३ रुपैयाँबाट सुरु भएको मुटु अस्पतालको सपना

–१२ वर्षमा पाँचभन्दा लाख बढी बिरामीलाई सेवा, प्रदेशभरि पायक पुग्नेगरी निःशुल्क डायलाइसिस

मेचीकाली संवाददाता

१० पुष २०८२, बिहीबार
252 shares

अमृत गिरी

बुटवल। विसं.२०७० पुस १० मा उपत्यका बाहिर पहिलोपटक मुटु उपचार सेवा सुरु गरेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले १२ वर्ष पूरा गर्दै लुम्बिनी प्रदेशको मात्रै होइन, देशकै एक अग्रणी सामुदायिक स्वास्थ्य संस्थाको पहिचान बनाएको छ । रूपन्देही उद्योग संघले २०६२ सालमा बुटवलमा मुटु अस्पतालको आवश्यकता महशुस गयो र अस्पताल स्थापनाको लागि संघले आयोजना गर्ने औद्योगिक प्रदर्शनीको प्रत्येक टिकटबाट ३ रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । त्यसैको विकसित रुप हो–अहिलेको मुटु तथा मिर्गौला रोग उपचार केन्द्र ।

त्यसबेला पहिलोपटक ४ लाख २३ हजार ४ सय ९० रूपैयाँ छुट्याइएको थियो । अगुवा तथा अस्पतालका अध्यक्ष एजाज आलम सम्झन्छन्, ‘त्यसबेला हौसला प्रदान गर्ने र आलोचना गर्ने दुवै उस्तैउस्तै थिए । ४ लाखले मुटु अस्पताल बन्छ तर आलोचना गर्नेले यो बुझ्न सकेनन् कि त्यो त बिजारोपण मात्र थियो ।’ बुटवलका समाजसेवी, उद्योगी, नागरिक अगुवा र रोटरी अभियानको सामूहिक पहलमा सुरु भएको अस्पतालले आज यहीँ बुटवलमै विश्वस्तरीय मुटु र मिर्गौला उपचार सेवा प्रदान गरिरहेको छ । बुटवलमा मुटुको सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सुरु भएको अस्पताल अहिले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक डायलाइसिस केन्द्र बनेको छ ।

मुटु उपचारसँगै २०७२ सालदेखि मिर्गौला डायलाइसिस सेवा सुरु गरेको अस्पतालले बुटवल, कपिलवस्तु, पाल्पा, स्याङ्जा र दाङमा निरन्तर सेवा दिइरहेको छ भने कतिपय केन्द्रमा २४ सै घण्टा डायलाइसिस सेवा उपलब्ध छ ।
२०७३ सालमा लुम्बिनी प्रदेशमै पहिलोपटक क्याथ ल्याब स्थापना गरेको अस्पतालबाट हालसम्म कोरोनरी एन्जियोग्राफी ३ हजार ८ सय ४२, एन्जियोप्लास्टी १ हजार ५ सय ४४, स्थायी पेसमेकर ३ सय ४८, अस्थायी पेसमेकर ६ सय ९३, पेरिकार्डियोसेन्टेसिस १ सय ३० सहित क्याथ ल्याबमार्फत मात्रै ६ हजार ५ सय ६४ जनाले अत्याधुनिक मुटु उपचार सेवा पाएको अस्पतालका अध्यक्ष आलमको भनाइ छ ।

मिर्गौला उपचारतर्फ बुटवलमा मात्रै २० मेसिनबाट २ सय ८६ जनाले नियमित डायलाइसिस गराइरहेका छन् । यो यहाँका कुनै पनि अस्पतालमा भइरहेको डायलाइसिसभन्दा धेरै हो । सरकारी अस्पतालमा समेत यतिको संख्यामा डायलाइसिस भइरहेको छैन ।
कपिलवस्तु, पाल्पा, वालिङ र लमहीका केन्द्रहरूमा गरी थप २ सय ४६ जनाले सेवा लिइरहेका छन् । अस्पतालका अनुसार लुम्बिनी प्रदेशमै सबैभन्दा बढी डायलाइसिस सेवा यहीँबाट भइरहेको छ । सामुदायिक अस्पतालले गरेको यो विशेष सेवा हो ।
‘स्वस्थ मुटु हाम्रो अभियान’ नारासहित सञ्चालनमा आएको अस्पतालले १२ वर्षमा मुटु, मिर्गौला र जनरल फिजिसियन सेवामार्फत ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । नेपाल सरकारको विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत यस वर्ष मात्रै मुटु र मिर्गौला उपचारमा १८ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेवा प्रदान गरिएको अस्पतालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सरकारी सोधभर्ना रकम ढिलाई भइरहे पनि सेवामा सम्झौता नगरेको र करोडौं रुपैयाँ सोधभर्ना हुन बाँकी रहेको अस्पताल व्यवस्थापनको भनाइ छ । यद्यपि, समयमै भुक्तानी नभए निःशुल्क सेवामा असर पर्न सक्ने चेतावनी दिँदै अध्यक्ष आलमले सामुदायिक स्वास्थ्य संस्थाको दिगोपनाका लागि सरकारी सहकार्य अपरिहार्य रहेको बताए । बाँकी रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि निःशुल्क उपचार सेवा रोक्न बाध्य हुने उनले बताए । अस्पतालले यस वर्ष मात्रै १ हजार ३ सय ८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको उपचार सेवा प्रदान गरेको छ ।

डायलाइसिसमा निरन्तर सेवा प्रवाह
२०७२ सालदेखि सुरु गरिएको निःशुल्क डायलाइसिस सेवाबाट हालसम्म ३ लाख ३३ हजार ७ सय २१ सेसन सेवा प्रदान गरिएको छ । मिर्गौला बिरामीका लागि १३ करोड ९४ लाख रुपैयाँ बराबरको निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराइएको छ । अस्पताल स्वयंले पनि १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको निःशुल्क उपचार गरी सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।

हाल ५५१ जना मिर्गौला रोगीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराइरहेको अस्पतालको तथ्यांक छ । अहिले बुटवलमा मात्रै मिर्गौलाको डायलाइसिस गर्नेको संख्या ३११ रहेको छ । २० वटा मेसिनबाट चौबीसै घन्टा सेवा प्रवाह गरिरहेको छ । कपिलबस्तु सामुदायिक मुटु अस्पतालमा ५७ जनाले १० वटा मेसिनबाट नियमित सेवा लिइरहेका छन् । यहाँ दुई सेसनमा डायलाइसिस भइरहेको छ । हप्ताको ६ दिन यहाँ सेवा प्रवाह हुँदै आएको छ ।

यसैगरी पाल्पा सामुदायिक डायलाइसिस सेन्टरमा मिर्गौला रोग लागेका ५९ जनाले नियमित सेवा लिइरहेका छन् । जिबिसी कै वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा पनि ६७ जनाले नियमित रुपमा सेवा लिइरहेका छन् । दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा पनि ५७ जनाले डायलाइसिस गराइरहेका छन् । मिर्गौला रोग विशेषज्ञ डा.रजत कायस्थको नेतृत्वमा ३५ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिइरहेका छन् भने अस्पतालमा ३ सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

माघ १ देखि निःशुल्क सेवा रोक्ने चेतावनी
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट प्राप्त हुनुपर्ने करिब १८ करोड रुपैयाँ समयमै भुक्तानी नहुँदा माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएको मुटु र मिर्गौलाको निःशुल्क उपचार सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

अस्पतालका अनुसार यस वर्ष मात्रै क्याथल्याबमार्फत १ हजार ३८४ मुटुका बिरामी र ५५१ मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार प्रदान गर्दै १८ करोड ५९ लाखभन्दा बढीको सेवा दिइएको छ तर लामो समयदेखि भुक्तानी नहुँदा चरम आर्थिक संकट उत्पन्न भएको छ । रकम अभावका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब, औषधी र उपकरण खरिदमा समस्या देखिएको र औषधी आपूर्तिकर्ताले समेत सप्लाइ रोक्न थालेपछि उपचार सेवा नै निरन्तरता दिन नसक्ने अवस्था आएको अस्पतालले जनाएको छ ।