मिलन गाहा
पुने (भारत) । १७औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदकसहित प्रतियोगिताको खाता खोलेको छ । प्रतियोगिताको अन्डर–१० वर्ष उमेर समूह अन्तर्गत काता विधामा नेपालका सिद्धार्थ रानाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन् ।
महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहरेले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । पुनेस्थित अरोरा खेलकुद कम्प्लेक्समा दीप प्रज्वलन गरी प्रतियोगिता सुरु गरिएको हो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा करिब ४७० खेलाडीले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटनपछि भएको पहिलो खेल भारत र श्रीलंकाबीच सम्पन्न भएको थियो । उक्त खेलको रेफ्रीको भूमिका नेपाल गोजुरियो करातेका प्रमुख प्रशिक्षक सियान काजी रानाले निर्वाह गरेका थिए । प्रतियोगितामा सहभागी खेलाडीहरूले काता र कुमिते विधामा प्रतिस्पर्धा गरिरहेका छन् । विजेता खेलाडीहरूले शील्ड, कप, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा आयोजना गरिएको हो । प्रतियोगितामा नेपालले यसअघि पनि अब्बल नतिजा हासिल गरेको थियो ।
गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न राष्ट्रबीच भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै अग्रता बनाइरहेको उनले बताए ।
नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुष), विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा सहभागी रहेका छन् । नेपालले पहिलो दिनमै स्वर्ण पदक जित्दै प्रतियोगितामा सशक्त उपस्थिति जनाएपछि आगामी दिनहरूमा थप पदकको अपेक्षा गरिएको छ ।
