बुटवल । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । बैंकको २०औं वर्ष प्रवेशको अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले एग्री फाइनान्स ३६० को आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारले नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरुमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमकिता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे ।
उनले महिला मैत्री कृषिको विकास गरिनु पर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीको व्यवस्था गर्नु पर्ने, साना किसानहरुलाई वित्तीय पहूँच अझै विस्तार गर्नु पर्ने र साना किसानहरुलाई स्तरोन्नति गर्ने कार्यमा हामी सबैले कदम चाल्नु पर्नेमा जोड दिए ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पहिले राज्य आफैले कृषि क्षेत्र विकासको लागि मूल्य श्रृङ्गखला विकास गर्ने प्रयास गरेको भएपनि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आआफ्नै तवरले कार्य गर्न थालेको बताए। त्यसो हुँदा पूर्ण मूल्य श्रृङ्खला तोडिन पुगेको र अब बैंक तथा वित्तीय संस्थाहरुले नै कृषि सम्बन्धी आफ्नै सहायक कम्पनीहरु खोल्न सुझाव दिए ।
उक्त कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसरहरु’ विषयमा प्रस्तुति दिएका थिए। उहाँले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृंखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए । हालको तथ्याङ्कले कृषि उत्पादकत्व खासै बढ्न नसकेको तर वृद्धिको लागि धेरै सम्भावनाहरु रहेको भन्दै अन्य देशको डाटालाई तुलना गरी प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा प्यानल छलफलको पनि आयोजना गरिएको थियो । प्यानल छलफल ‘नेपाल कृषि उद्यमहरुमा कसरी फस्टाउन सक्छ ?’ शीर्षकमा भएको थियो । उक्त छलफलको बैंकिङ्ग विशेषज्ञ भुवन दाहालले सहजीकरण गरेका थिए भने वक्ताको रुपमा नेपाल राष्ट्र बैंक, नियमन विभावका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबि बस्नेत, तथा कृषक तथा कृषि उद्यमी बिमला आचार्य दहाल थिए ।
कार्यक्रममा नेपाल सरकारको कृषि सम्बन्धी निकायहरु, कृषि क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कृषि कर्जा प्रमुख, कृषि गर्ने बीमा कम्पनीहरु, विश्वविद्यालयका कृषि विषयका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताहरु, कृषि बजार केन्द्र, निजी क्षेत्र, कृषि सहकारी, कृषि उद्यमी, विज्ञलगायत करिव ३५० जनाको सहभागिता रहेको थियो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बैंकका सञ्चालक उमेश कुमार आचार्यले स्वागत गरेका थिए भने सारसंक्षेप टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल लगायतले बोलेका थिए ।
