मायादेवीमा पाठेघरको मुखको  क्यान्सर विरुद्ध एचपिभी खोप संचालन गरिने

मेचीकाली संवाददाता

१५ माघ २०८२, बुधबार
22 shares


रुपन्देही , माघ १३

रुपन्देहीको मायादेवी गाउँपालिकाले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) अभियान माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

मंगलबार गाउँपालिकामा आयोजित एचपिभी खोपसम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा उक्त जानकारी दिइएको हो। अभियानअन्तर्गत गाउँपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका ६ सयभन्दा बढी किशोरीलाई खोप लगाइने मायादेवी गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले जानकारी दिनुभएको छ ।

उहाले “एचपिभी खोप पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताउदै लक्षित उमेर समूहका सबै किशोरीलाई खोप लगाउने लक्ष्यसहित आवश्यक जनशक्ति, खोप केन्द्र र स्वयंसेवकको व्यवस्थापन पूरा भइसकेको जानकारी दिनु भयो । उहाले अभियानलाई पूर्ण सफल बनाउन अभिभावक, विद्यालय र समुदायको सहयोग अपरिहार्य रहेको समेत उल्लेख गर्नु भयो ।

खोप अभियानका लागि गाउँपालिकाका २५ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ५० जना स्वयंसेवक परिचालन गरिने छ भने गाउँपालिकाभर २५ वटा खोप केन्द्र स्थापना गरिनेछ। विद्यालय जाने ५७१ जना र विद्यालय नजाने थप ३० जना गरी ६ सयभन्दा बढी किशोरीलाई खोप लगाइने स्वास्थ्य शाखाले जनाएको ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले महिला स्वास्थ्य संरक्षणमा एचपिभी खोप अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाले“पाठेघरको मुखमा हुने क्यान्सर महिलाको ज्यान जाने प्रमुख कारणमध्ये एक भएकोले समयमै एचपिभी खोप लगाउन सके भविष्यमा ठूलो जोखिमबाट बच्न सकिने जोड दिनु भयो । उहाले यस अभियानलाई सफल बनाउन गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको बताउदै सबै अभिभावकहरुलाई आफ्ना छोरीहरूलाई अनिवार्य खोप लगाउन आग्रह गर्नु भएको छ ।

अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको सहजीकरण गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि प्रतिक्षा किसुजीले एचपिभी खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित खोप भएको बताउनुभएको छ । उहाँले “एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरबाट दीर्घकालीन सुरक्षा प्रदान गर्ने बताउदै लक्षित उमेरमै खोप लगाउन सके भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

यस्तै, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत सुरेन्द्र प्रसाद द्विवेदीले खोप कार्यक्रमको सफलताका लागि स्थानीय तह, विद्यालय र समुदायबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले “एचपिभी खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्राथमिकतामा राखिएको खोप भएको बताउदै खोप सुरक्षित तरिकाले लक्षित समूहसम्म पु¥याउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नु  भयो । उहाले भन्नु भयो मायादेवी गाउँपालिकाले आवश्यक तयारी पूरा गरेको छ, जसले अभियान सफल हुने विश्वास दिलाएको छ।”
यस्तै गरी मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछानेले विद्यालय तहबाट खोप अभियान सफल बनाउन शिक्षा शाखाले पूर्ण सहकार्य गर्ने बताउनुभएको छ । उहाँले “लक्षित उमेर समूहका सबै छात्रालाई एचपिभी खोप लगाउन विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने बताउदै विद्यालयमार्फत विद्यार्थी र अभिभावकमा सचेतना फैलाउने, उपस्थिति सुनिश्चित गर्ने र खोप अभियानलाई प्रभावकारी बनाउन शिक्षा शाखा पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता गर्नु भएको छ ।
अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा गाउपालिकाका खोप समन्वय समिती, संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाएको थियो।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।