चैतन्य एकेडेमीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

२३ पुष २०८२, बुधबार
55 shares

बुटवल। बुटवल–११ देवीनगरस्थित चैतन्य एकेडेमी बुटवल शाखाले आफ्नो पहिलो वार्षिकउत्सवको अवसर पारेर विभिन्न सामाजिक कार्य गरेको छ । लोकसेवाका तयारी कक्षा सञ्चालन गर्दै आइरहेको एकेडेमीले चौतारी क्षेत्रमा सरसफाई, रक्तदान, रेडियो मुक्तिलाई कम्प्युटर प्रदान र आफ्नै संस्थाको अगाडि दीप प्रजज्वलन गरी स्थापना दिवस मनाएको हो ।

बुधबार रक्तदान कार्यक्रमको सुरुआत गर्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सन्तोष आचार्यले राज्यलाई आवश्यक जनशक्ति उत्पादन र सामाजिक कार्य गरेको भन्दै एकेडेमीको प्रशंसा व्यक्त गरे । सामाजिक कार्य पनि मानवअधिकारसँग जोडिएको बताउदै यस्ता कार्यक्रम निरन्तर गर्न आवश्यक देखिएको बताए । कार्यक्रममा नेपाल स्यमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हरेक निरोगी व्यक्तिले तीन/तीन महिनामा नियमित रक्तदान गर्न आवश्यक रहेको बताए । सामाजिक क्षेत्रमा काम गर्दै आएका यूवा अर्जुन खरेलले एकेडमीसँग सहकार्य गरेर आफूहरु काम गर्न सधै तयार रहेको बताए । रक्तदानमा ४० युनिट रगत संकलन भएको थियो । रक्तदान नेरेसो रुपन्देही जिल्ला शाखा रक्त सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

एकेडेमीका व्यवस्थापक दीपक ढकालले चैतन्यले आफ्नो सेवा विस्तारसँगै स्थानीय स्तरमै खरिदारदेखि सहसचिवसम्मका लोकसेवा तयारी कक्षा, बैकिङ सेवा, सुरक्षा निकाय, शिक्षक सेवा तथा सार्वजनिक संस्थान सम्बन्धी कक्षाहरु भौतिक र अनलाइन माध्यामबाट सञ्चालन गर्दै आइरहेको बताए । एक वर्षमै चैतन्य बुटवलमा अध्ययन गरेका १६ जना विद्यार्थी लोक सेवामा नाम निकालेर सेवा प्रवेश गरेको छन । जसमध्ये ११ जना अफिसर रहेको ढकालको भनाइ छ । कक्षासँगै हरेक साता विद्यार्थीहरुको परीक्षा लिने गरिन्छ ।