अमृत गिरी
बुटवल । राष्ट्रिय राजमार्गको रुपान्तरणकारी आयोजना मानिएको बुटवल–गोरुसिंगे सडक विस्तारको काम जारी छ । तर, निर्माण सुरु भएको झण्डै एक वर्ष हुनैलाग्दा पनि यसका लागि नदीजन्य सामाग्री र माटोको अभाव भइरहेको छ ।
संरचना निर्माणका कामले गति लिएपनि आधारभूत सडक विस्तारको कामलाई भने निर्माण सामाग्री (माटो र नदीजन्य) अभावले अवरोध गरिरहेको छ । झण्डै ३० लाख घनमिटर सामाग्री चाहिनेमा हालसम्म मुस्किलले ५ लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ ।

बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर लम्बाइको सडकलाई दुई लटमा विभाजन गरी निर्माण भइरहेको छ । दैनिक सयौं कामदार र अत्याधुनिक उपकरणसहित निर्माण कम्पनी फिल्डमा भएपनि माटो र नदीजन्य सामाग्रीको अभावले समग्र काम प्रभावित भएको र स्रोतको खोजीका लागि धेरैतिर भौंतारिनु परेको निर्र्माण कम्पनीका प्लानिङ इन्जिनियर राजकुमार श्रेष्ठले बताए ।
उनले यसक्षेत्रका पालिकाहरुलाई सम्भावित स्रोतको खोजी गरि आवश्यक प्रक्रिया पूरा गरेर माटोजन्य सामाग्री उत्खनन् गर्नका लागि कैयौं पटक अनुरोध भइरहेको र हालसम्म पहिचान भएका स्रोतमा पनि अति न्यून मात्रामा मात्रै सामाग्री पाइएको बताए ।
सामाग्रीको आपूर्तीका लागि आयोजना कार्यालयले पनि सामाग्री उपलव्ध गराउन आग्रह गर्दै पत्राचार, अनुरोध पत्र देखि कैयौं पटक आग्रह गरेको छ । तर, उपलव्धताको सुनिश्चितता हुन सकिरहेको छैन ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सडक विस्तारका लागि सम्झौता गरि गत वर्ष माघदेखि काम सुरु गरेको हो । दोस्रो चरणमा बेल नदीदेखि चन्द्रौटा सम्मको १९ किलोमिटर दुरीको खण्डमा ठेक्काको प्रक्रिया चलिरहेको छ ।

पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्तरको बनाउने गरी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै यो लगायतका सडकलाई विकास सहायता कार्यान्वयन महाशाखा अन्तर्गत समावेश गरी सडक विभाग, बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय नै बुटवलमा स्थापना गरेर काम भइरहेको छ । यो संगै राजमार्गहरुलाई एसियाली स्तरका बनाउन आवश्यक स्रोतको खोजी गर्ने, सुनिश्चित गर्नेदेखि अन्य प्रक्रियागत काममा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको ठूलो योगदान छ ।
विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर (नेपाली ३५ अर्ब रुपैयाँ) उपलब्ध गराउने सम्झौता भएसँगै राजमार्ग निर्माण भएको ६२ वर्षपछि यो सडक खण्डको स्तरोन्नति हुन लागेको हो ।
लट–१ (बुटवल–कोठी नदी) २५ किमी
बुटवलदेखि रुपन्देहीको सैनामैना सालझण्डीदेखि केही परको कपिलवस्तुको सीमावर्ती क्षेत्र कोठी नदीसम्मको सडक खण्डमा विस्तारको काम भइरहेको छ । यो खण्डमा मात्रै ८ लाख ७१ हजार घन मिटर नदीजन्य सामाग्री आवश्यक पर्ने इन्जिनियर श्रेष्ठले बताए । तर, यहाँ हालसम्म जम्मा ६३ हजार घन मिटर मात्रै सामाग्री प्राप्त भएको छ, जुन सैनामैना नगरपालिकाको पहलमा उपलब्ध भएको हो ।
अरु सामाग्रीका लागि बुटवल उपमहानगरलगायतका पालिकाहरुसंग आग्रह गरिरहेपनि सुनिश्चित हुन सकेको छैन । यहीँ खण्डमा माटो फिलिङका लागि आवश्यक ८ लाख ७९ हजार घन मिटरमध्ये हालसम्म २७ हजार घन मिटर मात्रै संकलन भएको छ । बाँकी सामाग्रीको जोहो हुन सकिरहेको छैन ।

हालै पाल्पाको तिनाउ गाउँपालिकासँग १ लाख घन मिटर माटो उत्खनन गर्ने सम्झौता भएपछि केही सहजता देखिएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलको भनाइ छ । यही खण्डको ४ किलोमिटर क्षेत्रमा माटो भर्ने काम भइरहेको छ ।
२५ किमीको खण्डमा ६७ वटा बक्स कल्भर्टमध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा पुगेको, दुईवटा एनिमल क्रसिङ लगभग सम्पन्न भइसकेको, १२ वटा ठूला पुलमध्ये अधिकांशमा पायलिङसहितको अन्तिम चरणमा पुगेको र ६ वटा बक्स ब्रीजमध्ये दुई स्थानमा निर्माण चलिरहेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुशलता न्यौपानेको भनाइ छ । स्थानीय तह, प्रदेश र संघीय तहका बीचमा थप समन्वय गरी सामाग्री व्यवस्थापन सहज बनाउनेतर्फ निरन्तर केन्द्रित रहेको उनले उल्लेख गरिन् ।
नाली निर्माणका लागि आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ । पाँच वटा भेहिकल अण्डरपासमध्ये नयाँगाउँमा निर्माण सुरु भइसकेको छ । यस लट अन्तर्गतको सडक खण्डमा हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका साइट इन्जिनियर पौडेलले बताए । यो खण्डमा दक्ष र अदक्ष गरि दैनिक ४८२ जना कामदार खटिएका छन् ।
लट–२ (कोठी नदी–बेल नदी) २५ किमी
कोठी नदीदेखि कपिलवस्तुको इमिलिया नजिकैको बेल नदीसम्मको सडक खण्डलाई आयोजनाको लट टू मानेर काम भइरहेको छ । यहाँ पनि सामाग्री अभाव उस्तै छ । यद्यपि लट वानमा भन्दा केही सहज छ । तर काम भने प्रभावित भएको छ ।
यो खण्डमा मात्रै ६ लाख २० हजार घन मिटर माटो आवश्यक पर्नेमा हालसम्म आधा अर्थात् ३ लाख घन मिटर प्राप्त भएको छ, जुन बुद्धभूमि नगरपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाबाट आपूर्ति भइरहेको आयोजनाका साइट इन्जिनियर पौडेलले जानकारी दिए ।
नदीजन्य सामाग्रीतर्फ ५ लाख घन मिटर आवश्यक भए पनि हालसम्म ९० हजार घन मिटर मात्रै उपलब्ध भएको छ, बाँकी सामाग्रीको व्यवस्थापन नहुँदा निर्माण प्रभावित भइरहेको प्लानिङ इन्जिनियर श्रेष्ठको गुनासो छ ।
यो खण्डमा ६६ वटा बक्स कल्भर्टमध्ये २६ वटा, १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा, ठूला ८ पुलमध्ये ६ वटा अन्तिम चरणमा पुगेका छन् । दुई वटा बक्स ब्रीजमध्ये एउटामा निर्माण भइरहेको छ ।
यहाँको १३ किलोमिटर क्षेत्रमा माटो भर्ने काम जारी छ भने ‘प्रिकास्ट नाली’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । यो खण्डमा हालसम्म करिब १९ प्रतिशत भौतिक र १४ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर पौडेलको भनाइ छ । दैनिक दक्ष र अदक्ष गरि ४६८ जना कामदार यस खण्डमा खटिएका छन् ।

धानखोला–लमही सडकखण्ड बनाउन झण्डै साढे ३ अर्ब
बुटवल । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार काठमाडौंमा एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी एमसीए–नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ । आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने भएको छ । नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसीए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको अर्थमन्त्रालका अधिकारीहरुको दाबी छ ।
