मेचीकाली तिनाउ सहकारीको अध्यक्षमा पुनः भण्डारी

मेचीकाली संवाददाता

६ पुष २०८२, आईतवार
22 shares

बुटवल । बुटवल–६ स्थित मेचीकाली तिनाउ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट पुनः डिल्लीराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा सोमनाथ पाठक, सचिवमा सवितादेवि निरौला, कोषध्यक्षमा भेषराज पाण्डे चयन भएको निर्वाचन अधिकृत तथा संस्थाका पूर्व सल्लाहकार बसन्तराज खनालले जानकारी दिए । यस्तैगरी सदस्यहरुमा ऋषिराम बश्याल, हुमनाथ पाण्डेय, रामप्रसाद पन्थी, सारदा भुसाल न्यौपाने र हरिकला पन्त रहेका छन् । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा टिकाराम भट्टराई र सदस्यहरुमा चिरञ्जीवी अधिकारी र मिरा केसी श्रेष्ठ चयन भएका छन् ।

साधारणसभाको संस्थाका पूर्व सल्लाहकार कौशलराज बश्यालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले पछिल्लो समय कतिपय सहकारीहरुका कारण सिंगो सहकारी अभियानमा प्रश्न उठेको बताए । सहकारीले लगानीका क्षेत्रको विस्तार गर्दै हरेक सदस्यहरुलाई उद्यमका क्षेत्रमा जोड्न जरुरी रहेको भन्दै उनले लगानीअनुरुपको उच्च प्रतिफल हासिल गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने सुझाव दिए । आफू शेयर सदस्य रहेको सहकारी कसरी सञ्चालन भइरहेको छ, कस्तो क्षेत्रमा लगानी गरिएको छ भन्नेबारे बुझ्न र खवरदारी गर्न आग्रह गरे ।

राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगीता धितालले मुलुकको अर्थतन्त्र चलायन बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन् । सहकारीबाट लिएको ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गरि आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा उनले जोड दिइन् । सहकारीका ऐन नियमको पालना गरी सञ्चालमा रहेका सहकारीमा समस्या नरहेको बताउँदै उनले संस्थालाई बलियो बनाउन शेयर सदस्यले खबरदारी गरिहनुपर्नेमा जोड दिइन् ।

स्थाका अध्यक्ष डिल्लीराज भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि गरेका विभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । सहकारीको सिद्धान्तअनुरुप संस्था अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि बढेको उल्लेख गरे । वित्तीय क्षेत्रको प्रतिस्पर्धा, लगानीका क्षेत्र, सदस्यहरुको वितृविकास, आधुनिक वित्तीय प्रणालीको समेत अबलम्बन गर्दै यसक्षेत्रमै उत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ नीति कार्यक्रम र योजना बनाइएको अध्यक्ष भण्डारीले बताए । डिजिटल बैंकिङ, सहज सेवा सुविधा, आकर्षक ब्याजदर, धितोको सहज एवम् वैज्ञानिक मूल्यांकन, सदस्यहरुमा वित्तीय साक्षरतालगायतका नयाँ कार्यक्रम समावेश गरेर योजना बनाइएको उनले बताए ।

लेखा सुपरीवेक्षण समितिको तर्फबाट सदस्य पिताम्बर अर्यालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भेषराज पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार मेघराज भण्डारी, सामुदायिक आस्था बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा संस्थाका सदस्य खेमप्रसाद लुइँटेल, शेयर सदस्यद्वय हेमबहादुर रावल, कृष्णकला ढकाल, सम्मानित विद्यार्थी योजिना अर्याललगायतले बोल्दै शुभकामना व्यक्त गरेका थिए ।

हाल सहकारीमा १ हजार ७९ जना शेयर सदस्य रहेका छन् । २ करोड २५ लाख ३ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीले १६ करोड ९७ लाख ४ हजार ४८३ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै १७ करोड ८८ लाख ३१ हजार ६५९ रूपैयाँ कुल बचत (निक्षेप) रहेको छ । साधारणसभाका अवसरमा संस्थाका पूर्व कार्यसमिति, एसईईमा सर्वोत्कृष्ट नतिजासहित उत्तीर्ण हुने सेयर सदस्यका छोराछोरी, उत्कृष्ठ बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्यहरुलगायतलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक बादल आचार्यले जानकारी दिए । उपाध्यक्ष सोमनाथ पाठकले स्वागत तथा सचिव गीता गौतम ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।