रमेश पराजुली
बुटवल। देशकै अब्बल नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं २०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसहित महोत्सवको तयारीमा जुटेको छ ।
आइतबार पत्रकार सम्मेलन गरी विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले सप्ताहव्यापी रुपमा आयोजना हुने महोत्सवका कार्यक्रमबारे जानकारी गराए । उनका अनुसार पुस २२ गते आयोजना हुने महोत्सवको मूल समारोहको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन् ।
स्वर्ण महोत्सवका अवसरमा पुस १४ गते जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको छ । यस्तैगरी १७ र १८ गते नगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता, २० गते आँखा शिविर र २१ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । यस्तैगरी मूल समारोहमा झण्डोत्तलन तथा स्वर्ण महोत्सव स्तम्भ–२०८२ अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवा दल, स्काउट र अन्य विद्यार्थीहरुबाट मार्चपास, विविध र्साकृतिक कार्यक्रम, पिटि प्रदर्शन, उत्कृष्ट विद्यार्थी, शिक्षक कर्मचारी, सञ्चारकर्मीलाई सम्मान लगायतका कार्यक्रम रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल–११ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले विद्यालयले शिक्षाको गुणस्तरमा ब्यापक सुधार गर्दै देशकै नमुना विद्यालय बन्न सफल भएको बताए । विद्यालयको उत्कृष्ट नतिजासँगै नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको उनले बताए ।
महोत्सव सञ्चालनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएको विद्यालयले जनाएको छ । पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा ५८ जिल्लाका ५ हजार बढी विद्यार्थी र १८४ जना शिक्षक कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । उनका अनुसार विद्यालयमा ४१ जना शिक्षकको मात्रै स्थायी दरबन्दी रहेको छ भने ४५ प्रतिशत विद्यार्थी छात्रा रहेका छन् । विद्यार्थी संख्याको आधारमा देशकै पाँचौँ नम्बरमा रहेको यस विद्यालयले उत्कृष्ट नतिजासहित विभिन्न अवार्ड र पुरस्कार प्राप्त गरिसकेको छ ।
कक्षा ११/१२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा समूह अध्यापन हुँदै आएको विद्यालयले डिजिटल माध्यमलाई प्राथकिकता दिएको प्रधानाध्यापक बस्नेतले बताए । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले एसइई र कक्षा १२ मा ४ जीपिए तथा एमबीबिएसमासमेत पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको उनले बताए ।
