बुटवल,। सहकारीको नेतृत्वदायी तथा अभिभावक संस्था जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको ४१ औँ वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको संघका पूर्वअध्यक्ष तथा सहकारी अभियान्ता ईश्वरचन्द्र पोखरेलले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै उनले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सहकारीहरुले उत्पादन, बजारीकरणमा लाग्नुपर्ने र स–साना लगानीका क्षेत्रमा ध्यान दिई जीविकोपार्जन, आयआर्जनसहितका योजना पस्कने योजना ल्याउनुपर्ने धारणा राखे । पछिल्लो समय कतिपय सहकारीहरुका कारण सिंगो सहकारी अभियानमा प्रश्न उठेको भन्दै उनले सहकारीका ऐन नियमको पालना गरी सञ्चालमा रहेका सहकारीमा कुनै पनि समस्या नआउने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भीमप्रसाद तुलाचनले वार्षिक नीति कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । सहकारी संस्थाहरूले वर्तमान अवस्थामा भोगिरहेका चुनौतीहरूको स्मरण गराउँदै उनले जिल्ला सहकारी संघलाई अझ परिस्कृत बनाएर लैजानुको विकल्प नभएको बताए । संघको जग्गाको समस्या समाधानका लागि समिति गठन गरी तत्काल काम सुरु गरीने अध्यक्ष तुलाचनले बताए । नीति र व्यवस्थापनमा देखिने समस्याको समाधानका लागि जिल्ला सहकारी संघले निरन्तर रूपमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाए । साथै, सबै सहकारी संस्थाले सदस्यता नवीकरणमा ध्यान दिनुका साथै संघलाई मर्यादित र सुदृढ बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकाश गैरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, संघका महासचिव दामोदर पंगेनीले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारी क्षेत्रको क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सहकारी संस्थामा देखिएका समस्याको समाधानका लागि संघले पैरवी गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला सहकारी संघ रुपन्देहीमा ४०६ वटा सहकारी संस्थाहरु आबद्ध रहेको व्यवस्थापक लक्ष्मी ज्ञवालीले जानकारी दिइन् ।
रु.४१ लाख २५ हजार ६ सय शेयर रकम रहेको संघले रु.२० लाख ७५ हजार ऋण लगानी गरेको छ । यस्तै बचत रकम रु.२ करोड ३७ लाख ७७ हजार ९८९ रहेको छ । संघका उपाध्यक्ष टिका न्यौपानेको स्वागत तथा सचिव बेलप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभामा उत्कृष्ट सहकारी सञ्जाललगायतलाई सम्मानसमेत गरिएको थियो ।
