राष्ट्रिय सभामा मिलेर जाने तीन दलको साझेदारी

मेचीकाली संवाददाता

२२ पुष २०८२, मंगलवार
19 shares

बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन् । यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राती दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए । नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबिच छलफल भएको थियो । त्यस छलफलमा सिट बाँडफाँट गरेर जाने समझदारी भएको उनले बताए ।

‘राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले मिलेर जाने समझदारी यसअघि नै थियो । आधाआधा सिट (९–९) बाँड्ने सहमति भएको हो । आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि मधेसवादी दलसहित सबै पार्टी मिलेर जाऔं भन्ने कुरा भएको छ,’ उनले भने,‘टुंगो लागिसकेको छैन । सोमबार बेलुका सहमति गरेर भोलि सचिवालय बैठकमा प्रस्ताव गर्ने तयारी छ ।’ एमालेले मंगलबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । त्यसअघि नै दुई पार्टीबीच सहमतिको टुंगो लाग्ने छ । राष्ट्रियसभाको रिक्त १९ स्थान मध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि पुस २३ गते (बुधबार) नै उम्मेदवारी दर्ता गर्नुपर्ने छ । रिक्तमध्ये एक स्थान चाहिँ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटा हो ।

निर्वाचन हुने १८ मध्ये ७ स्थान नेपाली कांग्रेसले लिने, एमालेले ६ स्थान लिने, नेपाली कम्युनिस्ट पार्टीलाई ४ र मधेसवादी दल (जनता समाजवादी पार्टी नेपाल) लाई एक स्थान छाड्ने गरी छलफल अघि बढेको छ । सम्भवतः यही सिट संख्यामा सहमति जुट्ने छ । जनता समाजवादी पार्टी, नेपालले पनि औपचारिकरूपमै तालमेलको प्रस्ताव गरेको छ । एमाले सचिव राजन भट्टराईले पनि राष्ट्रियसभामा तालमेल गर्ने समझदारी भएको बताए । उनले पनि सहमति भने हुन बाँकी रहेको जानकारी दिए ।
सचिव बस्नेतका अनुसार सोमबार बेलुकी कांग्रेसका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र कृष्ण सिटौला, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत बिच छलफल हुने तय भएको छ । यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नेबारे छलफल चलिरहेको ब्रिफिङ भएको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले चार दलबिच सहकार्यको ब्रिफिङ गरेका हुन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने विषयमा नेताहरूबिच छलफल भइरहेको बताएका थिए ।

केन्द्रीय कार्यसम्पादन समितिका सदस्य रमेश लेखकका अनुसार सोमबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा संविधान बनाउने र जोगाउने पक्ष सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।’ सोमबार बिहान म र कार्यबाहक सभापति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थियौं, संविधान बनाउने र जोगाउने शक्तिहरूबिच सहकार्य गर्ने कुरा भएको छ,’ उनले भने,‘साँझ फेरि उहाँसँग हामी छलफल गर्छौं ।’ नेताहरूका अनुसार नेपाली कांग्रेसले कम्तीमा ६ सिट र बढीमा ८ सिट पाउने गरी दाबी गरिरहेको छ ।