इशान मृत्यु प्रकरणः प्रहरी अनुसन्धानले सार्वजनिक गरेका तथ्यहरू के–के हुन् ?

मेचीकाली संवाददाता

१६ पुष २०८२, बुधबार
14 shares

बुटवल । परिवारका एक्ला छोरा, पढाई र खेलकुदमा समेत अब्बल रहेका १७ वर्षीय किशोरको रहस्यमय मृत्युले रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकको परिवार मात्रै होइन, टोल छिमेक पनि विक्षिप्त छ । किशोर इशान शर्माको मृत्यु सम्बन्धमा परिवार, आफन्त, टोल छिमेकमा विभिन्न किसिमका चर्चा र आशंका उत्पन्न भइरहेका बेला जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार एक विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविक अवस्था सार्वजनिक गरेको छ ।

प्रहरीको प्रारम्भिक विवरण सार्वजनिक भएदेखि नैंं परिवारले भने घटनाको वास्तविकता भनिएको जस्तो नरहेको भन्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले घटना विवरण, तस्बिर र त्यसमा संलग्नहरुको सबै विवरण र विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै ध्यानाकर्षण सहितको विज्ञप्ति सार्वजनिक गरेको छ ।

के हो घटना विवरण ?
प्रहरीका अनुसार इशान शर्मा पुस २ गते घरबाट जिम जाने भनी निस्किएका थिए । तर साँझसम्म पनि घर नफर्किएपछि परिवारजनले आफन्त तथा चिनजानमार्फत खोजतलास सुरु गरेका थिए । खोजतलासकै क्रममा पुस ३ गते साँझ करिब ०७ः१५ बजे कञ्चन गाउँपालिका–३ अन्तर्गत धौलागिरी चोक र सुनगाभा चोकको बीचमा पर्ने फायरलाइन–लुम्बिनी सडकखण्डको नालीमा एक युवक ‘बेहोस अवस्था’मा रहेको सूचना प्रहरीलाई प्राप्त भयो ।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव अहिले पनि अस्पतालको शवगृहमै छ ।

प्रहरीको दाबीः सवारी दुर्घटनाबाट मृत्यु
घटनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, र सालझण्डीबाट खटिएका प्रहरी टोलीले संयुक्त रूपमा प्रारम्भिक अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानका क्रममा घटनामा लु २ ख ४९४८ नम्बरको फोर्स कम्पनीको सवारी साधन संलग्न रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ । उक्त सवारीले ठक्कर दिएपछि घटनास्थलबाट भागेको र पछि बुटवल उपमहानगरपालिका–२, मैनाबगर क्षेत्रमा लगेर मर्मत गरी पुनः सञ्चालन गरिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सवारी साधन र संलग्न व्यक्ति नियन्त्रणमा
प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकसहित अन्य संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । प्रहरीले सवारी चालक २४ वर्षीय सन्तोष क्षेत्री, सवारी साधन भगाउन सहयोगी रहेको भन्दै अर्का २२ वर्षीय सन्देश क्षेत्री र २२ वर्षीय दिपेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीको सन्देश
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही अनलाइन मिडिया, युट्युब च्यानल तथा सामाजिक सञ्जालमा सत्य–तथ्य नबुझी अनुमान र भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रहरीले त्यस्ता गतिविधिले अनुसन्धान प्रक्रियामा असर पार्ने, पीडित परिवारको पीडा थप बढाउने, आम नागरिकमा भ्रम सिर्जना गर्ने खतरा रहेको प्रहरीको भनाइ छ । प्रहरी प्रशासनले यो घटनामा निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।

साथै, सम्पूर्ण सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक निकायबाट प्राप्त तथ्यपरक सूचना मात्र प्रयोग गर्न आग्रह गरिएको छ । घटनाको सम्पूर्ण पक्ष केलाएर दोषीमाथि कानुनअनुसार कारबाही हुने छ र अनुसन्धानको अन्तिम नतिजा आधिकारिक रूपमा सार्वजनिक गरिने प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

घटनालाई मोड्न खोजियोः परिवार
‘घटनास्थल र वस्तुस्थिति कुनै हालतमा दुर्घटना होइन, यो हाइप्रोफाइल व्यक्ति मुछिने डरले अर्को ‘डमी’ नक्कली खडा गरिएको हुन सक्छ,’ इसानका बाबा अर्जुन भन्छन्, ‘हामीलाई दुर्घटनाको मृत्यु भन्ने स्वीकार्य छैन । यो सरासर हत्या हो, प्रहरी प्रशासनले घटनाले डाइभर्ट गर्न खोजेको हामीलाई आभाष भएको छ ।’ ‘परिवारको आशा र भरोसा मानेका छोरा नभएपछि हामी अब कसको साहारामा बाँच्ने ?’ अर्जुन भन्छन्, ‘कसैसँग दुस्मनी र झगडा पनि नगर्ने भएको हुँदा किटानी जाहेरी दिन पनि सकेका छैनन् । प्रहरीले जुन दुर्घटना भनेको छ, त्यो हुँदै होइन । मेरो छोरो त अब फर्किएर आउँदैन । इशान जस्तै अरूको हत्या नहोस् भनेर न्याय मागिरहेको छु ।’ घटनास्थल हेर्दा कुनै रगत नभएको, कुनै गाडी घसारिएको पनि देखिएको छैन । साँझ साढे ७ बजेतिर गाडीले मान्छे ठक्कर दिँदा स्थानीयले थाहा पाउनुपर्ने भए पनि त्यहाँ कुनै सामान्य आवाज पनि नसुनेको शव भेटिएको ठाउँ अगाडि स्थानीयको भनाइ छ ।