दर्ताबिना चलेका ई–रिक्सा सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउन माग

मेचीकाली संवाददाता

५ माघ २०८२, आईतवार
42 shares

बुटवल । संयुक्त ई–रिक्सा चालक संघर्ष समितिले, बुटवल उपमहानगरपालिकालाई इजाजत नलिई चलेको अटो रिक्सालाई सञ्चालनमा रोक लगाउन माग गरेका छन् । उपमहानगरपालिकामा दर्ता भएका १ हजार ४४० रिक्सा मात्र चल्न पाउनुपर्ने बताउँदै राज्यलाई कर नतिरी गुडेका रिक्साहरुको सञ्चालनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको हो । ई–रिक्सा जथाभावी चल्दा बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै कडा नियमन नगरे आन्दोलन गर्ने बुटवलमा आइतबार पत्रकार सम्मेलन गरी बताएको हो । आफूले बनाएको नीति कार्यान्वन नगरे संघर्ष समिति बुटवल आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक तथा हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले हालै निर्माण गरिएको ई–रिक्सासम्बन्धी ऐनका व्यवसायी विरोधी तथा एकपक्षीय बुँदाहरु संशोधन गर्न माग गरे । परिच्छेद २ को दफा ८ अन्तर्गत नवीकरणसम्बन्धी व्यवस्थामा उल्लेख बुँदा नम्बर ४ र ६ को अटो टेम्पो तथा ई–रिक्साको आयुसम्बन्धी व्यवस्था खारेज गरिनुपर्छ,’तिवारीले भने, ‘त्यस्तै उही दफाको बुँदा नम्बर १० मा उल्लेख गरिएका ई–रिक्सा नामसारी सवारी चालक अनुमतिपत्र भएका व्यक्तिहरुको हकमा मात्र गरिने भन्ने व्यवस्था पनि खारेज हुनुपर्छ ।’

त्यस्तै एक व्यक्ति एक ई–रिक्सा मात्र दर्ता तथा नवीकरण गर्न पाउने व्यवस्था र ई–रिक्सा आलोपालो सञ्चालन गर्ने व्यवस्था पनि संघर्ष समितिले खारेज गर्न माग गरेको छ । १ हजार ४४० बाट एकतर्फी निर्णय गरी थप ६० वटा रिक्सा दर्ता गरेका रिक्साको दर्ता प्रक्रिया पनि खारेज गर्न तिवारीले माग गरे । त्यस्तै परिच्छेद ४ को १३ (१) अन्गर्तत सरोकारवाला संघ–संस्थाहरुको प्रतिनिधि अनिवार्य गर्न, सवारी चेकजाँच उपसमितिमा पनि सरोकारवाला संघसंस्थाहरुको प्रतिनिधित्व सुनिश्चिन गर्न माग गरेका छन् । साथै परिचय पत्रसम्बन्धी व्यवस्था पनि आवश्यक संशोधन गरिनुपर्ने बताएका छन् ।

संघर्ष समितिका सहसंयोजक ध्यानबहादुर राईले उपमहानगरपालिकाले ध्यान नदिदा शहरमा ई–रिक्साको विकृति देखिएको बताए । ‘पालिकाले सुरुमा कडाइ नगर्दा जथाभावी ई रिक्सा भित्रिए । दर्ता भएका रिक्सा करको दोहोरो मारमा छन् । दर्ता नभएकालाई कडाइ गर्नुपर्ने हो,’राईले भने । बुटवल दर्ताबिना १ हजार ५०० भन्दा बढी रिक्सा चलिरहेको अनुमान छ । संघर्ष समितिमा नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघका अध्यक्ष कमल बस्नेत, हरियाली यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद तिवारी र सत्यवती यातायात प्रालिका अध्यक्ष दिनेश जिसीले छन् ।