लुम्बिनी सहकारीले मनायो २९ औं स्थापना दिवस

मेचीकाली संवाददाता

१० पुष २०८२, बिहीबार
8 shares

बुटवल । देशकै अब्बल सहकारीको रूपमा स्थापित भएको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विभिन्न कार्यक्रम आयोजना गरी २९औं स्थापना दिवस मनाएको छ ।

बिहीबार आयोजना गरीएको मूल समारोहको बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सहकारीका ऐन नियमको पालना गरी सञ्चालमा रहेका सहकारीमा समस्या नरहेको बताए । उनका अनुसार रुपन्देहीमा १ हजार सहकारी सञ्चालनमा रहेका छन्, समा बुटवल उपमहानगरभित्र करिब २५० सहकारी रहेपनि १३३ वटा सहकारी मात्रै स्थानीय तहमा दर्ता भएका छन् । पछिल्लो समय सहकारी तथा वित्तीय संस्थाहरुमा बचत अपचलन भएका, सञ्चालकहरु भागेका, कालो सूचीमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको अबस्थामा लुम्बिनी सहकारी भने अलग पहिचानका साथ सुरक्षित र स्तरीय वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल भएको भन्दै उनले यसलाई थप उचाइमा पु¥याउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । संस्थालाई बलियो बनाउन शेयर सदस्यको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आफू शेयर सदस्य रहेको सहकारी कसरी सञ्चालन भइरहेको छ । कस्तो क्षेत्रमा लगानी गरिएको छ भन्नेबारे बुझ्न र खवरदारी गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले जेनजी आन्दोलनका क्रममा उद्योगी व्यवसायीहरुले करोडौँको आर्थिक क्षति व्यहोरेको भन्दै कमजोर भएको अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी संस्थाहरुले भूमीका खेल्नुपर्ने बताए ।

संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक महेश्वरप्रसाद श्रेष्ठले पछिल्लो समय कतिपय सहकारीहरुका कारण सिंगो सहकारी अभियानमा प्रश्न उठेको बताए । सहकारीले लगानीका क्षेत्रको विस्तार गर्दै हरेक सदस्यहरुलाई उद्यमका क्षेत्रमा जोड्न जरुरी रहेको भन्दै उनले लगानीअनुरुपको उच्च प्रतिफल हासिल गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष त्रिविक्रम श्रेष्ठले संस्थाको हालसम्मको प्रगति, वित्तीय अवस्था र आगामी ३ वर्षे रणनीतिक योजनाहरूबारे जानकारी गराए । उनले सहकारीको सिद्धान्तअनुरुप संस्था अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि बढेको उल्लेख गरे । वित्तीय क्षेत्रको प्रतिस्पर्धा, लगानीका क्षेत्र, सदस्यहरुको वितृविकास, आधुनिक वित्तीय प्रणालीको समेत अबलम्बन गर्दै देशकै उत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ नीति कार्यक्रम र योजना बनाइएको अध्यक्ष श्रेष्ठले बताए । डिजिटल बैंकिङ, सहज सेवा सुविधा, आकर्षक ब्याजदर, धितोको सहज एवम् वैज्ञानिक मूल्यांकन, सदस्यहरुमा वित्तीय साक्षरतालगायतका नयाँ कार्यक्रम समावेश गरेर योजना बनाइएको उनले बताए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने भन्दै उनले सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा संस्थापक सदस्य रामेश्वरप्रसाद कसजू, पूर्व सञ्चालक द्वारिका प्रधान, बुटवल बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख आनन्दमान सिंह शाक्य, अन्टार्टीका भुवनसिंह विश्वकर्मा, शेयर सदस्य गिता पन्थी, यमनारायण भुर्तेललगायतले आआफ्नो भनाई राख्दै संस्था सदस्यमैत्री हुनुपर्नेमा जोड दिए । यस्तै शेयर सदस्य कृष्णप्रसाद कोइरालाले सहकारीसम्बन्धी कविता बाचन गरेका थिए ।

२०५४ सालमा ३८ जना शेयर सदस्यको अगुवाइमा एक/एक लाख रुपैयाँ संकलन गरी ३८ लाख शेयर पूँजीबाट स्थापना भएको सहकारीमा हाल ४ हजार ५ सय बढी शेयर सदस्य रहेका छन् । जसमा ५० प्रतिशत बढी महिला सदस्य रहेका छन् । हाल संस्थाको शेयर पुँजी १४ करोड ८० लाख पुगेको छ भने संस्थागत पुँजी झण्डै १५ करोड रहेको छ । यस्तै सहकारीले विभिन्न क्षेत्रमा ६४ करोड बढी ऋण लगानी गरेको छ भने जिल्ला र प्रदेशमै उत्कृष्ट सहकारीको पुरस्कार र सम्मान पाएको सहकारीका व्यवस्थापक बिनोदप्रताप जबराले बताए । हाल सहकारीले बुटवल–४ राममन्दिर लाइनमा प्रधान कार्यालय तथा देविनगर, बेलबास र भलुहीमा सेवा केन्द्र विस्तार गरी सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष तथा संरक्षक महेश्वरप्रसाद श्रेष्ठ, पूर्व सञ्चालक, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक शेयर सदस्य, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी, डाक्टर, इन्जिनियर, सीए उपाधि प्राप्त गरेका तथा कक्षा १२ मा सर्वोकृष्ट नतिजा ल्याउन सफल शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरी, सञ्चारकर्मीहरु लगायतलाई सम्मानसमेत गरिएको थियो । सहकारीले स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाई, आधारभूत सहकारी तालिम, आश्रममा खाना खुवाउने, रक्तदानलगायतका कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका उपाध्यक्ष मुक्तिप्रसाद श्रेष्ठको स्वागत, कोषाध्यक्ष सुजिता शेरचनको धन्यवाद ज्ञापन तथा सचिव उमा रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।