प्रकाश आचार्य
बुटवल । साढे तीन दशकदेखि रूपन्देहीलाई केन्द्र बनाएर राजनीति गर्दै आएका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको संसदीय राजनीतिक यात्रामा ‘ब्रेक’ लागेको छ । तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको सहारामा पार्टी राजनीति र सत्ताको उपल्लो घुम्तीमा पुगेका चलाख राजनीतिक खेलाडी पूर्व गृहमन्त्री खाँण पार्टीको नेतृत्व फेरिएसँगै रक्षात्मक बनेका छन् । गृहजिल्ला तथा आफ्नो सदाबहार निर्वाचन क्षेत्र रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा पार्टीले सिफारिश गरेर पठाए पनि युवा उम्मेदवार सुशील गुरुङ उम्मेदवार बनेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको गम्भीर आरोपमा दुई वर्षअघि सात महिने जेल जीवनबाट छुटेपछि खाँण पुनः राजनीतिमा सक्रिय थिए । देउवाका बफादार मानिने खाँण शरणार्थी काण्डमा जेलमा पुगेपछि साढे चार दशकदेखिको ‘पोलिटिकल हाइट’ क्षणभरमै ढलेको थियो । उन्नतिको तीव्र बेगबाटै पार्टी र सत्ताको महत्वपूर्ण अवसर र मौका पाएका खाँण देउवाको सारथि बनेर शक्तिशाली बनेका नेतामा चिनिन्थे । जेलबाट छुटेपछि खाँण आफ्ना लागि अनुकूल वातावरण बनाउँदै पुरानै ‘लिगेसी’बाट देउवासँगको निकटतालाई जोगाउँदै राजनीतिमा ‘कमब्याक’ गरेका थिए ।
यस्तो थियो खाँणको संसदीय यात्रा
खाँणले २०४६ को प्रजातन्त्र पुनःप्राप्तिको आन्दोलनपछि भएको पहिलो निर्वाचनबाट संसदीय राजनीतिको यात्रा थालेका थिए । वि.सं. २०४८ देखि २०७९ सम्म खाँणले धेरै जीत र कम हार बहोर्दै संसदीय राजनीतिको यात्रा तय गरेका छन् । खाँणले २०४८ मा युवा अवस्थामा पहिलो चुनावमा जीत निकाले । त्यो बेला खाँणले एमालेका कमलेन्द्र पाठकलाई चार हजार मतान्तरले पराजित गरे । खाँण १६ हजार १७६ मतले विजयी हुँदा पाठकले १२ हजार ७९४ मत ल्याए ।
२०५१ को दोस्रो निर्वाचनमा खाँण पराजित हुन पुगे । एमालेका मोदनाथ प्रश्रित १९ हजार ३९३ मतसहित विजयी हुँदा खाँणले १३ हजार ३९९ मत ल्याए । २०५६ को निर्वाचनमा खाँण उम्मेदवार बनेनन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा खाँणले एमालेका लीला गिरीलाई पराजित गरी जीत हासिल गरे ।
खाँण १६ हजार ७९० मतसहित विजयी हुँदा गिरीले १५ हजार ४५८ मत ल्याए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा खाँणले एमालेका तत्कालीन उपमहासचिव घनश्याम भुसाललाई झिनो मतले हराउँदै जीत निकाले । खाँण १८ हजार ४८१ मतसहित विजयी हुँदा एमालेका भुसालले १८ हजार ३९५ मत ल्याए । वि.सं. २०७४ मा चुनावमा जोखिम देखेपछि समानुपातिकबाट सांसद बने । २०७९ को निर्वाचनमा गृहमन्त्री भएका बेला उनी पराजित भए । खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्व.दीपक बोहोराले ३६ हजार ७१७ मतले पराजित गरे । खाँणले जम्मा ३४ हजार ३६ मत मात्र प्राप्त गरे ।
आफू पराजित भए पनि श्रीमती मञ्जु खाँणलाई समानपातिकबाट सांसद बनाएर छाडे । खाँणको संसदीय यात्रामा ‘ब्रेक’ मात्र कि पूर्णविराम ? खाँणले कांग्रेसका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संगठन (नेविसंघ) र तरूण दलको सभापति भएर काम गर्दा देशभर आफ्नो पहिचान र संगठन बनाए । अन्तरपार्टी संघर्षमा सधैँभर देउवालाई साथ दिएका उनलाई कहिल्यै पछाडि फर्किनुपरेको थिएन ।
जब वि.सं. २०७९ को चुनाव पराजित भए, त्यसपछि उनको राजनीति अप्ठ्यारोमा पर्दै गएको थियो । आमनिर्वाचन २०८१ मा टिकट र पार्टीको भूमिमा समेत नपाएपछि पार्टी र भविष्यको संसदीय राजनीतिमा अब खाँणको भूमिका कस्तो रहला भन्ने कौतूहलता आम कांग्रेसजनमा देखिन्छ । कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि अर्याल एउटा चुनावमा टिकट नपाउँदैमा राजनीति सकिन्छ भन्न नमिल्ने बताउँछन् । ‘एउटा आवधिक निर्वाचनमा टिकट नपाउँदैमा राजनीतिमा ब्रेक लाग्दैन’, प्रतिनिधिसभामा उम्मेदवार नभए पनि उनी पार्टी राजनीतिमा सक्रिय छन् ।’
अहिलेको निर्वाचनमा चुनाव नलड्ने नेता खाँणकै चाहनाका कारण अर्को उम्मेदवार चयन गरिएको उनको दाबी छ । खाँणबाट राजनीतिकरूपमा प्रशिक्षित भएर कांग्रेसको केन्द्रीय राजनीतिमा आएका धेरै नेता छन् । पार्टीमा ‘पावरफूल’ संस्थापन समूहका नेताको खाँणप्रतिको बुझाइमा खासै अन्तर परेको देखिन्न । पार्टीभित्र शक्ति सन्तुलन र समन्वयमा खाँण सधैँ प्रमुख भूमिकामा देखिन्थे । पार्टीभित्र गुटबन्दी बढ्दा खाँण सहजीकरण गर्ने नेतामा पनि पर्थे । सदाबहार रूपमा देउवासँग रहेर उनले राजनीतिक, आर्थिक सबै जिम्मेवारी सम्हाले ।
खाँणको ४५ वर्षको सक्रिय राजनीति
राजनीति सुरू गर्दादेखि यहाँसम्म आइपुग्दा खाँणको राजनीतिक यात्रा सहज ढंगले अगाडि बढेको छैन । २०३६–०३७ देखि २०४६ सालसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि विद्यार्थी राजनीतिको अगुवाई गर्दै रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, चितवन, काठमाडौं, ललितपुर, नुवाकोटका प्रहरी कष्टडीमा पटकपटक थुनिएका थिए । साथै, जेलजीवन पनि बिताएका थिए । जिल्लामा ठुला विकास आयोजना ल्याउनेमा उनको योगदान छ । रुपन्देहीको विकासमा एमाले उपाध्यक्ष विष्णु पौडेल र खाँणबिच सहकार्य हुने गरेको चर्चा हुन्थ्यो । कठोर चुनौती सामना गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता उनको छ । बालकृष्ण खाँणको राजनीति उत्तराद्र्धमा पुगेकाले उनका भाइ रामकृष्ण खाँणले हाँक्ने कतिपयले विश्लेषण गरेका छन् ।
रामकृष्ण खाँण कांग्रेस रुपन्देहीको सभापति तथा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) हुन् । खाँणको क्षेत्रमा उनीनिकट युवा उम्मेदवार गुरुङले टिकट पाएपछि पार्टीमा सन्तुलन मिलाएको पनि बताइन्छ । कांग्रेस महासमिति सदस्य महेश केसीले अहिले टिकट नपाउने खाँण मात्र नभई धेरै नेताहरू भएको बताउँछन् । ‘उहाँको राजनीति समाप्त भएको छैन,’ केसीले भने, ‘टिकट किन पाउनुभएन उहाँलाई नै थाहा होला, उहाँमाथि लागेको ‘दाग’ प्रमाणित भएको छैन । उहाँ २०५६ मा पनि आफू उम्मेदवार नबनेर पार्टीका उम्मेदवारलाई जिताउन लागेको नेता हो । मेरो विचारमा उहाँ पार्टी र संसदीय राजनीतिमा फेरि पनि सक्रिय भइरहनुहुन्छ ।’
