लुम्बिनी प्रदेशमा ६ सय उम्मेदवार, ३४ लाख मतदाता

मेचीकाली संवाददाता

१० माघ २०८२, शुक्रबार
14 shares

रमेश पराजुली

बुटवल। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा झण्डै ३४ लाख मतदाता कायम भएका छन् । १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र अन्य मतदाता ३८ जना गरी कुल ३३ लाख ८६ हजार ६८० जना रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले जनाएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार बागमती र कोसी प्रदेशपछि मतदाता संख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ वटा निर्वाचन क्षेत्रमा झण्डै ६ सय उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमा ३९४ जना उम्मेदवार राजनीतिक दलका र २०५ जना स्वतन्त्र रहेका छन् । कुल उम्मेदवारमध्ये ५४३ जना पुरुष र ५६ जना महिला उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कुल १ हजार ६७१ वटा मतदान स्थल र ३ हजार ९९८ वटा मतदान केन्द्र तोकिएको छ  । तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, बाँके, दाङ मतदाता संख्यामा अगाडि छन् भने पहाडी जिल्लामा मतदाता संख्या केही कम छ ।

यसअघि २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए । उक्त निर्वाचनपछि १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् । ०७९ को निर्वाचनमा यो प्रदेशमा १ हजार ६४९ मतदानस्थल कायम गरिएको थियो भने, ३ हजार ८६१ मतदान केन्द्रहरू स्थापना गरिएका थिए ।

कुन जिल्लामा कति मतदाता, उम्मेदवार र मतदान स्थल ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रूपन्देहीमा छन् भने प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा सबैभन्दा कम मतदाता छन् । यस्तै उम्मेदवार पनि रुपन्देहीमा सबैभन्दा धेरै र रुकुम पूर्व र रोल्पामा सबैभन्दा कम रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी कुँवरले जानकारी दिए । यस्तै मतदान स्थल भने कपिलवस्तुमा सबैभन्दा धेरै रहेका छन् ।

रुपन्देहीमा ३ लाख ४६ हजार २०३ जना पुरूष, ३ लाख २६ हजार ३११ जना महिला र ९ जना अन्य मतदाता गरी कुल ६ लाख ७२ हजार ५२३ जना मतदाता छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राजनीतिक दलतर्फ ९४ जना र स्वतन्त्रतर्फ ६३ जना गरी कुल १५७ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ २०९ वटा मतदान स्थल र ७३२ वटा मतदान केन्द्र तोकिएको छ । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

दोस्रोमा दाङमा २ लाख १३ हजार ३८० पुरूष, २ लाख १८ हजार ३०३ जना महिला र ३ जना अन्य गरी ४ लाख ३१ हजार ६८६ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दलतर्फ ४३ जना र स्वतन्त्रतर्फ १९ जना गरी कुल ६२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १५९ वटा मतदान स्थल र ४८२ वटा मतदान केन्द्र तोकिएको छ । दाङ क्षेत्र नम्बर–३ का २ जना उम्मेदवारले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै, मतदाता संख्याका आधारमा कपिलवस्तु तेस्रो नम्बरमा छ । यहाँ २ लाख ११ हजार ८४६ जना पुरूष, १ लाख ८४ हजार ४१५ जना महिला र ४ जना अन्य गरी कुल ३ लाख ९६ हजार २६५ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा राजनीतिक दलतर्फ ४९ जना र स्वतन्त्रतर्फ पनि ४९ जना गरी कुल ९८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ २३५ वटा मतदान स्थल र ४९० वटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए ।

यस्तै बाँकेमा १ लाख ७ हजार १३९ जना पुरूष, १ लाख ७२ हजार २२३ जना महिला र ९ जना अन्य गरी कुल ३ लाख ५० हजार ३७१ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा राजनीतिक दलतर्फ ४९ जना र स्वतन्त्रतर्फ ११ जना गरी कुल ६० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १३९ वटा मतदान स्थल र ४०० वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तैगरी, गुल्मीमा १ लाख १४ हजार ३३७ जना पुरूष, १ लाख १५ हजार २१० जना महिला र २ जना अन्य गरी कुल २ लाख २९ हजार ५४९ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा राजनीतिक दलतर्फ २० जना र स्वतन्त्रतर्फ २३ जना गरी कुल ४३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १५४ वटा मतदान स्थल र २८४ वटा मतदान केन्द्र तोकिएको छ ।
पाल्पामा १ लाख १ हजार ८९३ जना पुरूष र १ लाख ५ हजार ५४३ जना महिला गरी कुल २ लाख ७ हजार ४३६ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दलतर्फ २३ जना र स्वतन्त्रतर्फ ७ जना गरी कुल ३० जना उम्मेदवार चुनावी मैदानमा होमिँदा ११८ वटा मतदान स्थल र २५१ वटा मतदान केन्द्र तोकिएको छ ।

अर्घाखाँचीमा ८७ हजार १ सय ५७ जना पुरूष र ८४ हजार ४९५ महिला गरी कुल १ लाख ७१ हजार ६५२ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राजनीतिक दलतर्फ १२ जना र स्वतन्त्रतर्फ ३ जना गरी कुल १५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै प्युठानमा ८१ हजार ३६६ जना पुरूष, ८४ हजार ३९ जना महिला र १ जना अन्य गरी कुल १ लाख ६५ हजार ४०६ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा राजनीतिक दलतर्फ १४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्युठानमा स्वतन्त्र उम्मेदवार छैनन् । यहाँ १०५ वटा मतदान स्थल र २३० वटा मतदान केन्द्र तोकिएको छ ।

रोल्पामा ७४ हजार ६९० जना पुरूष र ७४ हजार ९०७ जना महिला गरी कुल १ लाख ४९ हजार ५९७ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा राजनीतिक दलतर्फ १० जना र स्वतन्त्रतर्फ २ जना गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ ८६ वटा मतदान स्थल र १८० वटा मतदान केन्द्र तोकिएको छ ।
बर्दियामा १ लाख ५९ हजार ३८७ जना पुरूष, १ लाख ६३ हजार ८७३ जना महिला र ६ जना अन्य गरी कुल ३ लाख २३ हजार २६६ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा राजनीतिक दलतर्फ ३६ जना र स्वतन्त्रतर्फ ४ जना गरी कुल ४० जना उम्मेदवार चुनावी मैदानमा होमिँदा यहाँ १५४ वटा मतदान स्थल र ३०७ वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १ लाख २९ हजार १८३ जना पुरूष, १ लाख २४ हजार ९७० महिला र ४ जना अन्य गरी कुल २ लाख ५४ हजार १५७ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा राजनीतिक दलतर्फ ३३ जना र स्वतन्त्रतर्फ २३ जना गरी कुल ५६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १२२ मतदान स्थल र २९७ वटा मतदान केन्द्र तोकिएको छ ।

रूकुम पूर्वमा १७ हजार ५८२ जना पुरुष र १७ हजार १९० जना महिला गरी कुल ३४ हजार ७७२ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा राजनीतिक दलतर्फ ११ जना र स्वतन्त्रतर्फ १ जना गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र तोकिएको सूचना अधिकारी कँवरले बताए ।