रूपन्देही विद्युतीय व्यवसायी संघ: व्यवसायसँगै समाजको उज्यालो यात्रा

मेचीकाली संवाददाता

७ पुष २०८२, सोमबार
17 shares

श्रीराम ज्ञवाली

बुटवल । व्यवसाय केवल नाफामुखी गतिविधि होइन, समाजप्रति उत्तरदायित्व वहन गर्ने महत्वपूर्ण माध्यम पनि हो भन्ने उदाहरण बनेको छ–रूपन्देही विद्युतीय व्यवसायी संघ । विसं. २०६७ सालमा विधिवत् स्थापना भएको यो संघको यात्रा बुटवलका विद्युतीय व्यवसायीहरूले २०६५ सालमा स्थापना गरेको बुटवल विद्युतीय व्यवसायी संघबाट सुरु भएको हो । पछि जिल्लाभरका विद्युतीय व्यवसायीलाई समेट्दै यो संस्था रूपन्देही जिल्लाको छाता संगठनका रूपमा विकसित भयो ।

जिल्ला संघ गठन हुनु अघि महासंघको मातहतमा सीमित सहजीकरण भए पनि व्यवसायीका समस्या, अधिकार र सांगठनिक गतिविधिमा अपेक्षित सहजता थिएन । संघ स्थापना पश्चात भने व्यवसाय सञ्चालन, आपसी सहकार्य, हकहित संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको अध्यक्ष सागर खरेलको भनाइ छ । अध्यक्ष खरेलले आफूहरु व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै समर्पित भएर लागेको बताए ।

संघले तिलोत्तमा नगरपालिका–७, भलबारीमा आफ्नै भवनमा कार्यालय सञ्चालन गरिरहेको छ, जुन व्यवसायीहरूको साझा पहिचान बनेको छ । हाल संघमा ३२० जना सदस्य आबद्ध छन् भने रूपन्देहीका ६ वटा नगर संघहरू यसअन्तर्गत क्रियाशील छन् । सबै विद्युतीय व्यवसायीलाई संघमा आबद्ध गराउने नीति संघले लिएको अध्यक्ष खरेलले स्पष्ट पारे । विद्युतीय व्यवसाय जोखिमपूर्ण भएको यथार्थलाई आत्मसात् गर्दै संघले सदस्य व्यवसायीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरेको छ । साथै प्राविधिकहरूको सुरक्षा र दक्षता अभिवृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रमहरू नियमित सञ्चालन हुँदै आएका छन् । संघले सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिएको छ । नाकाबन्दीको समयमा पेट्रोल वितरण, भूकम्पपीडितलाई त्रिपाल र खाद्यान्न सहयोग, कोरोनाकालमा कोभिड भ्याक्सिनको व्यवस्था, नियमित रक्तदान कार्यक्रम, मानव सेवा आश्रममा खाना तथा कपडा वितरण जस्ता कार्यले संघलाई समाजसेवामा उदाहरणीय बनाएको छ । संघ मानव सेवा आश्रम र नियमित रक्तदाता संघको आजीवन सदस्यसमेत हो ।

संघको भवनमै क्रियापुत्रीहरूका लागि छुट्टै भवन निर्माण गरिएको छ, जहाँ स्वच्छिकबाहेकका सेवा निःशुल्क प्रदान गरिन्छ । यो कार्य विद्युतीय व्यवसायी र सरकारको सहयोगमा सम्पन्न भएको हो । हालका अध्यक्ष खरेलले अघिल्ला नेतृत्वका योजनाहरूलाई निरन्तरता दिँदै संस्थालाई थप गतिशील बनाउने लक्ष्यसहित कार्य गरिरहेको बताउँछन् । नेपाल विद्युत उत्पादनमा सम्भावनायुक्त देश भएकाले विद्युतीय व्यवसायको भविष्य उज्यालो रहेको उनको विश्वास छ ।

उनले व्यवसायी, उपभोक्ता र सरकारबिच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सामाजिक कार्य र व्यवसायी प्रोत्साहनलाई प्राथमिकता दिने योजना अघि सारेका छन् । संस्थापक अध्यक्ष अनन्तमान थैवले विगत सम्झँदै विद्युतीय व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण बदल्न संघ सफल भएको बताउँछन् । गुणस्तरीय विद्युतीय सामग्री प्रवद्र्धन, कमिसनजस्ता विकृति हटाउने र पेशालाई मर्यादित बनाउने अभियानमा संघ निरन्तर क्रियाशील रहेको उनको भनाइ छ ।

संघले हालसम्म सातजना अध्यक्षको नेतृत्व अनुभव गरिसकेको छ । व्यवसायसँगै समाज उज्यालो बनाउने यो संस्थाको यात्रा आज रूपन्देहीको आर्थिक र सामाजिक विकासको भरोसायोग्य आधार बन्दै गएको अध्यक्ष खरेलको दाबी छ ।