नसकेमा पहिले सेवा शुल्क बुझाई २४ घण्टाभित्र कागजात पेश गरेमा उक्त रकम फिर्ता गरिने व्यवस्था गरिएको छ । सम्झौतामा रक्तसञ्चार सेवाको खर्च विवरणसहितको प्रतिवेदन प्रत्येक त्रैमासिक १५ गतेभित्र बिलसहित नगरपालिकामा पेश गर्नुपर्ने उल्लेख छ । साथै सेवा प्रदान गर्दा बिरामीको नामावली, उपलब्ध गराइएको रगत वा रक्ततत्वको किसिम तथा लागेको शुल्कसहित आवश्यक कागजात संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ ।

साथै नगरपालिकाले वार्षिक कार्ययोजना तयार गरी कम्तीमा वर्षमा दुई पटक नेपाल रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । रक्तसञ्चार सेवा सहज र निरन्तर बनाउन नगरपालिकाले अग्रिम रूपमा एक लाख रुपैयाँ नेपाल रेडक्रस सोसाइटीमा जम्मा गर्ने र उक्त रकम २० प्रतिशतभन्दा कम भएमा पुनः रकम थप गर्ने प्रावधान पनि सम्झौतामा समावेश गरिएको छ । यस्तै सम्झौतामा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट समयसमयमा तोकिएको रक्त सेवा शुल्क परिमार्जन भएमा सोहीअनुसार लागू हुने उल्लेख छ । आपसी सहमतिमा सम्झौताको अवधि तथा शर्त थपघट गर्न सकिने र प्रत्येक वर्ष कम्तीमा एक पटक दुवै पक्षको सहभागितामा समीक्षा बैठक आयोजना गर्ने सहमति पनि भएको छ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरे, नेपाल रेडक्रस सोसाइटी बुटवल शाखा प्रमुख राधा ज्ञवाली, जिल्ला रक्क्त सञ्चार केन्द प्रमुख शुसिल गुरुङ, अघाँखाची भुमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्वासे, उपाध्यक्ष रामप्रमाद भुषाल, सचिव यमप्रसाद गैरै, सदस्य तथा सल्लाकारहरु गोपाल प्रसाद बन्जाडे, ज्ञान प्रसाद पाण्डे, उमलाल बन्जाडे, ज्ञानु पाण्डे र शंकर प्रसाद पौडेलको उपस्थिती रहेको थियो ।

यस्तो छ सम्झौता पत्र