बुटवल । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन बहिष्कार गर्ने बताएका छन् । अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पूरा गर्न नसक्ने र पुरानै संसद्वादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले जेनजी बिद्रोहको नाममा भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यबादको इसारामा यो सरकार बनेको दावी गरे ।
उनले संसदीय व्यवस्था असफल भइसकेकाले अहिलेकै अवस्थामा चुनाव उपयोग गर्न नसकिने बताउँदै सुशीला कार्की नेतृत्वको सरकारले गराउने चुनाव विदेशी प्रतिक्रियावादी शक्तिहरुको डिजाइनमा चुनाव गराउन लागेको आरोप लगाए । देशभक्त, जनतान्त्रिक, वामपन्थी, र प्रगतिशील शक्तिहरुको बिचमा राष्ट्रिय राजनीतक सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरेर त्यो मोर्चाको नेतृत्वमा स्वाधीन संयुक्त सरकार बनाउनुपर्ने बताए । उनले फागुन २१ ग्ते हुने चुनाव विदेशी एजेन्टहरुको वर्चस्व कायम गरी आफ्ना एजेन्टहरुको सरकार बनाउने डिजाइन गरिएको दावी गर्दै उनले भने संसदीय व्यवस्था र यसभित्र हुने चुनावबाट देश अगाडि बढ्न नसक्ने बताए ।
कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई संसद्वादी पार्टी भएको दावी गर्दै यी संसद्वादी पार्टीहरु असफल भैसकेकाले देशलाई सही प्रकारले अगाडि बढाउनका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिए । बाबुराम आचार्यको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।
