गुल्मेली जनताको माया र सद्भावले उत्साहित छुः गोकर्ण विष्ट

मेचीकाली संवाददाता

२१ माघ २०८२, मंगलवार
14 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा जनताको अपार माया, सद्भावले उत्साहित बनाएको बताएका छन् । गुल्मी क्षेत्र नम्बर–२ का उम्मेदवारसमेत रहेका पूर्वमन्त्री विष्टले आफू जनताको भरिया रहेको बताउँदै समग्र जिल्लाको विकासका काम पूरा गर्न फेरि उम्मेदवार बनेर आएको बताए । सोमबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष विष्टले चुनावी माहोल हेर्दा आत्मविश्वास बढेको बताए ।

‘विगतका निर्वाचनमा पनि जनताको अपार मायाले चुनाव जित्दै आएको हुँ,’ उपाध्यक्ष विष्टले भने,‘अहिले पनि त्यस्तै सदभाव पाएको छु । आफ्नो क्षेत्रका बाँकी केही अधुरा काम पूरा गर्न जनताले फेरि अवसर प्रदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।’ गुल्मीमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता विष्टले अबको योजना विकाससँगै आयआर्जनमा केन्द्रित हुने बताए ।

‘अब गाउँमा युवाहरुलाई रोजगारी सिर्जनासँगै महिलाहरुलाई आयआर्जनका सवालमा ध्यान दिने मेरो सोच छ,’विष्टले भने, ‘सँगै जिल्लामा बसाइसराइको समस्यालाई नीतिगत सुधार गनुपर्ने आवश्यकता पनि मैले महशुस गरेको छु ।’ उनले अहिलेको निर्वाचन जनताले परिक्षणबाट उत्तीर्ण भएका राजनीतिक दललाई छानेन लोकतन्त्रलाई बलियो बनाउनेमा विष्टले विश्वास व्यक्त गरे । उम्मेदवार विष्टले गुल्मी धुर्कोट–रुपन्देही सम्पर्क समाजसँग पनि भेटघाट र छलफल गरेका छन् । विष्ट गुल्मी–२ बाट लगातार तीन पटक २०७०, २०७४ र २०७९ मा जीत निकालेर ‘ह्याट्रिक’ गरेका नेता हुन् । योपटक पनि विष्ट गुल्मी–२ बाट नैं उम्मेदवार छन् ।