तराईमा मतदाता भेट्न व्यस्त पहाडी जिल्लाका उम्मेदवार

मेचीकाली संवाददाता

२१ माघ २०८२, मंगलवार
24 shares

रमेश पराजुली

बुटवल । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । निर्वाचनका लागि मनोनयन दर्ता गर्न जिल्ला पुगेका उम्मेदवारहरु आआफ्नो क्षेत्रका मतदाता भेटेर पीरमर्का र समस्या बुझ्न व्यस्त छन् । कोही उम्मेदवार मतदाता भेट्दै गाउँगाउँ पुगेका छन् भने केही उम्मेदवार आफ्नो क्षेत्रका मतदाता खोज्न शहर झरेका छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान लगायतबाट बसाइसराइ गरी आउने प्रमुख केन्द्र हो रुपन्देही । मतदाता पहाडमै भएर पनि अध्ययन, रोजगारी र व्यापारका लागि बुटवलमा बस्ने धेरै छन् ।

गुल्मीको क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट उम्मेदवार बनेका गोकर्ण विष्ट अहिले बुटवलमा रहेका मतदातासँग भेटघाट र छलफल गरिरहेका छन् । गत माघ ६ गते उम्मेदवारी मनोनयन गरेर दुईतीन दिन सदरमुकाम आसपासका गाउँका मतदाता भेटेपछि विष्ट काठमाडौं गएका थिए । काठमाडौँमा रहेका मतदाताहरुसँग केही दिन बिताएपछि उनी आइतबार बुटवल झरेका हुन् । सोमबार बुटवलमा रहेका विभिन्न सम्पर्क समाज र मञ्चमार्फत मतदाता जम्मा गरेर उनीहरुसँग भेटघाट र छलफल गर्दै सुझाव संकलन गरेको उनले बताए । अझै केही दिन बुटवल र यस आसपासमा रहेका मतदाताहरुसँग छलफल अन्तक्र्रिया गरेपछि मात्रै उनको गुल्मी जाने कार्यक्रम छ । एमाले उपाध्यक्षसमेत रहेका नेता विष्टले भने, ‘बुटवल आसपासमा रहनुभएका मतदाताहरुसँग भेटघाटपछि मात्रै जिल्ला फर्किन्छु ।’

पूर्वमन्त्रीसमेत रहेका विष्टले मतदातासँग भेटघाटसँगै चुनावी योजनासमेत बनाइरहेको बताए । जनताको अपार माया, सद्भावले उत्साहित बनाएको उनको भनाइ छ । ‘विगतका निर्वाचनमा पनि जनताको अपार मायाले चुनाव जित्दै आएको हुँ’, विष्टले भने, ‘अहिले पनि त्यस्तै सद्भाव पाएको छु । आफ्नो क्षेत्रका बाँकी रहेका केही अधुरा काम पूरा गर्न जनताले फेरि अवसर प्रदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।’ गुल्मीमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता विष्टले अबको योजना बसाइसराइको समस्यालाई नीतिगत सुधार, आयआर्जन र रोजगारी सृजनामा केन्द्रित हुने बताए ।

विष्टजस्तै गुल्मीमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चन्द्र भण्डारी र भुवनप्रसाद श्रेष्ठ पनि बुटवल र काठमाडौंमा पहिलो चरणको भेटघाट र छलफल कार्यक्रम सकेर जिल्ला फर्किएका छन् । उनीहरु अहिले जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेट्न व्यस्त छन् । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारले बुटवल र काठमाडौंमा पहिलो चरणको भेटघाट सकेर जिल्ला फर्किसकेको जानकारी दिए ।

यस्तैगरी गुल्मीको क्षेत्र नम्बर–१ मा एमालेबाट उम्मेदवार बनेका प्रदीप ज्ञवाली बुटवल हुँदै काठमाडौँसम्म पुगेर आइतबार मात्रै गुल्मी फर्किएका छन् । काठमाडौंमा एमाले गुल्मी–काठमाडौं क्षेत्रीय सम्पर्क मञ्चले आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर फर्किएका उनी अब केहीदिन पालिका र वडास्तरमा पुगेर मतदाता भेट्ने तयारीमा जुटेका छन् ।

तीव्र बसाइसराइको चपेटामा परेका पहाडी जिल्लाका गाउँमा उम्मेदवारलाई आफ्ना मतदाता भेट्न मुस्किल पर्ने गरेको छ । प्रायजसो गाउँहरु युवाविहीन जस्तै छन् । अधिकांश घर–बस्ती खाली छन् भने कतै बच्चा र वृद्धाहरु मात्रै भेटिन्छन् । त्यसैले पनि सहरका होटल तथा पार्टी प्यालेस यतिबेला राजनीतिक कार्यक्रमले निकै व्यस्त छन् । दिनमै फरकफरक राजनीतिक दलका चुनावी कार्यक्रम हलैपिच्छे भइरहेका छन् । यसले पहाडी जिल्लाका मतदाताहरु सहरमा बढी छन् भन्ने संकेत गरेको छ । आफ्ना अधिकांश मतदाता जिल्लाबाहिर रहेका कारण पनि उम्मेदवारहरुलाई बुटवल, काठमाडौँलगायतका मुख्य शहरमा पुगेर मतदाता रिझाउनुपर्ने बाध्यता बनेको छ ।

नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि रोजगारी र सुविधा खोज्दै मानिसहरु तराई झर्ने क्रम बढेसँगै उम्मेदवारहरु पनि गाउँदेखि सहरसम्म केन्द्रित हुनुपरेको बताए । ‘हामीले संकलन गरेको तथ्यांकअनुसार जिल्लाका १५ हजार मतदाता रुपन्देही आसपास र ५ हजार बढी मतदाता काठमाडौंमा रहेको पाएका छौँ ।’ काउछा भन्छन्,‘ठुलो संख्यामा मतदाताहरु जिल्लाबाहिर भएका कारण पनि उनीहरूलाई भेट्न उम्मेदवारहरू बिभिन्न सहरमा जानुको विकल्प छैन ।’ यसपालिको निर्वाचनमा ठुला सभा सम्मेलन नगरी मतदातासँग भेटघाट गर्ने र समस्या तथा सुझाव संकलन गरी सोहीअनुसार आगामी योजना बनाउने तयारी गरिएको उनले बताए ।

निर्वाचन आयोगले फागुन ४ पछि मात्रै औपचारिक चुनावी अभियानको समयसीमा तोकेपछि सहर केन्द्रित मतदाता भेटघाट, चुनावी रणनीति, आर्थिक तथा सचिवालय व्यवस्थापन लगायत काममा उम्मेदवार व्यस्त छन् । यस्तै गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सागर ढकाल र गोविन्द पन्थीले संयुक्त रुपमा बुटवल र काठमाडौँमा रहेका मतदाताहरुसँग भेटघाट र छलफल सकेर सोमबार मात्रै जिल्ला फर्किकएका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमालेबाट उम्मेदवार बनेका पिताम्बर भुसाल र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्णु खनाल ‘मुस्कान’ले पनि बुटवल र काठमाडौंमा रहेका मतदाताहरुसँग भेटघाट गरिसकेका छन् । भुसालले जिल्ला फर्किएर घरदैलो अभियानलाई तीव्रता दिएको बताए । यस्तै प्युठानमा एमालेबाट उम्मेदवार बनेका सूर्य थापा यतिबेला गाउँघरमा घुम्दै मत मागिरहेका छन् । अब केही दिनपछि जिल्लाबाहिर रहेका मतदातासँग भेटघाट र छलफल गर्ने उनको तयारी छ ।

पहाडी जिल्लाहरूबाट सेवा सुविधा, शिक्षा र रोजगारीको खोजीमा तराई झर्ने लहरले गर्दा निर्वाचनको मौलिक स्वरूप नै परिवर्तन गरिदिएको छ । पछिल्लो समयमा पहाडबाट अनवरत रुपमा तराईमा बसाइ सर्न थालेपछि पहाड रित्तिँदै जान थालेको छ । पहाडबाट भइरहेको अत्यधिक बसाइँसराइले यो क्षेत्रमा विकाससमेत हुन सकिरहेको छैन । खेतीयोग्य जमिन बाँझो, वन जंगलमा विस्तार भएका छन् । पहाडका बस्तीहरू भत्किएका घर र बाँझो खेतबारीमा परिणत हुँदै गर्दा शहरमा हुने यस्ता चुनावी भेलाहरूले पहाडको अस्तित्व नै संकटमा पारेको गुल्मीको धुर्कोट गाउँपालिका–७ का पूर्ववडाध्यक्ष हिमप्रसाद पन्थी बताउँछन् ।

निरन्तरको बसाइसराइले पहाडी क्षेत्रको संस्कृतिसमेत मासिने खतरा बढेको छ । पहाडबाट भइरहेको अत्यधिक बसाइसराइ रोक्नका लागि पहाड केन्द्रित विकास हुनुपर्ने र उम्मेदवारहरुले पनि बसाइसराइ रोक्ने खालका योजना र कार्यक्रम बनाउनुपर्ने उनको तर्क छ । जनप्रतिनिधि छान्नका लागि मतदातालाई गाडी रिजर्भ गरेर शहरबाट गाउँ लैजानुपर्ने अवस्थाले निर्वाचनलाई खर्चिलो मात्र बनाएको छैन वास्तविक जनमतको प्रतिनिधित्वमाथि पनि संशय पैदा गरेको छ ।